बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : चिनियाँ विदेशमन्त्री नेपालमा, एनआरएनए चुनाव गर्न बाटो खुल्यो

किन छाडे कमल थापाले राजसंस्थाको एजेण्डा
शुक्रबार, ११ चैत २०७८, २१ : १०
शुक्रबार, ११ चैत २०७८

आज मिति २०७८ साल चैत महिनाको ११ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमका साथ हामी रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ लिएर आएका छौँ–

१. चिनियाँ विदेशमन्त्री नेपालमा

तीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् ।  विदेशमन्त्री वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार नेपाल उत्रिएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले स्वागत गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा गएका छन् । उनी त्यही बस्नेछन् ।

मन्त्री वाङको औपचारिक भेटघाट भने शनिबारबाट मात्रै सुरु हुनेछ । वाङले शनिबार विहान शिवपुरीमा हाइकिङ गर्नेछन् । त्यसपछि नेपालका समकक्षी डा।नारायण खड्कासँग भेटघाट गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी वाङले शनिबारै दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आईतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि आइतबार साँझ विदेशमन्त्री वाङ चीन फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

​२. पपुवा न्युगिनीसँग पराजित भयो नेपाल

युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले तीन नयाँ कीर्तिमान बनाएको खेलमा नेपाल पपुवा न्युगिनी (पीएनजी)सँग पहिलो एकदिवसीय खेलमा ६ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन बनायो ।

​३. निर्वाचन आयोगको तयारी

निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । यही चैत १३ गते प्रकाशनका लागि आयोगले नामावली रुजु गर्ने, कम्प्युटरमा अपलोड गर्ने लगायतका काम गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए ।

​४. काँग्रेस बैठक

नेपाली काँग्रेसको आइतबार ११ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक सकिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा २० जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए ।

यस्तै बैठकमा ६ प्रदेशका सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आफ्नो धारणा राखेका थिए । धारणा राख्ने अधिकांशले आगामी वैशाख ३० गतेका लागि निर्धारण गरिएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका थिए । बैठकमा महामन्त्री गगन थापाले बैठकका एजेन्डा प्रस्तुत गरेको केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।

​५. एनआरएनए चुनाव गर्न बाटो खुल्यो

गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचनको लागि बाटो खुलेको छ । शुक्रबार उच्च अदालत पाटनले निर्वाचन रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचनको बाटो खुलेको हो ।

चैत १० र ११ गते एनआरएनएको विश्व सम्मेलनको दिन तोकिएकामा चिन्तामणि सापकोटा लगायतले गत चैत २ गते उक्त सम्मेलन र आगामी नेतृत्वका लागि हुन लागेको निर्वाचन रोक्न माग गर्दै अन्तरिम आदेशको माग गरेका थिए ।

​६. प्रहरीमा बढुवा

नेपाल प्रहरीमा तल्लो तहमा ३ पद थप्ने निर्णय कार्यान्वयनमा आएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ एकैपटक ३ हजार १ सय १६ प्रहरीको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली–२०७१ लाई संसोधन गरेर तल्लो तहमा ३ पद थप्ने निर्णय गरेको थियो । विधेयक समितिमा लामो छलफलपछि मन्त्रिपरिषद्ले प्रहरी नियमावली–०७१ लाई संसोधन गरेर सानो दर्जामा वरिष्ठ हवल्दार, सहायक हवल्दार र वरिष्ठ प्रहरी नायव निरीक्षक पद थप्ने निर्णय गरेको थियो ।

​७. प्रदेश मन्त्रिपरिषद्को बैठक

मधेस प्रदेश सरकारले ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउन १० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । शुक्रबार ठोरीमै मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री राउतका अतिरिक्त भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादव, उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह, खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्रप्रसाद सिंह र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोदकुमार यादव सहभागी थिए ।

​८. कोरोना अपडेट

पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४३४२ जनामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ घण्टामा  कसैको मृत्यु भएन ।

​९. किन छाडे कमल थापाले राजसंस्थाको एजेण्डा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले राजसंस्थाको एजेण्डा छाडेको नभई पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई छाडेको बताएका छन् । ‘वास्तवमा मैले राजसंस्था छाडेको भन्दा पनि राजाले मलाई छाडेको भन्नु उपयुक्त हुन्छ’, थापाले एक भिडियोमार्फत भनेका छन् ।

उनले २०६२–०६३ सालको राजनीतिक परिवर्तनपछि देश गणतन्त्रमय हुँदा आफूले राजसंस्थाको एजेण्डा अघि सारेको स्मरण गरेका छन् । तर, राप्रपाको एकता महाधिवेशनका क्रममा पूर्वराजा र निर्मल निवास आफ्नो राजनीति नै सिध्याउने ढङ्गले उत्रिएको थापाको भनाइ छ । उनले पूर्वराजाले आफू विरुद्ध किन यति ठूलो कठोर कदम चाले भन्नेबारे कुनै बेला मौका पाए ज्ञानेन्द्र शाहलाई सोध्ने पनि बताएका छन् ।

​१०. यो पनि .....

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले माओवाद ब्राण्ड समातेर देश विकास नहुने बताएका छन् । शुक्रवार राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरु र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

​नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पार्टीको केन्द्रीय सचिवालयका विभिन्न बैठकबाट भएका पार्टीका केन्द्रीय विभागहरु र प्रदेश कमिटीहरु गठनका निर्णयहरुलाई हालै सम्पन्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले अनुमोदन गरेको हो ।

एकीकृत समाजवादीले शुक्रबार जारी गरेको विज्ञप्तिमा जिम्मेवारी पाएका नेताहरुलाई उत्साहका साथ कार्यक्षेत्रमा खटिन आग्रह गरेको छ ।

​दुई वर्षको अवधिमा नेपालमा विभिन्न देशबाट ३ अर्ब ९८ करोड ८५ लाख ८० हजार रुपैयाँको फेस मास्क भित्रिएको छ । भन्सार विभागका अनुसार सो मुल्यमा २०७६ चैत ११ गतेदेखि २०७८ फागुन मसान्तसम्मको अवधिमा नेपालमा ४८ करोड ९२ लाख ६ हजार ७६२ थान र एक लाख ३७० केजी मास्क भित्रिएको छ ।

​नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आधा घण्टा छलफल भएको हो ।

​थप समाचार


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप