सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सवारी साधनमा मात्र होइन, मानवीय समवेदनामा पनि यसरी ध्यान दिन्छन् ट्राफिक प्रहरी

शुक्रबार, ११ चैत २०७८, २० : ००
शुक्रबार, ११ चैत २०७८

सडकमा सवारी व्यवस्थापनमा खटिने प्रहरीको मनोविज्ञान कस्तो होला ! अझ धुलो, धुँवा, हुरी, झरी जस्तोसुकै अवस्थामा पनि बीच सडकमा ठिङ्ग उभिएर लगातार हात हल्लाएर सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको मनोभाव कस्तो हुन्छ होला ! सबैको साझा जिज्ञासा हो यो । काठमाडौं उपत्यकामा देखिने गरेको सवारी चाप, यहाँका अस्तव्यस्त सडक अनि अनि चालकहरूको लापरवाही हेर्दा ड्युटीमा उभिएको ट्राफिक प्रहरीका लागि सवारी व्यवस्थापन गर्नु कम चुनौतीपूर्ण छैन ।

तथापि, मुसुक्क मुस्कुराएर, मीठो बोलेर सबै सवारी चालक, यात्रु र पैदलयात्रीको मन जित्ने प्रयासमा हुन्छन् ट्राफिक प्रहरी । समय समयमा छुच्चो व्यवहार गर्ने र सामान्य गल्तीमा पनि छुट नदिएकोप्रति ट्राफिक प्रहरीले आलोचना पनि व्यहोर्ने गरेको छ । सामाजिक सञ्जालमा प्रहरी र चालक बीचमा हुने गरेका वादविवादका विषयले पनि ट्राफिक प्रहरीमाथि प्रश्न उठ्ने गरेको छ ।

यस्ता प्रश्न र आलोचनाका बीच ट्राफिक प्रहरीले समय समयमा गर्ने अनुकरणीय दृश्यले भने उनीहरू माथिको दृष्टिकोण बदल्न बाध्य बनाइरहेको हुन्छ । केही दिनअघि ट्राफिक प्रहरी जवान शान्ता पौडेल काठमाडौंको त्रिपुरेश्वरस्थित ड्युटीको समय ह्विलचियरमा फरक क्षमताका व्यक्तिलाई जेब्रा क्रस गराइरहेकी थिइन् । पौडेलले जेब्रा क्रसमात्र गराइनन्, निकै परसम्म अर्थात् सहज स्थानसम्म पु¥याएर मात्र ती व्यक्तिलाई छाडिदिइन् । यो दृश्यलाई नजिकबाट नियालिरहेको रातोपाटी टिमले उनलाई प्रश्न ग¥यो– यसरी सवारी व्यवस्थापन बाहेकका विषयमा ध्यान दिँदा ट्राफिक व्यवस्थापनमा असर पुग्दैन ?

जवाफमा पौडेलले भनिन्, ‘हामीले हाम्रो दायित्व पूरा गरेका हौं । बोल्न पनि नसक्ने, उहाँलाई हामी प्रायः सधैं सहयोग गरिरहेकै हुन्छौं ।’

प्रहरी जवान पौडेल विगत ४÷५ वर्षयता ती व्यक्तिलाई सहयोग गर्दै आइरहेकी छन् । उनी भन्छिन्, ‘हाम्रो काम सवारी साधनको संख्यामात्र पास गराउने नभएर, अशक्त, अनाथ व्यक्तिहरूलाई सहयोग गर्नु पनि हो । त्यसैले ट्राफिक व्यवस्थापनमा आँच नआउने हिसाबमा हामी यस्ता काम गरिरहेका हुन्छौं ।’

सडकमा यसरी अनुकरणीय काम गर्ने प्रतिनिधिपात्र मात्र हुन् प्रहरी जवान शान्ता पौडेल । यस्ता थुप्रै दृश्य राजधानीमा देख्न सकिन्छ । यस्तो कार्यका लागि महानगरीय ट्राफिक प्रहरी कार्यालयले पनि मानवीय संवेदनशीलताका विषयमा सजग हुन र सहयोग गर्न सर्कुलेसनसमेत गरेको बताउँछन् प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी ।

‘सडक भनेको ट्राफिकको सिङ्गल काम, औपचारिककाम मात्र हुँदै होइन, यसमा धेरै काम भइरहेका हुन्छन्’, जोशी भन्छन्, ‘सडकमा ट्राफिकले गाडी धकेलिरहेको हुन्छ, आवतजावतमा मानिसहरूलाई सहयोग गरिरहेको हुन्छ, दुर्घटनाका बेला आवश्यकता अनुसार रगतसमेत ऊ आफैँ खोजिरहेको हुन्छ । त्यसैले मानवताका आधारमा पनि काम गरिरहेका हुन्छौं ।’

यद्यपि कहाँ कस्तो अवस्थामा मानवीय समवेदनाका काम गर्नुपर्छ, त्यसको टुङ्गो नहुने हुनाले स्वविवेक प्रयोग गरिने बताउँछिन् प्रहरी जवान पौडेल । आफ्ना बुबाआमाले दिएको संस्कारले पनि अशक्त, अपाङ्गता र अनाथलाई सहयोग गर्दा पुण्य प्राप्त हुने शान्ताको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप