रातोपाटी ब्रिफिङ : नारायणकाजीलगायतका असन्तुष्ट नेतालाई फकाउने प्रचण्डको प्रयास
आज मिति २०७८ साल फागुन महिनाको २० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ ।
१. माओवादी केन्द्रीय समितिको बैठक
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गरिएको भन्दै यसमा कुनै राष्ट्रघात नभएको बताएका छन् । शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी पारित भएसँगै सत्ता गठबन्धनपनि चुनावसम्मै जाने निश्चित भएको बताए । उनले एमसीसी पारित गर्नुपर्नाको कारणबारे लामो ब्याख्या गर्दै नारायणकाजी श्रेष्ठलगायत असन्तुष्ट नेताहरुलाई आस्वस्त बनाउने प्रयास गरेका थिए ।
तर, बैठकमा अर्का नेता नारायणकाजी श्रेष्ठले भने एमसीसीको कडा आलोचना गर्दै नेतृत्वले यसमा गल्ती गरेको जिकिर गरेका थिए । आज प्रचण्ड र श्रेष्ठले बोलेपछि बैठक आइतबारसम्म स्थगित भएको छ ।
२. बिदा भए २० राष्ट्रियसभा सदस्य
राष्ट्रिय सभामा ४ वर्षे कार्यकाल सम्पन्न गरेका २० सांसदहरुको बिदाई भएको छ । ४ बर्षे कार्यकाल सकिएर एमालेका ८ जना, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, नेपाली काँग्रेसका ३ जना र राष्ट्रपतिबाट मनोनित १ जना गरी २० सांसदको कार्यकाल सकिएको हो । उनीहरुको काठमाडौंमा एक होटलमा कार्यक्रम गरी राष्ट्रिय सभा अध्यक्षले शुक्रबार बिदाई गरे ।
३. फेरि विघटनका कुरा
लामो रस्साकस्सीपछि एमसीसीलाई टुंगो लगाएको सत्ता गठबन्धनको ध्यान अव संसदमा रहँदै आएको अवरोध हटाउनेतिर केन्द्रीत भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद अवरोधलाई निरन्तरता दिने मुड रहेको बुझेको सत्ता गठबन्धनले विभिन्न विकल्पबारे खोजी गर्न थालेको हो । त्यसका लागि गठबन्धनमा सकेसम्म प्रमुख प्रतिपक्ष एमालेलाई सहमतिमा ल्याउनुपर्ने र नभए विकल्पको खोजी गर्नुपर्ने विषयले प्रवेश पाएको हो ।
४ पल शाह प्रकरण र युट्युबरको सक्रियता
नेपाली चलचित्र एवं म्युजिक भिडियोका अभिनेता पल शाह यतिबेला जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । उनीमाथि एक नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा अनुसन्धान भइरहेको छ । नाबालिग तर्फबाट उनका बाबुले तनहुँ तथा नवलपरासी प्रहरी कार्यालयमा जाहेरी दिएपछि ५ दिनसम्म लुकेर बसेका शाहले तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।
शाहले अनुसन्धानका लागि प्रहरीसमक्ष आत्मसमर्पण गरेको भोलिपल्टदेखि नै जिल्ला प्रहरी कार्यालय तनहुँमा युट्युबरहरुको कुम्भमेला लागेको छ । उनीहरूले त्यहाँबाट खबर दिने नाममा अफवाह फैलाइरहेका छन् ।
यही विषयमा राष्ट्रिय मानवअधिकार आयोग, प्रेस काउन्सिल र गृह मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ।
५. अस्ट्रेलियाका महान क्रिकेटर सेन वार्नको निधन
स्ट्रेलियाका महान् लेग स्पिनर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण वार्नको निधन भएको बीबीसीले जनाएको हो ।
वार्नले आफ्नो १५ वर्षे करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए । उनले सन् १९९९ को एकदिवसीय विश्वकपको उपाधि पनि जितेका थिए ।
६. प्रधानसेनापतिलाई विवादमा तान्ने प्रयास
प्रधानसेनापतिलाई विवादमा तान्ने प्रयास भएपछि सेना बोलेको छ । केही दिन अघि अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गर्न नहुने भन्दै प्रधानसेनापति प्रभुराम शर्माले भाषण गरेको भन्ने भ्रामक भिडियो सामाजिक सञ्जालमा देखिएको थियो ।
त्यसबारेमा बोल्दै सेनाले सेनाका गतिविधिसँग सम्बन्धित तस्बिर तथा भिडियो प्रयोग गरी समाजमा भ्रम फैलाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
७. बजेट र कार्यक्रम प्रस्ताव गर्दा १० विवरण अनिवार्य
मन्त्रालय तथा निकायहरूले आगामी आर्थिक वर्ष २०७९/८० लागि कार्यक्रम र बजेट प्रस्ताव पेश गर्दा विभिन्न १० विवरण प्रस्तुत गर्नुपर्ने भएको छ । राष्ट्रिय योजना आयोगले यही साता बजेट तर्जुमासम्बन्धी मार्गदर्शन तथा ढाँचा पठाउँदै सरकारी निकायहरूलाई बजेट छलफलका लागि ४ बुँदामा १० विवरण प्रस्तुत गर्न भनेको हो ।
८. साइबर ब्यूरोले लेख्यो प्रेस काउन्सिललाई पत्र
नायिका रेखा थापाले विभिन्न युट्युव च्यानलले आफ्नोबिरुद्ध भ्रामक समाचार प्रशारण गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी गरेकी छिन् । थापाको उजुरीपछि ब्यूरोले प्रेस काउन्सिललाई पत्र लेखेको छ ।
काउन्सिलसँग भ्रामक समाचार प्रकाशन गर्ने च्यानलको आधिकारिकता र दर्तासम्बन्धी विवरण माग गरिएको छ । काउन्सिलमा पत्राचार गरेको जानकारी दिँदै ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीसँग भने–‘हामीले काउन्सिललाई पनि केहो यथार्थ बुझिदिनुहोला भनेर अनुरोध गरेका छौं ।’
९. एमसीसीविरुद्ध आन्दोलन
एमसीसी सम्झौताविरुद्ध साना वामपन्थी दलले शुक्रबार राजधानीमा विरोध कार्यक्रम आयोजना गरेका छन् । उनीहरुले खुला मञ्चमा विरोध सभा आयोजना गर्दै सोअघि विरोध र्यालीको आयोजनासमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता