बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

शेयरबजारमा झुम्मिदै लगानीकर्ता, आईपीओमा ९७ प्रतिशतसम्म बढी आवेदन

शुक्रबार, २० फागुन २०७८, ०९ : ५७
शुक्रबार, २० फागुन २०७८

पछिल्लो समय नेपालको शेयरबजार आम नागरिकलाई लगानीकर्तामा बदल्ने थलो बनिरहेको छ । साधारण सेयर (आईपीओ) निष्काशन गर्दा आवेदन दिनेहरूको संख्या, हितग्राही खाता खोलेका ५० लाख र दोस्रो बजार शेयर कारोबार निम्ति खाता भएका झण्डै ११ लाख नागरिकले शेयरप्रतिको रुझानलाई स्पष्ट गर्छ ।

कुनै समय कम्पनीहरूले बोलाएरै शेयर दिँदा पनि किन्ने मानिस नभेट्ने नेपालको पूँजीबजार अहिले ठीक विपरीत, तर लगानीकर्ता संख्याका हिसाबले उत्साहजनक बाटोमा छ । पहिले कम्पनीहरूले सर्वसाधारणका लागि जारी गरेको शेयर (आईपीओ) बिक्री हुँदा हैरानी ब्यहोर्थे । तोकिएको समयमा शेयर बिक्री नभएपनि समय थप्नुपर्थ्यो

त्यति गर्दा पनि बिक्री नभएपछि पुराना शेयरहोल्डर्स (शेयरधनीहरू)लाई नै जबरजस्ती शेयर बिक्री गर्नुपर्थ्यो । तर, अहिले परिस्थिति बदलिएको छ । पछिल्लो समय धितोपत्र अर्थात् शेयरबजारमा आम सर्वसाधारणहरूको आकर्षण बढ्दो छ । यतिसम्म कि, अहिले कुनै कम्पनीले १ हजार रुपैयाँ बराबर सय कित्ताका लागि आईपीओे जारी गर्दा मागभन्दा ६० गुणा बढी अर्थात् ६ हजार कित्ताभन्दा बढी ओभर सब्क्राइब (बढी आवेदन) पर्ने अवस्था छ । पछिल्लो पटक जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ यो प्रवृत्तिको उदाहरण हो । 

कम्पनीले गत माघ २१ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित कूल ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको थियो । तर, उक्त आईपीओमा अन्तिम दिनसम्म माग गरेभन्दा झण्डै ६३ गुणा बढी आवेदन प¥यो । कूल ५ लाख २२ हजार कित्ताका लागि आईपीओ जारी गरिएकोमा ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन प¥यो । २७ लाख ९ हजार ८५५ जनाले आवेदन दिएकामा जम्मा ४८ हजार ७९० जनाले जनही १० कित्ताका दरले शेयर पाए भने बाँकी २६ लाख ६१ हजार ६५ जना आवेदकहरूको हात खाली भयो ।

यस्तै स्थिति तीन कम्पनीहरूले जारी गरेको पछिल्ला आईपीओहरूमा समेत देखिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ लागेसँगै सर्वसाधारणका लागि आईपीओ जारी गरेका केही कम्पनीहरूको शेयर खरिदका लागि सर्वसाधारण लगानीकर्ताहरूको तीव्र आकर्षण देखिएको छ । यस्तो आकर्षण कोभिड–१९ पछि बढ्न थालेको हो । 

शेयर ओभरसब्स्क्राइब्ड भएका केही उदाहरण :

इमर्जिङ नेपाल
माग आईपीओे :५ लाख ५५ हजार कित्ता (२ प्रतिशत कर्मचारी, ५ प्रतिशत सामूहिक लगानी कोष र बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणका लागि)
परेको आवेदन :२३ लाख ३१ हजार २५८ आवेदकहरूबाट २ अर्ब ६४ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ६४ लाख ३० हजार ३३० कित्ता ।
बढी परेको आवेदन :२ करोड ५८ लाख ७५ हजार ३३० कित्ता (९७.९० प्रतिशत)

राष्ट्र उत्थान लघुवित्त संस्था
माग आईपीओे :८ लाख ५९ हजार कित्ता (०.५ प्रतिशत कर्मचारी, ५ प्रतिशत सामूहिक लगानी कोष र बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता सर्वसाधारणका लागि)
परेको आवेदन :२६ लाख ३४ हजार ६२६ जना आवेदकहरूबाट ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबर ३ करोड ५ लाख ३१ हजार ३७० कित्ता
बढी परेको आवेदन :२ करोड ९६ लाख ७२ हजार ३७० कित्ता (९७.१९ प्रतिशत)
जारी मिति :फागुन ४ गतेदेखि ८ गतेसम्म

नेष्डो समृद्ध लघुवित्त
माग आईपीओे :८ लाख २८ हजार ७५० कित्ता (०.५ प्रतिशत कर्मचारी, ५ प्रतिशत सामूहिक लगानी कोष र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणका लागि)

परेको आवेदन :२६ लाख १० हजार १२७ जना आवेदकहरूबाट ३ अर्ब २ करोड २४ लाख २५ हजार रुपैयाँ बराबर ३ करोड २ लाख २४ हजार २५० कित्ता
बढी परेको आवेदन :२ करोड ९३ लाख ९५ हजार ५०० (९७.२६ प्रतिशत)

तुलनात्मक रुपमा हेर्दा अब एउटा कम्पनीको आईपीओ जारी हुँदा कम्तिमा पनि माग गरेको भन्दा ४० गुणा बढी आवेदन पर्ने अवस्था देखिएको छ । अर्थात् माग गरिएको कित्ता भन्दा ९० प्रतिशत भन्दा बढी ओभर सब्क्राइब हुने अवस्था बनेको छ । जुन पछिल्लो चार वटा कम्पनीको आईपीओ र सोमा परेको आवेदनले पुष्टि गरेको छ । 

किन हुँदैछ यस्तो ?
उसो त शेयरबजारप्रति आम सर्वसाधारणहरूको आकर्षण बढेसँगै हितग्राही खाता (डिम्याट) खोल्नेहरूको संख्यामा समेत उल्लेखनीय वृद्धि भएको छ । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार यस्तो डिम्याट खाता खोल्नेहरूको संख्या ५० लाख १९ हजार ८२६ पुगेको छ । जसमध्ये ४१ लाख ३३ हजार २४० सेवाग्राहीहरूलेडिजिटल्ली ‘मेरो शेयर’ नै प्रयोग गर्छन् । २५ देखि ३० लाख प्रयोगकर्ताहरू शेयर कारोबारमा नियमित सक्रिय हुने गरेका छन् । 

यस्तो डिम्याट खाता लिनेको संख्या गत आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो आर्थिक वर्ष २०७५/७६ को असार मसान्तको तुलनामा शतप्रतिशतले बढ्दै ३७ लाख ३६ हजार ९२६ पुगेको थियो । यसमा सक्रिय सेवाग्राहीहरूको संख्याहरू करिब २०–२२ लाख हाराहारीमात्र रहेको थियो । 

एकाएक शेयरबजारमा कसरी आयो क्रान्ति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) अनुसार हाल कूल बजार पूँजीकरण ३६ खर्ब ७ अर्ब ६० करोड ६९ लाख रुपैयाँ पुगेको छ । यसमा चालू आर्थिक वर्ष लागेसँगै आईपीओ जारी गर्न स्वीकृति पाएका ९ कम्पनीको साढे ११ अर्ब रुपैयाँभन्दा धेरै पूँजी थपिँदैछ । नेप्सेमा सूचीकृत कम्पनीहरूको गत वर्ष २०७७/७८ को मुनाफाबाट वितरित बोनस शेयर समेत स्वीकृत हुने क्रममा छ । मूलतः शेयरबजारप्रति आम सर्वसाधारण लगानीकर्ताहरूको बुझाइ र सफलताले नै आकर्षणको कारण रहेको सरोकारवालाहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप