आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओवादीभित्र देखिएको संघर्षमा पूर्व एकता केन्द्रको ‘स्ट्रेन्थ’ कति ?

पार्टीभित्रै रहेर संघर्ष कि अलग हुने भन्ने दोबाटोमा नारायणकाजीहरु
शुक्रबार, २० फागुन २०७८, ०८ : ०८
शुक्रबार, २० फागुन २०७८

प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित भएसँगै नेकपा माओवादी केन्द्रभित्र संघर्ष चुलिएको छ । नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल लगायतका नेताहरु एमसीसीको विरोधमा देखिएका छन् भने एमसीसी पारित गर्ने सन्दर्भमा पार्टीले निर्वाह गरेको भूमिकाप्रति उनीहरुले खुलेरै असन्तुष्टि जनाउँदै आएका छन् ।

अझ प्रस्ट भन्ने हो भने माओवादी केन्द्रमा रहेका पूर्व ‘एकता केन्द्र’का नेताहरु एमसीसीको विरोधमा उभिएका छन् । आन्तरिक विवाद छताछुल्ला भइरहँदा कतिपयले माओवादी केन्द्र पुनः विभाजनको बाटोमा पुगेको टिप्पणी पनि गरिरहेका छन् ।

कम्युनिस्ट राजनीतिमा भिजेका व्यक्ति तथा चिन्तकहरु माओवादी केन्द्रभित्र देखिएको यो संघर्षले कुन मोड लिन्छ भन्ने अझै प्रस्ट हुन बाँकी रहेको बताउँछन् । उनीहरु एमसीसीको विरोधमा माओवादीभित्र देखिएको समूहले पद, प्रतिष्ठासँग आफ्ना असन्तुष्टि भजाउँछ वा एमसीसीविरोधी जनमतको बलमा आफूलाई अलग्याउँछ भन्ने टुङ्गो लाग्न बाँकी नै रहेको जिकिर गर्छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारी नेकपा माओवादी केन्द्रभित्र देखिएको संघर्षले कुन रुप लिन्छ भन्नेबारे केही दिन कुरेरमात्र टिप्पणी गर्न उचित ठान्छन् । यद्यपि, नारायणकाजी श्रेष्ठ लगायतले उठाएको आवाज सही रहेको उनको भनाइ छ ।

‘नारायणकाजीजीको पटक पटक सम्झौता गर्ने प्रवृत्ति छ,’ रातोपाटीसँग उनले भने, ‘पद, प्रतिष्ठामा लेनदेनको कुरा होला, एमसीसी अघि बढाउन ठुलो पैसाको चलखेल छ भन्ने कुरा पनि आइरहेको छ । दामासाहीले भागवण्डा भए उहाँहरुले के गर्नुहोला भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।’

यद्यपि नारायणकाजी श्रेष्ठ लगायतले उठाएको कुरामा दम छ भन्ने आफूहरुलाई लागेको भण्डारी बताउँछन् । उनले एमसीसी सम्झौताका सन्दर्भमा प्रतिनिधिसभामा भएको व्याख्यात्मक घोषणाको कुनै अर्थ, तुक र महत्व छ भन्ने आफूलाई नलागेको बताए ।

महाकाली सन्धिको बेलामा संसदबाट ‘संकल्प प्रस्ताव’ पारित गरिएको स्मरण गराउँदै उनले अहिले ‘संकल्प प्रस्ताव’ भन्ने शब्दको साटो ‘व्याख्यात्मक घोषणा’ भनिएको उल्लेख गरे । यसको परिकल्पनाकार एमसीए नेपालकै कार्यालयमा बस्ने कानुनविद्हरु रहेको उनको दाबी छ ।

माओवादी केन्द्रले भारतीय विस्तारवादसँग आत्मसमर्पण गरेरै शान्ति प्रकृयामा आएको दाबी गर्दै उनले एमसीसीमार्फत अहिले अमेरिकी साम्राज्यवादसँग पनि आत्मसमर्पण गरेको आरोप लगाए ।

‘भारतीय विस्तारवादसामु लम्पसार पर्ने शक्तिहरु अमेरिकी साम्राज्यवादसँग पनि लम्पसार परे,’ उनले भने, ‘माओवादी हिजो भारतीय विस्तारवारसँग लम्पसार परेकै हो, एमाले पनि हिजोका दिनमा भारतीय विस्तारवादसामु लम्पसार परेको थियो । भारतीय विस्तारवादसामु लम्पसार परेकाहरु अमेरिकी साम्राज्यवादसँग लम्पसार पर्छन् कि पर्दैनन् भन्ने थियो, त्यसको जवाफ जनताले पाएका छन् ।’

राजनीतिक चिन्तक श्याम श्रेष्ठ माओवादी केन्द्रभित्र देखिएको संघर्षलाई स्वाभाविक मान्छन् । ‘राजनीतिक दल तीन वटा कारणले जुट्छन् । पहिलो त, सिद्धान्त वा विचार मिलेर । यसरी जुटेका दलहरु लामो समय टिक्छन्,’ उनले भने, ‘दोस्रोमा, कार्यनीति मिलेर पनि दलहरु जुट्छन् । तेस्रो कारण भनेको तत्कालीन स्वार्थ मिलेर पनि दलहरु जुट्छन् । तत्कालीन स्वार्थ मिलेर जुटेका दल त्यति टिक्दैनन् ।’

नेकपा माओवादी र पूर्व ‘एकता केन्द्र’का नेताहरुबीच तत्कालीन स्वार्थ मिलेर पार्टी एकता भएको उनको भनाइ छ । अहिले आएर त्यो एकताको औचित्य सकिएको र पार्टीभित्र संघर्ष देखा परेको उनले बताए ।

‘विचार र सिद्धान्त मिलेर उनीहरु जुटेका थिएनन् । पूर्व एकता केन्द्रले माओवादी नमान्ने, माओवादीहरुले माओवाद नछाड्ने एक खालको अडान थियो,’ उनले भने, ‘जनयुद्धमा सामेल भएका र नभएका नेता तथा कार्यकर्ताबीच पनि एक प्रकारको विभेद थियो ।’

एमसीसी सम्झौताले पार्टीभित्रको संघर्षलाई उत्कर्षमा पु-याएको उनले बताए । पूर्व एकता केन्द्रका नेताहरु उतिबेलाकै राजनीतिक स्कुलिङ अनुसारका हुन् भने उनीहरु अहिलेको अवस्थामा एकछिन पनि माओवादी केन्द्रमा बस्न नसक्ने श्रेष्ठ बताउँछन् ।

‘एकता केन्द्र पहिलाको जस्तो हुन्थ्यो भने एमसीसी पारित भएपछि एकछिन पनि माओवादीमा नबस्नुपर्ने हो,’ उनले भने, ‘प्रचण्डले नै गए हुन्छ जसरी भनेको देखियो ।’ संसदीय धारविरुद्धको अन्तरसंघर्षमा क्रान्तिकारी धार बनाउन त्यतिबेला नेकपा (एकता केन्द्र) बनेको स्मरण गराउँदै उनले क्रान्तिकारी धारमात्र नभएर अहिले त सच्चा वामपन्थी पार्टी नै आवश्यक रहेको बताए ।

‘काँग्रेस, एमाले र माओवादीमा फरक के ? फरक नै बाँकी रहेन । फरक हुनुपर्छ भन्ने मत बलियो छ,’ उनले भने, ‘नारायणकाजी श्रेष्ठहरुले विप्लव, मोहन वैद्य, आहुतिहरु सँग कुराकानी गरेर एउटा पार्टी बनाउने झिनो सम्भावना देखिन्छ । तर, उनीहरु माओवादी केन्द्रमै रहने कि अलग हुने भन्ने प्रस्ट हुनै बाँकी छ ।’

विश्लेषक आहुति पनि माओवादी केन्द्रमा देखिएको संघर्षलाई स्वाभाविक मान्छन् । ‘माओवादी पार्टीभित्र कम्युनिस्ट विचार, सिद्धान्त स्खलन भए पनि त्यहाँ देशभक्तको ठुलो जमात पनि छ,’ उनले रातोपाटीसँग भने, ‘एमसीसी पारित गर्ने सवालमा माओवादी केन्द्रको महाधिवेशनको लाइन विपरीत पनि भयो, पार्टीको बैठकबिना नै एमसीसी पारित गर्ने निर्णय गरियो ।’ पार्टी नेतृत्वको यस्तो कार्यशैलीले गर्दा माओवादी केन्द्रभित्र रहेको ‘देशभक्त’ हरुमा छटपटी आएको उनको भनाइ छ ।

माओवादीभित्र एमसीसीको विरोधमा उत्रिएकाहरुको जनाधार राम्रै रहेको आहुति बताउँछन् । विभाजनमा जान चाहेमा उनीहरुले जनसमर्थन पाउने र ठुलै पार्टीको रुप लिन सक्ने उनको ठहर छ ।

वामपन्थी एकताको खोजी भइरहेको सन्दर्भमा माओवादी पार्टीभित्र देखिएको विभाजनको खतरालाई उनी एउटा स्वाभाविक प्रक्रिया मान्छन् । अहिले वामपन्थी एकताको प्रक्रिया सुरु हुने बेला नै नआएको उनको भनाइ छ ।

‘तत्काल त्यस्तो एकता सुरु हुने बेला नै भएको छैन, एउटा ठुलो आन्दोलन ठक्कर खाएपछि टुक्राटुक्रा भएको हो यो, टुक्रा हुने क्रम अझै सकिएको छैन,’ उनले भने, ‘टुक्रिने क्रम नै बाँकी छजस्तो लाग्छ मलाई, जोडिने क्रम सुरु नै भएको छैन ।’ अहिले कम्युनिस्ट भनिएका सबै पार्टीमा उथलपुथल आएपछि नयाँ विचारसहित नयाँ चिज बन्न सक्छ भन्ने आफ्नो बुझाइ रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप