आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पल प्रकरण : के गरे बलात्कार हुन्छ नायिकाज्यू ?

शुक्रबार, २० फागुन २०७८, १२ : ०४
शुक्रबार, २० फागुन २०७८

बलात्कार के हो ? कसरी हुन्छ बलात्कार ? केलाई बलात्कार भन्ने ? के हो बलात्कारको ब्याख्या ? पल प्रकरणले यसबारे बहस उत्कर्षमा छ । प्रहरी प्रशासन र अदालतले ब्याख्या गरेको अनि नेपाली कानुननले प्रमाणित गरेको बलात्कारको परिभाषालाई नेपालको नागरिक भएको नाताले मान्नुपर्ने नेपालीको नैतिकताभित्र पर्छ । तर, एक अभिनेता र गायिकाबीचको अहिलेको अवस्था र परिस्थितिले उत्पन्न गरेको बलात्कारको आरोप र यसले नेपाली समाजमा ल्याएको तरंग, बलात्कारको परिभाषा र ब्याख्या आ–आफ्नै छन् ।

सडकको हुल र भीडले भन्नासाथ र कसैको पक्षमा ठूलो आवाजले बोल्दैमा कानुन नै परिवर्तन हुने अनि आफ्नो पक्षको वकालत गरेर बोल्दैमा देशको कानुन नै फेरिने भए यहाँ जसले जे गरे पनि हुन्थ्यो तर, यो संभव छैन । सर्वसाधारणले बलात्कारको परिभाषालाई आ–आफ्नै तरिकाले ब्याख्या गरे वा चर्चा गरे, यसको खासै अर्थ लाग्दैन । तर नेपाली समाजलाई सचेत बनाउन भूमिका खेल्नुपर्ने र जिम्मेवारी बन्नुपर्ने अनि लाखौं दर्शकहरूको मन जित्न सफल अभिनेत्री पूजा शर्माले बलात्कारको बारेमा नेपालको कानुन, प्रहरी प्रशासन र अदालतलाई नै चुनौती र शिक्षा दिने अभिब्यक्ति दिएपछि उनले पाएको संस्कार, उनको संगत र धरातल कति हो भन्ने छताछुल्ल भएको छ ।

अभिनेत्री शर्माको विचारमा नाबालिग गायिकालाई आरोपित नायक पूर्ण विक्रम शाह उर्फ पल शाहले बलात्कार नै गरेका छैनन् रे ! । शर्माको रेडिमेड जबाफ बजारमा आएपछि उनले बुझेको बलात्कार र उनको अभिव्यक्तिलाई लिएर समाजले खिल्ली उडाउन थालेको छ । पूजाले फिल्मी स्टाइलको परिभाषा दिंदै यस्तो पो हो बलात्कार ? भनेर दिएको अभिब्यक्तिपछि उनका प्रशंसक टाउकोमा हात राखेर अहिले भन्न थालेका छन् ‘कस्ती अभिनेत्रीको फ्यान भइएछ ? कस्ती हिरोइनको गुनगान र प्रशंसा गर्न तिर लागिएछ ?

प्रहरी, प्रशासन, अदालत र नेपालको कानुनलाई बलात्कारको आरोप लगाउन वा प्रमाणित गर्न कस्ता कस्ता प्रमाण चाहिन्छ ? त्यो कुरा कानुन र अदालतलाई थाहा होला । यसमा हामी बाठो हुनु खासै अर्थ छैन । तर अभिनेत्री पूजा शर्माले बुझेको र जानेको अनि, उनले अर्थ्याएको बलात्कारको परिभाषा भने यस्तो छ, ‘बलात्कार आरोपीले बलात्कृतको लुगा नै च्यातेको छैन । बलात्कृतको कतै घाउ खत नै छैन । बलात्कृत युवती चिच्याएको आवाज नै सुनिएको छैन...।’

बलात्कार गरेको ब्यक्तिले हा हा हा हा गरेर हाँंसेकै छैन । तँलाई म अब छोड्दिन भनेर सम्बाद बोलेकै छैन । बलात्कृत युवतीले मलाई बचाउनुस्, अब म समाजमा अनुहार देखाउन पनि नसक्ने भएंँ.. भनेर चिच्याएकी नै छैन ।’ पूजाले बुझेको, जानेको र थाहा पाएको बलात्कृत हुँदाका यस्ता अवस्थाहरू नभएका कारण यो घटनामा बलात्कार नै भएको छैन । यो उनको ठोकुवा हो । आजको समय र जमानामा बलात्कारको आरोप लागेका नायकको बचाउमा आजको पुस्तामाझ हुर्केकी र उठबस गरेकी अभिनेत्रीले दिएको यस्ता अभिब्यक्तिले पूजाले कुन समाज र समयको प्रतिनिधित्न गरिरहेकी छिन् भन्ने कुराको प्रमाणित मात्र गरेको छैन, उनको बैद्धिकता कस्तो भनेर अनुमान लगाउन सहजै सकिन्छ ।

पूजाले कमाएको प्रशंसा अनि उनका प्रशंसकहरूलाई पनि उनको यस्तो अभिब्यक्तिले लज्जित बनाएको छ । त्यतिमात्र होइन, बलात्कृत भनिएकी युवतीले आफ्नो उमेर सानो छ भनेर पहिले नै सोच्नु पर्ने थियो रे ।’ यतिसम्म गैरजिम्मेवार तर्क दिएकी छन् पूजाले ।

त्यसो त, केही साता यता यो बिषयमा पूजाको उपस्थिति र सक्रियता आरोपितको पक्षमा नभएर बजारमा चलिरहेको आफ्नो चलचित्रलाई चर्चामा ल्याउनतिर बढेको देखिन्छ । उनका तुक न बेतुक र फिल्मी शैलीका अभिव्यक्तिलाई महान बाणीको रूप दिएर बजारमा सनसनी बनाउने उद्देश्य बोकेका यूटुय्बेहरूको शैली हेर्दा पनि तीनछक्क पर्ने अवस्था छ । आरोपित नायकलाई भेटेर आएको र यस्तो सन्देश दिएको छ भनेर दर्शकहरूको भीडमा हावा कुरा गरेर चलचित्र चलाउन खोज्ने गजबको शैली अपनाएकी छिन् पूजाले ।

घटनाको निकास दिनुको सट्टा आरोपी भएको ठाउँमा आफ्ना केही यूटुय्बेहरूलाई लगेर घटनालाई झनै अतिरन्जित बनाउँदै चलचित्रको प्रचार गर्ने ध्येय अभिनेत्री पूजाको रहेको स्पष्ट देखिन्छ । कुनै महान ब्यक्तिलाई महान ब्यक्तिले नै भेट्न जान लागेको जस्तो गरेर फलानो भोलि फलानोलाई भेट्न जाँदै भनेर  आफ्ना यूटुउ्बेहरू मार्फत् चर्चा गराउने अभिनेत्रीको सोचलाई महान भन्ने कि उनको कमजोर मनस्थिति ?

आरोपितलाई भेट्न जाँदा कुनै महोत्सवमा सहभागी हुन गएको जस्तो शैलीमा जानु र त्यहाँ पीडक र आरोपीको बारेमा केही नबोली आफ्नो चलचित्रको बारेमा बखान गरेर ‘म अब हल हलमा पलको सन्देश लिएर आउने छु...’ भनेर सोझा दर्शकहरूको भावनासँग खेल्दै निकै गजबको तानाबाना बुनेकी छिन् यिनले । आरोपित नायकको प्रशंसक र नायकको क्रेजको भावनासँग खेलेर पूजाले आफ्नो चलचित्र चलाउन भरपूर प्रयोग गरेको सत्यता त अब घामजस्तै छर्लंग भएको छ । नायकको यस्तो चासो र माया हुनेले एक पटक पीडित भनिएकी बालिकालाई भेटेको सुनिएन । एकपटक भेटेर कुरा गर्दा के बिग्रन्थ्यो र पूजाको ? यसतर्फ पूजालाई उनका समर्थकहरूले सम्झाउने पो हो कि ?

कलाकारितामा लागेदेखि नै बोलीका कारण विवादमा आइरहने नायिका पूजामा अहिले पनि सुझबुझ र अध्ययनको कमी देखिएको छ । सडकमा कुनै धरातल नभएका सामाजिक अभियन्ता भनाउँदाहरू र पूजाको अभिब्यक्तिबीच फरक भएन भने पूजा र त्यस्ता बीच के फरक ? त्यसैले सेलिब्रिटी भैसक्दा पनि आफ्नो वजन, धरातल, नाम र ख्यातीको अवमूल्यन हुने गरी यस्तोलाई पो बलात्कार भन्छन् भनेर हाँस्यास्पद तर्क दिने अनि अदालत र प्रहरी प्रशासनलाई नै कानुन सिकाउने जस्तो पूजाको टिप्पणी र तर्क पाच्य भयो त ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप