मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘चारदलीय गठबन्धन चुनावसम्म जान्छ भन्नेमा विश्वास छैन’

चुनावी तालमेलबारे निर्णय भइसकेको छैन : जितेन्द्र सोनल, प्रदेशसभा सदस्य, लोसपा
शुक्रबार, २० फागुन २०७८, १३ : ०३
शुक्रबार, २० फागुन २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट गत भदौमा अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको सात महिना बितिसक्यो । तर, यस बीचमा एकपटक पनि कार्यकारिणी परिषदको बैठक बस्न सकेको छैन । लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीमा एकलौटी रुपमा निर्णयहरू गरिरहेको आरोप लागिरहेको छ ।

आगामी स्थानीय चुनावमा लोसपाले एमालेसँग गठबन्धन गरेर चुनावमा जाने लगभग ‘माइण्ड मेकअप’ गरिसकेको छ । एकातिर पार्टीमा आन्तरिक विवाद अर्कोतिर एमालेसँग गठबन्धन बनाएर जाने कुरा, यो कसरी सम्भव हुन्छ लगायतका विषयमा लोसपाका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका अध्यक्ष तथा मधेश प्रदेशका प्रदेशसभा सदस्य जितेन्द्र सोनलसँग रातोपाटी प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंशः  

जसपाबाट लोसपा बनेपछि संगठनको कामकारबाही कसरी अगाडि बढिरहेको छ ?

अहिले संगठन निर्माणको काम भइरहेको छ । मधेस प्रदेशलगायत अन्य प्रदेशमा अधिकाँश जिल्लामा संगठन निर्माण सम्पन्न भइसकेको छ भने स्थानीय तहमा पनि संगठन निर्माणको काम भइरहेको छ । लोसपा यो देशको लोकतान्त्रिक एवं वैकल्पिक शक्ति हो भनि विचार लिएर जनता तथा कार्यकतामा लिएर जाने प्रथमतः सांगठनिक संरचना निर्माण गर्ने नै हो ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले संगठन निर्माणमा एकलौटी गरेको आरोप छ नि ?

एउटा जीवन्त पार्टीमा टीका टिप्पणी हुनु नौलो कुरा होइन । यो पार्टी एकल अध्यक्ष प्रणाली (प्रेसिडेन्टियल सिस्टम) बाट चल्छ भनी निर्णय भइसकेपछि उहाँले अन्य नेताहरूसँग सल्लाह गरेर अगाडि बढ्ने काम भैरहेको छ । सबैसँग सल्लाह सुझाव लिएर गरेको कामलाई पनि कसैले विरोध गर्छन् भने त्यो जसपा र राजपाको ह्याङओभर हो भन्ने कुरा पुष्टि हुन्छ । हामीले अध्यक्ष प्रणालीको पार्टी बनाएका हौँ, अध्यक्ष प्रणालीको पार्टीमा अध्यक्षले गर्ने निर्णय सर्वोपरि हुन्छ ।

तपाईंलाई कसले भन्यो हामी एमालेसँग गठबन्धन गर्दैछौ भनेर । हाम्रो राजनीतिक दल निरपेक्ष छ । कोसँग गठबन्धन हुन्छ वा हुँदैन भने निष्कर्षमा अहिले नै हामी पुगिसकेका छैनौँ ।

पार्टीको कार्यकारिणी समितिको बैठक सात महिनादेखि बसेको छैन । अनि अध्यक्षले कोसँग कसरी सल्लाह गरिरहनु भएको छ ?

पार्टीका सबै अध्यक्षको निकट हुनुहुन्छ । कोही निकट र टाढाको छैनन् ।  कार्यकारिणी समितिको बैठक बस्नुअघि केही तयारीका कुरा पनि हुन्छ, सायद नेताहरू त्यसको तयारीमा लाग्नु भएको छ । कार्यकारिणी समितिको बैठक औपचारिक रुपमा नबसेपनि सबै नेताहरू एक अर्काको सम्पर्कमै छन् । अहिले संगठनका कामहरू अगाडि बढेको छ, त्यो त विना सल्लाह र सुझावले पक्कै पनि अगाडि बढेको छैन । अध्यक्षजी सबैसँग सल्लाह गरेर नै अगाडि बढिरहनु भएको छ ।

देशमा चुनावको माहोल सुरु भएको छ । लोसपाले चुनावको तयारी कसरी गरिरहेको छ ?

जुन परिस्थितिमा हाम्रो पार्टी गठन भयो । त्यसपछि चुनावको माहोल सुरु भएको हो । लोसपा लोकतान्त्रिक पार्टी हो, यसले संसदीय राजनीतिक गर्छ र चुनावमा विश्वास गर्छ । चुनावको सिलसिलामा जिल्ला र प्रदेशका सांगठनिक संरचना निर्माण भएको छ, वर्गीय संगठनको नाम तय गर्यौं । यी सबै संगठन बनिसकेपछि संगठनमा रहेका कार्यकर्ता तथा नेताहरूलाई तालिम तथा चुनाव केन्द्रीत प्रशिक्षण दिने तयारी भइरहेको छ ।

लोसपाले चुनावमा एमालेसँग गठबन्धन गर्ने आवश्यकता किन पर्‍यो ?

तपाईंलाई कसले भन्यो हामी एमालेसँग गठबन्धन गर्दैछौ भनेर । हाम्रो राजनीतिक दल निरपेक्ष छ । कोसँग गठबन्धन हुन्छ वा हुँदैन भने निष्कर्षमा अहिले नै हामी पुगिसकेका छैनौँ । एमालेसँग गर्ने कि काँग्रेससँग गर्ने अथवा अरु कुनै दलसँग गर्ने त्यो विषयमा हामी पछि छलफल गर्छौं । अहिले नै एमाले वा अरु अमुक दलसँग गठबन्धन गर्ने जुन हल्ला फैलाइएको छ, त्यो एकदमै निराधार कुरा हो ।

यो इथिक्समा बनेको गठबन्धन होइन । यो गठबन्धनको कुनै पनि राजनीतिक, सैद्धान्तिक आधार छैन । एकातिर कट्टर कम्युनिष्ट र अर्कोतिर कट्टर डेमोक्रेटिक पार्टी छन् । फरक फरक ध्रुवका छन् ।

यही फागुन १७ गते तपाईंकै पार्टी अध्यक्ष महन्थ ठाकुरले चुनावमा एमालेसँग गठबन्धन गर्ने अभिव्यक्ति दिनुभयो नि त ?

पार्टी अध्यक्ष ठाकुरजीले हालै जनकपुरमा जुन कुरा बोल्नुभयो, एउटा सम्भावना दर्शाउनुभयो । अहिले पनि म त्यो सम्भावनालाई इन्कार गर्दिन । यदि चुनावमा मुलुक विभिन्न गठबन्धनमा अगाडि बढ्यो भने लोसपा पनि कुनै न कुनै गठबन्धनमा जान सक्ने स्थिति बन्न सक्छ । तर एमालेसँगै वा काँग्रेससँगै हुन्छ भने कुराको किटान अध्यक्षले गर्नुभएको छैन । जहाँसम्म राष्ट्रियसभाको चुनावको कुरा छ, चारवटा दलहरू गठबन्धन बनाएर अगाडि बढेका थिए, त्यसपछि हाम्रो बाध्यात्मक अवस्था सिर्जना भयो । फलस्वरुप प्रतिपक्षमा रहेका लोसपा र एमालेको मधेश प्रदेशमा गठबन्धन बनेको थियो । एउटा परस्थितिमा हामी एलाइन्स बनाएर अगाडि बढ्यौं । आउने दिनमा कस्तो परिस्थिति बन्छ, त्यसपछि गठबन्धनका लागि गतिविधिहरू अगाडि बढ्छ ।

भनेपछि पुनः एमालेसँगै गठबन्धन बनाउने अवस्था नआउन पनि सक्छ ?

अहिलेकै चार दल (काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपा) को गठबन्धन चुनावसम्म जान्छ भन्ने कुरामा मलाई विश्वास छैन । चुनाव आउन धेरै दिन बाँकी छ । सबै नेताहरूको आआफ्नो क्षेत्र छ । ती क्षेत्रहरूमा नेताहरू कसरी प्रस्तुत हुन्छन्, त्यो हेर्न बाँकी नै छ । हामीले पनि एमालेसँग गठबन्धन हुन्छ भनि ठोकुवा गरेर जाने स्थिति छैन । हामी गठबन्धनका लागि लचक छौं । गठबन्धन बनाएर जानुपर्छ, भनी पार्टीको लाइन हो तर कोसँग कसरी गठबन्धन हुन्छ अहिले नै निर्णयमा पुग्ने अवस्था छैन ।

चुनावसम्म चार दलको गठबन्धन बन्दैन भन्ने तपाईंको अनुमानको आधार के हो ?

पहिलो कुरा त यो इथिकमा बनेको गठबन्धन होइन । यो गठबन्धनको कुनै पनि राजनीतिक, सैद्धान्तिक आधार छैन । एकातिर कट्टर कम्युनिष्ट र अर्कोतिर कट्टर डेमोक्रेटिक पार्टी छन् । फरक फरक ध्रुवका छन् । अहिले पनि प्रचण्डको कुरा सुन्नुभयो भने उहाँले वामगठबन्धन बनाउनुपर्छ, सबै कम्युनिष्ट एक हुनुपर्छ भने पक्षमा हुनुहुन्छ भने त्यही काँग्रेसका नेताहरूले डमोक्रेटिक एलाइन्स बनाउनुपर्छ भनी धारणा राख्छन् । चार दलको सरकार छ तर हालसम्म साझा नीति बनेको छैन । यो सरकार संयुक्त रुपमा सञ्चालन भइरहेको छ भने भान जनतालाई भइरहेको छैन । सरकार बनेपछि न संसद चलाउन सक्यो, न न्यायपालिका राम्रोसँग चलेको छ । कुनै पनि क्षेत्रमा सन्तोषजनक काम छैन । जब सरकार ढल्ने अवस्था सिर्जना हुन्छ, तब गठबन्धन एकीकृत हुन्छ । त्यसबाहेक ती दलहरूको बीचमा कही कुरा मिल्दैन । एमसीसीको घटनामा त्यो कुराको पुष्टि भएको छ । सरकारमा बस्न मात्रै गठबन्धन बनेको हो, अन्य कामका लागि गठबन्धन देखिएको छैन । यी कारणले गर्दा यो गठबन्धन दीर्घकालीन रुपमा अघि जान्छ भन्नेमा मलाई विश्वास छैन ।

राजनीतिमा कुनै पनि सम्भावनाको ढोका बन्द हुँदैन, सबै ढोका खुल्ला हुन्छ । कुनै पनि बेला कुनै पनि दलसँग छलफल हुन सक्छ, एकीकरण हुन सक्छ, गठबन्धन हुन सक्छ, मोर्चाबन्दी हुन सक्छ ।

अमेरिका र चीनले भत्काउन नसकेको यो गठबन्धनलाई तपाईंले भनेको आधारमा भत्किन्छ त ?

म त नेताहरूको स्टेटमेन्ट सुनिरहेको हुन्छु, उहाँहरूको गतिविधिहरू हेरिरहेको हुन्छु । उनीहरूका पुराना क्रियाकलाप पनि हेरेको छु । २०७४ मा काँग्रेस र माओवादीले स्थानीय चुनावमा गठबन्धन बनाएर चुनाव लडे । स्थानीय चुनावको ठीक तीन महिनापछि भएको संघीय तथा प्रदेशको चुनावसमा त्यो गठबन्धन रहन सकेन । अहिले पनि काँग्रेसका शीर्ष नेताहरूको कुरा सुन्नुहुन्छ भने उहाँहरूले हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौ भनिरहनु भएको छ । यो अहिलेको गठबन्धन सरकार निर्माणका लागि मात्र हो, चुनावी गठबन्धन होइन भन्ने कुरा पुष्टि हुन्छ । यसको लागि अमेरिका र चीन चाहिँदैन ।

तपाईंहरू पनि कट्टर कम्युनिष्ट एमालेसँग गठबन्धन बनाएर चुनाव लड्नु नै भएको हो । अहिले पनि आन्तरिक तयारी चल्दैछ । उनीहरूको न हुने, तपाईंहरूको मात्र हुने पनि हुन्छ र ?

मैले बारम्बार एउटा कुरा दोहोर्याई रहेको छु कि नेपालमा गठबन्धनको राजनीति कसरी अगाडि बढ्छ, त्यसमा आफूहरूको गठबन्धन बन्ने कि नबन्नेमा भर पर्छ । दुइटा एलाइन्स बन्ने अवस्था भयो भने उपलब्ध राजनीतिक दलहरू कुनै नकुनै गठबन्धनमा बस्ने कुरा हुन सक्छ । गठबन्धनको नाम जे दिए पनि भयो । दक्षिण एसियाकै सबभन्दा ठूलो लोकतान्त्रिक देश भारतको कुरा गर्ने हो भने त्यहाँ पनि गठबन्धनको राजनीतिक भइरहेको छ । हाम्रो देशमा प्रत्यक्ष र समानुपातिक जुन प्रकारको निर्वाचन प्रणाली छ, यसमा कुनै एउटा अमुक पार्टीले बहुमत ल्याउन सक्दैन । अर्थात् यो निर्वाचन प्रक्रियामा हामी गयौं भने एलाइन्सले मात्र लिड गर्न सक्छ । यस दिशामा हाम्रो मुलुक गइसक्यो । यस अवस्थामा मैले सैद्धान्तिक रुपमा भन्छु कि पार्टी कुनै न कुनै गठबन्धनमा बस्नुपर्छ ।

के लोसपा र जसपाबीच गबन्धन हुने सम्भावना छैन ?

राजनीतिमा कुनै पनि सम्भावनाको ढोका बन्द हुँदैन, सबै ढोका खुल्ला हुन्छ । कुनै पनि बेला कुनै पनि दलसँग छलफल हुन सक्छ, एकीकरण हुन सक्छ, गठबन्धन हुन सक्छ, मोर्चाबन्दी हुन सक्छ । काँग्रेस र एमालेसँग गठबन्धन हुन सक्छ भने जसपासँग किन गठबन्धन हुँदैन, जसपासँग पनि हुन सक्छ । तर त्यसको आधार अहिले केही बनेको छैन । जसपा अलरेडी एउटा गठबन्धनमा आवद्ध छ । त्यो गठबन्धन कसरी अगाडि बढ्छ, त्यसमा भर पर्छ ।

लोसपालाई काँग्रेस, एमाले, माओवादी वा जसपामध्ये कोसँग गठबन्धन गर्दा फाइदा होला जस्तो लाग्छ ?

यो निकै गम्भीर विषय हो । गठबन्धन बनाउनुअघि यस विषयमा पार्टीभित्र छलफल हुनुपर्छ । त्यसको तथ्य तथ्याङ्क केलाउनुपर्छ, जुन अहिले भएको छैन । जसपाका नेताहरूको मनोविज्ञान के छ ? यी कुराले पनि कतै न कतै फरक पारिरहेको हुन्छ । जसरी समाजवादी पार्टीलाई राजपाले जीवनदान दिएर जसपा निर्माण गर्यो । त्यसपछिको अवस्थामा जसपाभित्रका नेताहरूको जुन व्यवहार र चिन्तन छ, त्यसले त्यो दलसँग गठबन्धन हुनेमा म सम्भावना देख्दिन । तर राजनीति सम्भावनाको खेल पनि हो ।

खास गरी मधेस प्रदेशमा एमालेप्रति मधेशी जनता अझै पूर्ण रुपमा सकारात्मक भएको जस्तो देखिदैन । यस अवस्थामा एमालेसँग गठबन्धन बनाउने चुनौती लिन लोसपा किन तयार भइरहेको छ ?

राजनीतिमा आवश्यकताको सिद्धान्तको आधारमा अगाडि बढ्नुपर्ने हुन्छ । समयको मागअनुसार अगाडि बढ्नुपर्छ । समयले के माग गर्छ र आवश्यकता के छ, त्यस आधारमा अगाडि बढ्नुपर्ने हुन्छ । लोसपा यी सिद्धान्तलाई आधार मानेर अगाडि बढ्छ ।

लोसपाले जब राष्ट्रियसभामा गठबन्धन बनायो अनि एमालेले मधेशमा टेक्ने ठाउँ पायो भनी टिप्पणी पनि हुने गरेको छ, लोसपाले एमालेलाई बोकेकै हो त ?

केपी ओलीको सरकारमा उपेन्द्र यादव लामो समय बस्नुभयो । उपेन्द्र यादवले ओलीलाई मधेश प्रदेशको प्रदेशसभामा लगेर भाषण गर्न लगाउनुभयो । उहाँ मन्त्री भएको बेला एमालेबाट राष्ट्रपति बन्नुभएका विद्यादेवी भण्डारीलाई मधेसमा लगेर कार्यक्रम गर्नुभयो । कुनैबेला त मधेसमा प्रचण्डविरोधी माहोल थियो । उपेन्द्र यादवले प्रचण्डलाई लिएर गाउँ गाउँ जानुभयो र अहिले पनि गइरहनु भएको छ । त्यसैले, लोसपाले एमालेलाई मधेसमा लगिरहेको भन्नु हामीमाथि मिथ्या आरोप मात्र हो । लोसपा कसैसँग छैन, आफ्नै माग र मुद्दासँग छ । जो जो हाम्रो माग र मुद्दामा समर्थन गर्नुहुन्छ, त्यसको नजिकमा हुन्छौं, त्यो स्वाभाविक पनि हो । तर हामीले कसैलाई बोकेका छैनौं । आफ्नो आफ्नो माग र मुद्दालाई लिएर मधेसमा जान्छौं । मधेशवाद र लोकतन्त्रको मूल्यमान्यताका साथमा हामी अगाडि बढेका छौं ।

लोसपा नयाँ पार्टी, स्थानीय तहको चुनावमा के कस्तो चुनौती हुन सक्छ ?

हाम्रो पार्टी नयाँ भए पनि मधेसका लागि सबै एकसे एक पुराना नेता छन् । पुरानो तमलोपा, सद्भावना, रामसपालगायतका पार्टीका थुप्रै नेता तथा कार्यकर्ताहरू अहिले लोसपामा छन् । प्रदेश, जिल्ला तथा गाउँमा गाउँमा संगठन छन् । यी संगठनहरूलाई चुनावका लागि तयार गर्नु नै हाम्रो लागि चुनौती हो । संगठन संरचनालाई दुरुस्त बनाउन सकियो त्यति नै छिटो मजबुत भएर आउँछौ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप