आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : माओवादी महाधिवेशनको उद्घाटन सत्रमा कसले के भने ?

आइतबार, ११ पुस २०७८, २० : ३२
आइतबार, ११ पुस २०७८

आज २०७८ पुस ११ गते आइतबार । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन भएको सन्दर्भमा उद्घाटनसत्रमा विभिन्न दलका नेता तथा प्रतिनिधिले व्यक्त गरेका विचारलाई समेटेर आज हामीले रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

प्रचण्डकै बलमा संविधानसभाको निर्वाचन र संविधान : प्रधानमन्त्री देउवा, अब पछाडि फर्कन सकिन्न : माधवकुमार नेपाल, पार्टी एकता जोगाउन नसक्दा पछुतो लागेको छ : शंकर पोखरेल, माओवादी जनयुद्ध र मधेस जनविद्रोहकै बलमा गणतन्त्र : उपेन्द्र यादव, संविधानसभा सबैथोक भए पनि केही नभएजस्तो : अनिल झा, प्रतिगमनको खतरा कायमै : राष्ट्रिय जनमोर्चा लगायत छन् ।

१. प्रचण्डकै बलमा संविधानसभा निर्वाचन र संविधान

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै बलमा संविधानसभा निर्वाचन भएको र संविधानसभाबाट संविधान बन्न सफल भएको बताएका छन् । उनले सत्तारुढ गठबन्धन कायम रहने भन्दै यसमा शंका नगर्न पनि आग्रह गरे । एमसीसी सम्झौतामा आफूले कहीँ राष्ट्रघात नदेखेको भन्दै उनले सम्झौतालाई राम्ररी पढ्नसमेत सुझाव दिए ।


२. अब पछाडि फर्कन सकिन्न : माधवकुमार नेपाल 

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास अगाडि बढिसकेको भन्दै अब पछाडि फर्कने सम्भावना नरहेको बताए । उनले राजनीतिक क्रान्ति पूरा भए पनि आर्थिक विकास, जनताका आकांक्षाहरु पूरा गर्ने अभिभारा बाँकी नै रहेको बताए । 


३. पार्टी एकता जोगाउन नसक्दा पछुतो लागेको छ : शंकर पोखरेल 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी एकता जोगाउन नसकेकोमा पछुतो लागेको बताएका छन् । उनले एमाले र माओवादी केन्द्रबीचको एकताका लागि इमानदार प्रयास गरेको भए पनि एकता जोगाउन नसक्दा पछुतो लागेको बताएका हुन् । उनले बामपन्थी आन्दोलन अहिले सही बाटोमा नगएको पनि टिप्पणी गरे ।


४. माओवादी जनयुद्ध र मधेस जनविद्रोहकै बलमा गणतन्त्र : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोहकै बलमा मुलुकमा गणतन्त्र स्थापना भएको बताएका छन् । उनले माओवादी जनयुद्ध र मधेस जनविद्रोहका कतिपय एजेण्डा पूरा हुन बाँकी नै रहेको बताए ।


५. संविधानसभा सबैथोक भए पनि केही नभएजस्तो : अनिल झा

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले संविधानमा सबैथोक भए पनि केही नभएजस्तो भएको बताएका छन् । उनले माओवादी जनयुद्ध र मधेस आन्दोलनका उद्देश्य अनुसार अझै पनि संविधान पूर्ण हुन नसकेको भन्दै त्यसलाई पूर्ण तुल्याउन आवश्यक रहेको बताए ।


६. प्रतिगमनको खतरा कायमै : राष्ट्रिय जनमोर्चा 

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पोखरेलले मुलुकमा अझै पनि प्रतिगमनको खतरा कायमै रहेको भन्दै त्यसलाई परास्त गर्न दलहरुबीच सहकार्यको खाँचो रहेको जनाएकी छन् । दलहरुबीच विभिन्न विषयमा मतभेद रहे पनि राष्ट्र र जनताको आवश्यकतालाई केन्द्रमा राखेर त्यस्ता मतभेदलाई पन्छाउँदै राष्ट्रिय चुनौतीलाई एक ढिक्का भएर सामना गर्नुपर्नेमा जोड दिइन् ।


७. यी शर्तका आधारमा पूर्वमाओवादी एक ढिक्का हुन सकिन्छ : सीपी गजुरेल

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरु एकढिक्का हुन आवश्यक रहेकोमा आफू सहमत रहे पनि त्यसका लागि केही शर्त पूरा हुनुपर्ने बताएका छन् । उनले जनयुद्ध सुरु हुनुअघिको केन्द्रीय समिति बैठकले जाहेर गरेको प्रतिवद्धता पुनःस्थापित गर्नुपर्ने, नेपाललाई जनगणतन्त्र बनाउने उद्देश्य जस्ता शर्त पूरा भएमा पूर्वमाओवादीहरु एक ढिक्का हुन सकिने बताए ।


८. व्यवस्था बदलिए पनि अवस्था बदलिएन भन्ने जनगुनासो छ : सीपी मैनाली

नेकपा मालेका महासचिव सीपी मैनालीले व्यवस्था बदलिए पनि अवस्था बदलिएन भन्ने जनगुनासो व्याप्त रहेको बताएका छन् । उनले राष्ट्रिय जनक्रान्तिको मौलिक बाटो कुन हो भनेर नेकपा माओवादी केन्द्रलाई प्रश्नसमेत गरे ।


९. राजनीतिक विचार फरक भए पनि राष्ट्रियताबारे एकै ठाउँ : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीले अन्य दलहरुसँग राजनीतिक विचारमा आफूहरु फरक भए पनि राष्ट्रियताको सवालमा एउटै ठाउँ रहने बताएकी छन् । उनले ठुलो संख्यामा युवाशक्ति खाडीमा पसिना बगाइरहेको भन्दै तिनलाई देशको विकासमा समेट्न जरुरी रहेको बताइन् ।


१०. पार्टी एकता किन जोगाउन सकेनौं भन्ने आत्मसमीक्षा गरौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता किन जोगाउन सकेनौं भन्ने आत्मसमीक्षा गर्न आग्रह गरेका छन् । पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा विभिन्न दलका नेताहरू तथा प्रतिनिधिहरूले व्यक्त गरेको विचार मननयोग्य रहेको पनि उनले बताए ।


११. र यो पनि,

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी र नेताहरु बदलिएमात्रै आर्थिक सामाजिक रुपान्तरण हुँदै समाजवादमा पुग्न सकिने बताएका छन् ।


नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुनुको रहस्य खुलासा गरेका छन् ।


नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य एवं ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले समाजवाद उन्मुख समाज निर्माण गर्ने आधार तयार गर्नु नै पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको मुख्य उद्देश्य हुने प्रस्ट पारेकी छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप