आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पार्टी एकता गल्ती थिएन, किन जोगाउन सकेनौँ आत्मसमीक्षा गरौँ : प्रचण्ड

अतिथिले दिएका अभिव्यक्तिको प्रशंसा
आइतबार, ११ पुस २०७८, १९ : २१
आइतबार, ११ पुस २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा विभिन्न दलका नेताहरू तथा प्रतिनिधिहरूले व्यक्त गरेको विचार मननयोग्य रहेको बताएका छन् । 

पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राप्रपा, नेकपा माले, नेकपा एमाले र काँग्रेस सभापतिसमेत प्रधानमन्त्री शेरबहादुर देउवाका अभिव्यक्तिप्रति आभार प्रकट गरेका हुन् ।

प्रधानमन्त्री देउवाले संविधानसभाबाट संविधान निर्माण हुनुमा प्रचण्डको भूमिका प्रमुख रहेको भन्दै दिएको अभिव्यक्ति ‘महत्त्वपूर्ण’ रहेको भन्दै प्रचण्डले देउवाले पनि समय समयमा निकै गम्भीर र अर्थपूर्ण अभिव्यक्ति दिने गरेको स्मरण गरे । 

उनले भने, ‘अतिथि नेताहरूको बोलीमा कृत्रिमता कहीँ महसुस गरिनँ । देश, जनताको आकांक्षा पूरा गर्न कसरी सकिएला भन्नेबारे सबैको चिन्ता देखियो ।’ आफूहरू शान्ति प्रक्रियामा आउनु अघि तत्कालीन प्रधानमन्त्रीका रूपमा देउवाले आफ्नो नेतृत्वको प्रशंसा गरेको पनि प्रचण्डले सुनाए ।  

उनले नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन सत्रलाई सम्बोधन गर्दै दिएको अभिव्यक्ति पनि महत्त्वपूर्ण रहेको बताए । पार्टी एकता गरेर आफूहरूले गल्ती नगरेको प्रस्ट पार्दै उनले पार्टी एकताको उद्देश्यमा गल्ती नहुँदा नहुँदै एकता जोगाउन नसक्नुमा कहाँ र केमा गल्ती भयो भन्नेबारे आत्मसमीक्षा गर्न जरुरी रहेको बताए । प्रचण्डले गम्भीर आत्मसमीक्षासहित जनता र राष्ट्रसामु समर्पित हुने गरी महाधिवेशनमा प्रस्तुत हुन पार्टीका कार्यकर्ताहरूलाई आग्रहसमेत गरे ।

प्रथम राष्ट्रिय सम्मेलनलाई हिजोमात्र महाधिवेशन बनाउने योजना बनाएको र आज केन्द्रीय समितिको बैठकबाट निर्णय भएको भन्दै छोटो समयमा पनि सबै दलका प्रमुख नेता तथा प्रतिनिधिहरू सहभागी भएर महाधिवेशनको गरिमा बढाइदिएको भन्दै उनले आभार प्रकट गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप