बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : आयो एमालेको साइबर सर्कल, प्रहरी नेतृत्वमा पानी बाराबार

बुधबार, ०८ मङ्सिर २०७८, २१ : ०३
बुधबार, ०८ मङ्सिर २०७८

आज २०७८ मंसिर ८ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

१. फुलकोर्ट बैठक बोलाउन माग

सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ । आज प्रधानन्यायाधीश जबराबाहेक सर्वोच्चका न्यायाधीशहरूको बैठक बसेको थियो । सो बैठकले भोलि फुलकोर्ट बैठक बोलाएर मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी अघि बढ्न माग गर्ने निर्णय गरेको हो । यसअघि सर्वोच्च अदालतका न्यायाधीशहरू नै सम्मिलित फुलकोर्टले बनाएको नियममा पनि त्रुटि रह्यो, जसका कारण नियमावली संशोधन भई निर्देशिका बनेको एक साता हुँदा पनि सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी व्यवस्थापन सुरु हुन सकेको थिएन ।

 

२. ओलीको बोली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एउटा पार्टीमात्र नभएर देश र जनताको प्रतिनिधित्व गर्ने मुख्य शक्ति भएको बताएका छन् । उनले नेपाली काँग्रेसको पुच्छर समातेर हिँडेकाहरूले फुर्ती लगाइरहेको भन्दै उनीहरूले फुर्ती लगाउनुको अर्थ नरहेको पनि बताए । बुधबार युवा संघ नेपालको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले काँग्रेसको पुच्छर समातेर हिँडेकाहरूलाई कुन बेला काँग्रेसले पुच्छर हल्लाएर कहाँ पु¥याउने हो भन्ने ठेगान नभएको भन्दै सचेत तुल्याए ।

३. साइबर सर्कल घोषणा

युवा संघ नेपालको पहलमा ‘साइबर सर्कल’ गठन गरिएको छ ।  मदन भण्डारीको संयोजकत्वमा साइबर सर्कलको ३०१ सदस्यीय केन्द्रीय टिम बनाइएको छ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सूचना प्रविधिमार्फत एमाले र यसका नेताविरुद्ध छरिएका भ्रम चिर्न र भ्रम सिर्जना गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन एउटा संगठन महसुस गरी एमालेले ‘साइबर सर्कल’ बनाउने निर्णय गरेको बताएका छन् । 

४. न्यायाधीशहरूले पनि राजीनामा दिनुपर्छ : विप्लव​

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतमा देखिएको विवाद तत्कालका लागि नियन्त्रण गर्न समस्यासँग सम्बन्धित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा लगायतका न्यायधिकारीहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उचित ठहरिने बताएको छ । पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा नेपालको विद्यमान न्यायपालिका र सर्वोच्च अदालत भ्रष्टाचार, अनियमितता, सेटिङ, घुसखोरी, नातावाद, कृपावाद, दलगत स्वार्थ र सम्बन्ध लगायतका समस्याहरूबाट ग्रसित रहेको उल्लेख गरिएको छ ।

५. बढुवा भएकाहरूलाई दर्ज्यानी चिन्ह

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ८ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू विकास राज खनाल, सुदिप राजभण्डारी, अनुराग कुमार द्विवेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुवराज राउत र भोला बहादुर रावल रहेका छन् । नेपाल सरकार मन्त्रीस्तरको २०७८ मङ्सिर ७ गतेको निर्णयअनुसार उहाँहरू प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति  भएका हुन् ।  

६. फुलकोर्ट बैठक बोलाउन माग

 काँग्रेसको आन्तरिक प्रतिस्पर्धामा यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वर्चश्व रहेको कर्णाली प्रदेशमा यो पटक भने पार्टी सभापति शेरबहादुर देउवा पक्षले बाजी पारेको छ । १० जिल्ला रहेको कर्णालीका सात जिल्लामा अधिवेशनमार्फत काँग्रेसको जिल्ला सभापतिको टुङ्गो लागिसकेको छ । जसमध्ये ६ वटा जिल्लामा देउवा पक्षले नेतृत्व हासिल गरेको छ ।

७. नेपालगञ्ज अवतरण गर्नु पाइलटको बाध्यता

मंगलबार रुकुम (सल्ले) का लागि काठमाडौँबाट उडेको जहाज नेपालगञ्ज अवतरण गर्नुपर्नाको कारण बारे नेपाल वायुसेवा निगमले मुख खोलेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले सो घटना बारे बाहिर उठेको टिका टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नेपालगञ्जत अवतरण गराउनु पर्नाको कारण रहर नभएर बाध्यता भएको बताएको छ । 

८. आईजीपी–एआईजी सम्बन्ध​ चिसियो

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र उनीपछिका ‘सेकेन्ड इन कमाण्ड’ एआईजी हरि बहादुर पाल कुनैबेला कुम जोडेर हिँड्ने प्रहरी अधिकारी थिए । आईजीपीको दौडमा रहँदा पनि उनीहरूले एउटै गाडीमा हिँडेर नयाँ सन्देश दिएका थिए । आईजिपी नियुक्त हुनुभन्दा ७ दिनअघि २०७७ असार १७ मा ललितपुर परिसरमा आयोजित ब्यारेक भवन उद्घाटन कार्यक्रममा उनीहरू दुवैजना एउटै गाडीमा गएर ‘हार्दिकता’ देखाउन खोजेका थिए । प्रहरी इन्सपेक्टरका रूपमा सँगै परेड खेलेका क्षेत्री आईजीपी भए । पाल महानगरीय प्रहरी कार्यालयको कमाण्डर छन् । तर, १६ महिनापछि उनीहरूको हार्दिकतापूर्ण सम्बन्धमा एकाएक ब्रेक लाग्न पुगेको छ । चलनचल्तीकै भाषामा भन्ने हो भने उनीहरूको दोस्ती यतिबेला ‘पानी बाराबार’को अवस्थामा आइपुगेको छ ।

९. बढ्यो प्रदूषण

नेपालको राजधानी काठमाडौं उपत्यका विश्व अति वायु प्रदूषित शहर सूचीको चौथो स्थानमा उक्लिएको छ । विश्वभरको वायु प्रदूषण स्थितिबारे अद्यावधिक जानकारी दिइरहेको आइक्यूएअरडटकमका अनुसार यतिखेर काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचक १६९ आइक्यू छ । शून्यदेखि ५० सम्म एक्यूआई हुँदा मात्रै सो स्थान स्वस्थ मान्न सकिन्छ । 

१०. मुख्यमन्त्रीको राजीनामा माग

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । जसपा नेपालका केही कार्यकारिणी समिति सदस्यले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका राउतको राजीनामा माग गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप