शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

किन ‘पानी बाराबार’मा पुग्यो आईजीपी–एआईजी सम्बन्ध ?

बुधबार, ०८ मङ्सिर २०७८, १३ : ३४
बुधबार, ०८ मङ्सिर २०७८

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र उनीपछिका ‘सेकेन्ड इन कमाण्ड’ एआईजी हरि बहादुर पाल कुनैबेला कुम जोडेर हिँड्ने प्रहरी अधिकारी थिए । आईजीपीको दौडमा रहँदा पनि उनीहरूले एउटै गाडीमा हिँडेर नयाँ सन्देश दिएका थिए । आईजिपी नियुक्त हुनुभन्दा ७ दिनअघि २०७७ असार १७ मा ललितपुर परिसरमा आयोजित ब्यारेक भवन उद्घाटन कार्यक्रममा उनीहरू दुवैजना एउटै गाडीमा गएर ‘हार्दिकता’ देखाउन खोजेका थिए । 

प्रहरी इन्सपेक्टरका रूपमा सँगै परेड खेलेका क्षेत्री आईजीपी भए । पाल महानगरीय प्रहरी कार्यालयको कमाण्डर छन् । तर, १६ महिनापछि उनीहरूको हार्दिकतापूर्ण सम्बन्धमा एकाएक ब्रेक लाग्न पुगेको छ । चलनचल्तीकै भाषामा भन्ने हो भने उनीहरूको दोस्ती यतिबेला ‘पानी बाराबार’को अवस्थामा आइपुगेको छ ।

आईजीपीको कार्यभार समालेको सुरुवाती समयमा थापाले सामूहिक नेतृत्व अघि बढाएका थिए । तर, पछि उनी आफैँ निरीह भएर नेताका ‘रबर स्ट्याम्प’ हुन थालेपछि एआईजी पालले असहमति जनाउन थाले । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृत भन्छन्, ‘अहिले उनीहरूको बीचमा औपचारिकताकै लागि कुरा त हुन्छ तर, सौहार्दता हुँदैन ।’ 

कार्यवाहक विवाद 

आईजीपी क्षेत्री कार्तिक २६ मा भारतको हैदारावादमा आयोजित इन्डियन पुलिस सर्भिस (आईपिएस)को दीक्षान्त समारोहमा गए । त्यहाँ जाँदा उनले दुईजना वरिष्ठ एआईजी हुँदाहुँदै प्रधुम्न कार्कीलाई कार्यवाहक आइजिपीको जिम्मेवारी दिए । चेन अफ कमाण्डलाई लत्याएर कार्कीलाई जिम्मेवारी दिएको भन्दै एआईजीद्वय हरि बहादुर पाल र नीरज बहादुर शाही असन्तुष्टि जनाउँदै बिदामा बसे । 

भारत जाँदा ‘सेकेन्ड इन कमाण्ड’मा रहेका हरि बहादुर पाललाई कार्यवाहक नदिन गृहमन्त्री बालकृष्ण खाँणले आईजीपीलाई दबाव दिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए । 

मंसिर ५ गतेबाट क्षेत्री अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को महासभामा भाग लिन टर्की प्रस्थान गरे । एआईजी प्रधुम्न कार्की पनि क्षेत्रीसँगै टर्कीको इस्तानवुलमा छन् । तर, यसपटक पनि क्षेत्रीले सिनियर एआईजी पाललाई कार्यवाहक आइजीपको जिम्मेवारी दिएनन् । आफूभन्दा कनिष्ठलाई कार्यवाहक दिएपछि मंसिर ५ गतेदेखि देखि पाल १० दिने बिदामा बसेका छन् । 

आईजीपी क्षेत्री र पाल २०७६ फागुन १५ मा अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका थिए । नीरज शाही र प्रधुम्न कार्की २०७७ साउनमा एआईजीमा बढुवा भएका हुन् । आफूभन्दा ५ महिना जुनियरलाई कार्यवाहक दिएपछि ‘नैतिक संकट’ आइपरेको भन्दै पाल असन्तुष्ट छन् । 

पहिले कुम जोडेर हिँड्ने दोस्तीको सम्बन्ध अहिले ‘पानी बाराबार’ भएको छ । आईजीपी क्षेत्री हैदारावाद जाँदा र टर्की जाँदा पाल उनलाई विमानस्थलमा बिदाई गर्न समेत गएनन् । यसभन्दा अघिका आईजीपी सवेन्द्र खनाल र एआईजी पुष्कर कार्कीको बीचमा पनि तीब्र आन्तरिक प्रतिष्पर्धा थियो । तर, खनालले आफू विदेश भ्रमणमा जाँदा सँधै कार्कीलाई नै कार्यवाहकको जिम्मेवारी दिए ।

तर, यसपटक चेनअफ कमाण्ड तोडिएको छ । यसअघिका प्रहरी प्रमुखहरूले वरिष्ठ एआईजीलाई सो जिम्मेवारी दिँदै आएका थिए । सम्बन्धमा खटपट आउँदा पनि सर्वेन्द्र खनाल र उपेन्द्रकान्त अर्यालले सिनियरलाई जिम्मेवारी दिएका थिए । 

आफूभन्दा दोस्रो बरियतामा रहेका राजेन्द्र सिंह भण्डारीले राष्ट्रिय सुरक्षा परिषद्मा रहँदा आफू रक्षा मन्त्रालय मातहतमा कार्यरत भएको भन्दै सो जिम्मेवारी अस्वीकार गरेपछि पूर्व आईजीपी अर्यालले सुरेन्द्रबहादुर शाहलाई कार्यवाहक तोकेका थिए । 

प्रशासनिक प्रक्रिया अनुसार दोस्रो वरीयताको एआईजीलाई निमित्तको जिम्मेवारी दिनुपर्ने पूर्व एआईजी राजेन्द्रसिंह भण्डारीको भनाई छ । ‘प्रहरी नियमावली अनुसार आफूभन्दा तलको सेकेन्ड इन कमाण्डलाई निमित्त दिनुपर्छ’ पूर्व एआईजी भण्डारीले भने–‘फौजमा यो संवेदनशील मुद्दा हो ।’ 

त्यसो त बहालवाला एक डिआइजी पनि प्रहरी मुख्यालयमा रहेका व्यक्ति भन्दा पनि प्रहरी संगठनभित्रका वरिष्ठतम् एआईजीलाई कार्यवाहक आइजीपीको जिम्मेवारी दिने परम्परा रहेको भन्दै कनिष्ठले निर्देशन दिने व्यवस्था फौजमा हुनै नसक्ने बताउँछन् । ती डिआइजीले भने, ‘अहिले जे भयो, त्यो गलत भयो । यसले फौजको चेन अफ कमाण्ड बिगार्छ । यसो गर्नु हुँदैन । पहिले पनि रविन्द्रप्रतापलाई नदिँदा विवाद भएको थियो । चेन अफ कमाण्डमा चल्ने संगठनमा कनिष्ठलाई कार्यवाहकको जिम्मेवारी दिनु एकदमै गलत हो, यसले संगठन र परम्परा बिगार्छ मात्रै ।’

पहिले कुम जोडेर हिँड्ने दोस्तीको सम्बन्ध अहिले ‘पानी बाराबार’ भएको छ । आईजीपी क्षेत्री हैदारावाद जाँदा र टर्की जाँदा पाल उनलाई विमानस्थलमा बिदाई गर्न समेत गएनन् । यसभन्दा अघिका आईजीपी सवेन्द्र खनाल र एआईजी पुष्कर कार्कीको बीचमा पनि तीब्र आन्तरिक प्रतिष्पर्धा थियो । तर, खनालले आफू विदेश भ्रमणमा जाँदा सँधै कार्कीलाई नै कार्यवाहकको जिम्मेवारी दिए । सार्वजनिक कार्यक्रममा उनीहरू सँगै बस्थे, हाँसेर बोल्थे । तर, पाल र क्षेत्री दुबैजना एक अर्कालाई अस्वीकार गर्ने अवस्थामा पुगेका छन् । 

तर यसअघिका आइजीपीको सचिवालयमा बसेर काम गरिसकेका एक प्रहरी अधिकारीका अनुसार प्रहरी महानिरीक्षकले एआईजीबाट वरिष्ठतम् व्यक्ति छानेर कार्यवाहक दिने भन्दा पनि प्रहरी प्रधान कार्यालयमा रहेका एआईजीमध्ये वरिष्ठलाई कार्यवाहकको जिम्मेवारी दिने गरिएको उदाहरण छन् । प्रहरी प्रधान कार्यालयमै रहेर काम गरेकाले सांगठानिक संरचना र त्यहाँको प्रशासन बढी बुझ्ने भएकाले हेडक्वार्टरमै रहेका एआईजीलाई कार्यवाहक दिने गरिएको दावी गरे । त्यसकारण अहिले प्रधुम्न कार्की पनि इन्टरपोलका कार्यक्रममा जानुभएको कारण नीरज बहादुर शाहीलाई कार्यवाहकको जिम्मेवारी तोकिएको कारण यसमा विवाद गर्नुपर्ने कारण नरहने ती अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप