मन्त्रीबाट हटाएर मेरो अपमान गरियो : रामनरेश राय

प्रदेश २ सरकारको मन्त्रीबाट बर्खास्त गरिएका जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रामनरेश रायले आफूलाई अपमानित गरिएको बताएका छन् । जसपा नेपालको जारी कार्यकारिणी समितिको बैठकमा रायले यस्तो गुनासो गरेका हुन् ।
बैठकमा सहभागी एक कार्यकारिणी सदस्यका अनुसार रायले मन्त्रीबाट हटाउने निर्णय मुख्यमन्त्री लालबाबु राउतले मनोमानी ढङ्गबाट गरेको दाबी गरेका थिए । मन्त्री हटाउने विषयमा पार्टीबाट आधिकारिक निर्णय हुनुपर्नेमा त्यसो नभएको रायको भनाइ थियो ।
‘मन्त्री हटाउने अधिकार मुख्यमन्त्रीको हो तर त्यसो भन्दैमा बिना आधार जतिखेर मन लाग्छ त्यतिखेर हटाउन मिल्दैन,’ बैठकमा रायले राखेको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘म पार्टीको कार्यकारिणी समिति सदस्य हुँ, त्यसको पनि ख्याल गरिएन, त्यसैले मैले निकै अपमानित महसुस गरेको छु ।’
उनले बैठकमा मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने धारणा राखेको पनि ती नेताले रातोपाटीलाई बताए । प्रदेश २ सरकार भ्रष्टाचारको आरोपले घेरिएको र मुख्यमन्त्री कार्यालयमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको भन्दै अनुसन्धानलाई सघाउन पनि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।
यस विषयमा बुझ्न नेता रामनरेश रायसँग सम्पर्क गर्दा उनले बैठकमा राखेका भनाइबारे खुलाउन चाहेनन् । ‘मैले आफ्नो कुरा पार्टीमा राखिसकेको छु,’ उनले भने, ‘यसबारे मैले थप केही भन्न जरुरी छैन ।’
प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादीलाई सहभागी गराउने क्रममा मुख्यमन्त्री राउतले रामनरेश रायसँग राजीनामा माग गरेका थिए । तर रायले राजीनामा नदिएपछि मुख्यमन्त्रीले उनलाई पदबाट हटाएका थिए ।
प्रदेश २ सरकारमा रामनरेश राय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए । उनको ठाउँमा हाल नेकपा एकीकृत समाजवादी पार्टीका शत्रुधन महतोले जिम्मेवारी सम्हालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'यो सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरुको हुल पर्यो'
-
सांसद बजगाईंद्वारा नागरिक उड्डयन प्राधिकरण विधेयकउपर १२ बुँदे सुझाव
-
९ महिनाकाे अवधिमा पोखराबाट ३८ हजार बढीले लिए श्रम स्वीकृति
-
टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट हुन्छन् : नवराज सुवेदी
-
बलात्कारको आरोप लगाएकी प्रेमिकासँग युवकले गरे जेलमै विवाह
-
भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह