शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाभित्र दुई अध्यक्षात्मक प्रणालीबारे बहस

बुधबार, ०८ मङ्सिर २०७८, १२ : ०८
बुधबार, ०८ मङ्सिर २०७८

जनता समाजवादी पार्टी नेपालमा दुई अध्यक्षात्मक प्रणालीबारे बहस भएको छ । पार्टी विभाजन अघि जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव गरी दुई जना अध्यक्ष थिए । महन्थ ठाकुरको नेतृत्वमा एउटा समूह अलग भएपछि जसपामा हाल उपेन्द्र यादवमात्र अध्यक्ष छन् ।

तीन दिनदेखि जारी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा दुई अध्यक्षात्मक प्रणालीमा जानुपर्ने विषय उठेको हो । विभाजनपछि जसपामा एक अध्यक्ष पद लगायत कार्यकारिणी समितिका थुप्रै पद खाली छन् । ती पद पूर्ति गर्ने विषयमा छलफल चलेपछि दुई अध्यक्षात्मक प्रणालीको कुरा उठेको कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले रातोपाटीलाई बताए ।

बैठकमा दुईजना अध्यक्ष हुनुपर्ने प्रस्ताव आएसँगै केहीले त्यसको विरोध पनि गरेको उनले बताए । ‘केही साथीले रिक्त रहेको एउटा अध्यक्ष पदलाई पूर्ति गर्नुपर्ने प्रस्ताव राखेका छन्,’ उनले भने, ‘त्योसँगै केही साथीले भने दुई अध्यक्षात्मक प्रणाली विफल भइसकेका कारण एउटै अध्यक्ष हुनुपर्ने तर्क गरेका छन् ।’ यद्यपि यो विषय एजेण्डाको रुपमा छलफलमा नआएको उनले बताए ।

जसपाको विधानमा दुईजना अध्यक्षको प्रावधान छ । पार्टी विभाजन भएर तत्कालीन अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरे पनि जसपाको विधान संशोधन गरिएको छैन । त्यसैले दुई अध्यक्षात्मक प्रणाली रहेको विधान संशोधन गर्ने कि यही विधानलाई लागु गर्ने भन्नेबारे बैठकमा छलफल भइरहेको जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए । ‘यही विधान रह्यो भने दुईजना अध्यक्ष राख्नुपर्छ,’ उनले भने, ‘एकजना अध्यक्षमात्र राख्ने हो भने विधान संशोधन गर्नुपर्ने हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप