शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सत्ता भागवण्डामा गठबन्धन दलहरुबीच सहमति, जसपा संसदीय दलको नेता शनिबार छानिने

बिहीबार, १४ साउन २०७८, २० : ३६
बिहीबार, १४ साउन २०७८

आज २०७८ साउन १४ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा सत्ता भागवण्डामा गठबन्धन दलहरुबीच सहमति, काँग्रेसको क्रियाशील सदस्यता विवाद ९६ प्रतिशत टुङ्गियो, एमाले अध्यक्ष ओलीले महत्वपूर्ण भेटघाट र छलफल पार्टी कार्यालयमै गर्ने, जसपा संसदीय दलको नेता शनिबार छानिने तर सरकारमा पठाउने नामबारे अन्योल कायमै, उखु किसानले वक्यौता भुक्तानीका लागि दिए अल्टिमेटम, विप्लवले प्रवासमा रहेका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने लगायत छन् ।

१. भागवण्डाबारे गठबन्धन दलहरुबीच सहमति, कसको भागमा कति मन्त्रालय ?
सत्ता पक्षमा रहेका गठबन्धन घटकबीच भागवण्डामा सहमति जुटेको छ । भागवण्डाकै विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार छलफल भएको थियो । स्रोतका अनुसार काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपा नेपालले ७ मन्त्रालयसहित सत्ता साझेदारी गर्ने भएका हुन् ।


२. काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिले बुझायो पुरक प्रतिवेदन, ९६ प्रतिशत टुङ्गियो
नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिले विवाद देखिएका केही स्थानमा सहमति जुटाएर पुरक प्रतिवेदन बुझाएको छ । समितिका सदस्य एवं काँग्रेस नेता प्रदीप पौडेलका अनुसार क्रियाशील सदस्यता विवाद अब ९६ प्रतिशत टुङ्गिएको छ ।

३. ओलीले अब महत्वपूर्ण भेटघाट तथा छलफल पार्टी कार्यालयबाटै गर्ने
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब महत्वपूर्ण भेटघाट तथा छलफल थापाथलीस्थित पार्टी कार्यालयबाटै गर्न थालेका छन् । प्रधानमन्त्री रहँदा उनले बालुवाटारमै पार्टीका बैठक तथा भेटघाट आयोजना गर्दै आएका थिए । सत्ताबाट बाहिरिएपछि उनले अब पार्टी कार्यालयमै भेटघाट तथा छलफल गर्ने भएका हुन् ।


४. जसपाले अझै छान्न सकेन मन्त्री, संसदीय दलको नेताको चुनाव शनिबार
सरकारमा जाने निर्णय गरेको जनता समाजवादी पार्टीले पार्टीका तर्फबाट मन्त्री बन्नेहरुको नाम छान्न सकेको छैन । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको चुनाव शनिबार गर्ने निर्णय गरेको छ । सरकारमा पठाउने व्यक्तिहरुका बारेमा सामान्य छलफल भए पनि नाम टुङ्गो नलगाइएको बताइएको छ ।


५. उखु किसानले दिए अल्टिमेटम, निर्णायक आन्दोलनको चेतावनी
लामो समयदेखि उखुको भुक्तानी नपाएका किसानहरुले भदौ ५ गतेसम्ममा सम्पूर्ण वक्यौता भुक्तानी गर्न अल्टिमेटम दिएका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले माग पूरा नभए निर्णायक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए । 

६. विश्व बाघ दिवसका अवसरमा आयोजित कार्यक्रममा देउवा र नेपाल
विश्व बाघ दिवसका अवसरमा बिहीबार राष्ट्रिय बाघ संरक्षण समितिले विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहभागी भए । उनीहरुले बाघ संरक्षणका बारेमा आफ्ना दृष्टिकोण राखेका थिए ।


७. एसियाकै पहिलो सुरुङमार्ग पुनर्निर्माण हुने, मुख्यमन्त्रीले गरे शिलान्यास
बागमती प्रदेश सरकारले एसियाकै पहिलो सुरुङमार्गका रुपमा रहेको मकवानपुरको चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग पुनर्निर्माणको काम अघि बढाउने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार सुरुङमार्ग पुनर्निर्माणको शिलान्याश गरे ।


८. सभामुख सापकोटा र गृहमन्त्री खाँणबीच छलफल
सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच बिहीबार संसदमा विचाराधीन विधेयकहरु अघि बढाउने सन्दर्भमा छलफल भएको छ । उनीहरुबीच यस वर्ष बाढी पहिरोका कारण उत्पन्न विपत्ति र व्यवस्थापनका सन्दर्भमा सरकारी तयारीबारे पनि चर्चा भएको बताइएको छ ।


९. तीन हजार ३६५ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने एक हजार ३७३ जना संक्रमणमुक्त भएका छन् ।


१०. प्रवासमा रहेका नेता तथा कार्यकर्तालाई विप्लवले प्रशिक्षण दिने
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रवासमा रहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई शुक्रबार प्रशिक्षण दिने भएका छन् । शुक्रबार उनले जुममार्फत प्रशिक्षण दिने भएका हुन् ।


११. अर्थमन्त्री भन्छन्– धेरै समय छैन, धेरै गर्न सकिने अवस्था पनि छैन
अर्थमन्त्री जनार्दन शर्माले आफूलाई जनताका अपेक्षाहरुको भारीले त्रसित बनाएको भन्दै आफूसँग काम गर्ने धेरै समय पनि नभएको र धेरै गर्न सकिने अवस्था पनि नरहेको बताएका छन् । बिहीबार आर्थिक पत्रकार संघ नेपालका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् ।


१२. र यो पनि,
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शपथ गराएका हुन् ।


मध्यरातमा कोरोनाविरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घरमा पुगेको भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विवादमा मुछिएका छन् । 


प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिमा सांसदहरुले कोरोना संक्रमणको तेस्रो लहरबाट बालबालिकालाई बचाउने तयारीमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप