बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यरातमा कार्यकर्ताको घरमा खोप लिएर गएको भन्दै विवादमा तानिए विराटनगरका मेयर

आरोप प्रमाणित गर्न चुनौती दिन्छु : मेयर पराजुली
बिहीबार, १४ साउन २०७८, १३ : १७
बिहीबार, १४ साउन २०७८

मध्यरातमा कोरोना विरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेको भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विवादमा मुछिएका छन् । रातको समयमा आफ्ना निकटकालाई खोप लगाउन थालेको भनेर आफ्नै पार्टीका कार्यकर्ताबाट उनीमाथि आरोप लगाइएको हो ।

खोप लगाउन प्रयोग भएको भनिएका घरका मूली एवं विराटनगर महानगरपालिका–५ का काँग्रेस बुथ सभापति विमल राजभण्डारी उक्त विवादपछि मोबाइल बन्द गरेर बसेका छन् । प्रहरीले पनि यो विषयका बारेमा औपचारिक जानकारी दिएको छैन । जसका कारण घटना थप रहस्यमय बनेको छ ।

मेयर पराजुलीले भने आफूमाथि निराधार आरोप लगाइएको भन्दै खोप लगाएको प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । स्थानीयवासीका अनुसार मेयर पराजुलीलाई आफ्ना समर्थक मात्र बोलाएर सुटुक्क खोप दिएको भन्दै बुधबार राति सवा ९ बजे विराटनगरको मुनाल पथबाट स्थानीय युवाले लखेटेका थिए ।

विमल राजभण्डारीका घरमा मेयर सहितको टोली भेरोसेल खोप वितरणका लागि पुगेको बताइन्छ । रातको समयमा स्थानीयको घरमा आफ्ना आसेपासेलाई मात्र खोप लगाइरहेको भन्ने हल्ला फैलिएपछि मेयरसहितको टोलीलाई स्थानीय युवाले लखेटेको स्थानीयवासी प्रवीण निरौला भारद्वाजले बताए ।

भारद्वाजका अनुसार काँग्रेसका बुथ सभापति विमल राजभण्डारीको घरमा टोलका करिब ६० जना समर्थकलाई बोलाएर सुटुक्क खोप लगाउने कार्यक्रम थियो । होहल्ला हुनुअघि करिब १५ देखि २० जनाले खोप लगाइसकेको बताइएको छ ।

खोप कार्यक्रमका लागि मेयर पराजुलीका साथै काँग्रेस विराटनगर महानगर समितिका कार्यवाहक सभापति अरुण न्यौपाने र उपसभापति प्रवीण जोशी पनि राति त्यहाँ उपस्थित रहेको स्थानीयवासीको भनाइ छ । वरपरका युवा र महिला त्यहाँ जम्मा भएर होहल्ला गर्न थालपछि महानगर प्रमुख पराजुली र उनको समूह गाडी चढेर भागेको स्थानीयवासी बताउँछन् ।

खोपको विषयमा विवाद भइ स्थानीयवासीले होहल्ला गरेपछि प्रहरीको टोली राति नै सो क्षेत्रमा पुगेको थियो । वडा कार्यालयको प्रहरीको टोली उक्त क्षेत्रमा पुगे पनि घटनाका बारेमा प्रहरीले केही बताउन चाहेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले घटना पश्चात वडाबाट प्रहरी घटनास्थल गएकाले त्यस विषयमा वडाका इन्चार्ज एवं डिएसपी दिपक कार्कीलाई यसबारे सोध्न आग्रह गरे ।

वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक दिपक कार्कीले भने घटनाको बारेमा सबै रिपोर्ट जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइएकाले त्यसबारेमा जिल्ला प्रहरी प्रवक्तामार्फत जानकारी लिन आग्रह गरे । ‘हामीले घटनाको सम्पूर्ण जानकारीको रिपोर्ट जिल्लामा जाहेर गरिसकेका छौं,’ प्रहरी नायव उपरीक्षक कार्कीले भने, ‘यो विषयमा मैले बोल्न मिल्दैन ।’ काँग्रेसका स्थानीय कार्यकर्ता दिपक चापागाईँले मेयरको काम लज्जास्पद रहेको बताउँदै व्यक्तिको घरमा खोप लगाउने कार्यक्रम सरासर गलत भएको बताए । उनले घटनाको छानविन गरी संलग्नलाई कारवाहीको माग गरेका छन् ।

मेयरलाई कारवाहीको माग गर्ने चापागाईँ नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा विराटनगर महानगरपालिकाको नगर सभापतिको उम्मेदवारीको तयारीमा छन् । मेयर पराजुलीले भने आफु घटनास्थलमा नगएको र कसैलाई खोप नदिएको दाबी गरेका छन् । काँग्रेसको चुनाव नजिक आएकोले आफ्नो बदनाम गर्न खोपको फन्डा बनाएर गलत प्रचार गरिएको उनको दाबी छ ।

नगर सभापतिको दौडमा रहेका चौलागाईंलाई आफूले समर्थन नगरेकाले उनले आफूमाथि यस्तो आरोप लगाएको मेयर पराजुलीको भनाइ छ । उनले महानगरले  खोप सबै वडामा लगाइरहेकाले लुकेर राति कसैको घरमा खोप लगाउनुपर्ने अवस्था नरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप