बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संक्रमणको तेस्रो लहरबाट बालबालिकालाई बचाउने तयारीमा जुटौँ : सांसद

बिहीबार, १४ साउन २०७८, १८ : ०९
बिहीबार, १४ साउन २०७८

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिमा बोल्दै सांसदहरुले कोभिड–१९ संक्रमणको तेस्रो लहरबाट बालबालिकाहरूलाई बचाउने तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् । सांसदहरुले समितिको बिहीबारको बैठकमा बोल्दै तेस्रो संक्रमणको जोखिमबाट महिला तथा बालबालिकाहरूलाई बचाउने तयारीमा जुट्न जोड दिएका हुन् । समितिकी सदस्य दुर्गाकुमारी विश्वकर्माले कोरोनाको तेस्रो लहरबाट बच्न सरकारी अस्पतालमा भेन्टिलेटर र आइसीयू पर्याप्त नभएको भन्दै स्वास्थ्य क्षेत्रमा पहिलो बजेट छुट्याएर काम गर्नुपर्ने बताइन् ।

सदस्य विश्वकर्माले भनिन्, “कोरोनाको तेस्रो लहरको वेभ आउने नै हो भने, सरकारी अस्पतालमा भेन्टिलेटर र आइसीयुको पर्याप्त व्यवस्था गर्नुपर्यो, यसमा सरकारले पहिलो बजेट नै स्वास्थ्य क्षेत्रलाई छुट्याएर काम गर्नुपर्दछ, साथै स्वास्थ्य मन्त्रालयले त्यसलाई व्यवस्थित र अनुगमन गर्नुपर्छ ।”

त्यसैगरी समितिकी सदस्य हिरा गुरुङले कोरोनाको तेस्रो लहर बालबालिकामा आउने भनिएकाले पर्याप्त मात्रामा पूर्वतयारीमा लाग्नुपर्नेमा जोड दिइन् । उनले बालबालिकालाई तेस्रो लहरबाट जोगाउने र बालबालिका प्रभावित बन्ने भनिरहेको भन्दै यसको पर्याप्त तयारीमा लाग्न र स्वास्थ्य मन्त्रालय संवेदनशील भएर काम गर्नुपर्ने बताए ।

उनले भनिन्, “कोरोनाको तेस्रो लहर बालबालिकामा आउने भनेका छौँ, बालबालिकालाई कसर जोगाउने भनेका छौँ, तर यसमा पर्याप्त मात्रामा हामीले पूर्वतयारी गर्न सकेका छैनौँ, यस विषयमा स्वास्थ्य मन्त्रालयले छलफलमा जुटेर एकदमै संवेदनशील बनोस् ।”

समितिमा राष्ट्रिय बालअधिकार परिषद्का प्रमुख मिलन घलेले संस्थाले कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई बालमैत्री क्वारेन्टाइन र आइसोलेशन सेवा बिस्तार गर्न आग्रह गरे । उनले कोरोनाको तेस्रो लहरको जोखिमबाट बालबालिकाको स्वास्थ्य जोगाउन संस्थाले ५१५ वटा स्थानीय तहसँग भर्चुअल माध्यमबाट अन्तरक्रिया गरेर प्राविधिक सहायता उपलब्ध गराइरहेको पनि जानकारी गराए ।

उनले भने, “हामीले ५१५ वटा स्थानीय तहसँग भर्चुअल माध्यमबाट अन्तरक्रिया गरेर बालमैत्री क्वारेन्टाइन, आइसोलेशन, बालबालिकाको स्वास्थ्य सेवा लगायत बालबालिका संरक्षणका लागि उक्त क्षेत्रमा प्राविधिक सहयोग गरिरहेका छौँ ।”

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले सरकार कोरोनाको तेस्रो लहरले बालबालिकालाई असर गर्छ भनेर सरकार चिन्तित रहेको बताए । तर लहरले कसलाई बढी चिन्तित गर्छ भनेर यकिन भन्न नसक्ने बताए ।

उनले भने, “बालबालिकालाई असर गर्छ भने चिन्तित छौँ तर हामीले यो वेभले कसलाई धेरै असर गर्छ भनेर यकिन भन्न सकिरहेका छैनौँ, त्यसैले आजभन्दा डेढ महिनाअघि बालबालिकालाई असर गर्दछ भन्ने समाचारले डर पैदा गर्यो तर अहिलेको अवस्था हेर्दा जुन उमेरका मानिसलाई पनि असर गर्न सक्छ भनेको छ, एउटा राम्रो कुरा बालबालिकालाई यसले असर गर्ने सम्भावना कम छ भनेको छ, बालबालिकाको इम्युनिटी कारण कोरोनाले केही असर गरे पनि मृत्युमै लैजाने हुँदैन ।”

उनले भदौ भित्रमा देशभर २३० वटा भेन्टिलेटर थपेको जानकारी दिए । सचिव पोखरेलले कान्ति बाल अस्पतालमा तेस्रो लहरको जोखिमबाट बच्नका लागि ५० वटा भेन्टिलेटर थप गरेको र विभिन्न प्रादेशिक अस्पतालमा ५–१० वटा भेन्टिलेटर थप्दै जाने गरी २३० वटा भेन्टिलेटर थप गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप