शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पावर सेयरिङ र मन्त्री छनोटका लागि गठबन्धनका नेताहरु गोप्य छलफलमा

बिहीबार, १४ साउन २०७८, १० : ४३
बिहीबार, १४ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरुलाई मन्त्रालय र मन्त्री छनोटको जिम्मेवारी दिएका छन् । बिहीबार विहान माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डसँग छलफल गरेका प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरु बसेर पावर सेयरिङ मिलाउन भनेका छन् ।

त्यसका लागि काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र महामन्त्री पूर्णबहादुर खड्कालाई खटाएका छन् । यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी तथा जनता समाजवादी पार्टी (जसपा)बाट उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईबीच गोप्य वार्ता भइरहेको छ ।

नयाँ बानेश्वर आसपासमा गठबन्धनका नेताहरुबीच गोप्य वार्ता भइरहेको बालुवाटार स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । पावर सेयरिङमा उनीहरुबीच सहमति भए आजै मन्त्रिपरिषद विस्तार हुने स्रोतको भनाइ छ । काँग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्रालयमा दाबी गरेको छ । यस्तै माओवादी केन्द्रले सात र जसपाले ६ मन्त्रालय पाउनुपर्ने अडान राखेको बुझिएको छ ।

​एमालेका वरिष्ठ नेता माधव नेपालले केही दिन आफ्नो पक्षमा नाममा मन्त्रालय बाँकी राखिदिन आग्रह गरेकाले पनि काँग्रेस, माओवादी र जसपाबीच पावर सेयरिङमा कुरा मिल्न सकेको छैन । स्रोतका अनुसार नेपाल पक्षलाई कत्तिमा ६ मन्त्रालय छोड्नुपर्ने परिस्थिति छ । यस्तो अवस्थामा कसरी पावर सेयरिङ मिलाउने भन्नेमा काँग्रेस, माओवादी र जसपा नेता सकसमा परेका छन् । पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै देखिएपछि नेताहरु गोप्य रुपमा बैठक बसेर मन्त्रालय र मन्त्रीको टुंगो लगाउन जुटेको बुझिएको छ । 

काँग्रेसमा संस्थापनबाट सचेतक पुष्पा भुसाल, डा. नारायण खड्का, डा. डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुर लामा, मानबहादुर विश्वकर्मासहितका नेताहरूले  मन्त्रीका लागि दाबी गरेका छन् । यस्तै पौडेल पक्षबाट, सुजाता कोइराला, दिलेन्द्र बडू मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीले लबिङ गरिरहेका छन् । सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान मन्त्री बन्ने लाइनमा देखिन्छन् ।

यता माओवादीबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव, लगायतले लबिङ गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप