शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : समितिमा परमादेशको बात, सर्वोच्चको आदेश नआउँदा महन्थलाई तनाव

आइतबार, १० साउन २०७८, २० : ५५
आइतबार, १० साउन २०७८

आज २०७८ साउन १० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा महन्थ ठाकुरको रिट निवेदनमाथि सर्वोच्चले दिएन अन्तरिम आदेश, ओली पक्षका सांसदले ‘परमादेश’ को कुरा गरेपछि संसदीय समितिमा बबाल, देउवाले निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठलाई बनाए स्वास्थ्य राज्यमन्त्री, माधव नेपालप्रति ओली आक्रामक, अन्य नेताहरुलाई पार्टीमा फर्कन आह्वान, भीम रावलको प्रश्न ः एमालेभित्र सहमति भइसक्यो, अब के को विवाद ? लगायत छन् ।

१. जसपाको आधिकारिकता कसले पाउला ? महन्थ ठाकुरको रिट निवेदनमा आएन अन्तरिम आदेश

जनता समाजवादी पार्टी नेपालको आधिकारिकता कसले पाउला भन्नेमा चासो बढेको छ । सोमबार निर्वाचन आयोगले सो पार्टीका केन्द्रिय कार्यकारिणी समितिका सदस्यहरुको ‘हेड काउन्ट’ गर्ने भएको छ । उपेन्द्र यादव पक्षका कार्यकारिणी समितिका सदस्यहरु आइतबारदेखि रिसोर्टमा बसेका छन् । उक्त प्रक्रियालाई चुनौती दिँदै पार्टीका अध्यक्ष महन्थ ठाकुरद्वारा सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथि इजलासले आइतबार अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको छ ।

२. ओली पक्षका सांसदले ‘परमादेश’ को कुरा गरेपछि संसदीय समितिमा बबाल

आइतबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्व मन्त्री तथा नेकपाको ओली पक्षीय सांसद नारदमुनि रानाले वर्तमान संसद् र सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको बताएपछि केहीबेर निकै हो–हल्ला भयो । समितिको बैठकमा सहभागी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सांसद रानालाई ‘प्रतिगमनको मतियार बनेको’ भन्दै बैठक कक्षबाटै बाहिरिन सुझाव दिएका थिए । काँग्रेस, माओवादी केन्द्रका सांसदहरुले पनि एमाले सांसद रानाको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

३. देउवाले निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठलाई बनाए स्वास्थ्य राज्यमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी छन् । निजी विद्यालयका सञ्चालकसमेत रहेका श्रेष्ठले आफूले कोरोना महामारीको तेस्रो लहर सामना गर्न खोप लगायत पूर्व तयारीलाई प्राथमिकता दिने बताए ।

४. माधव नेपालप्रति ओली आक्रामक, अन्य नेताहरुलाई पार्टीमा फर्कन आह्वान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति कटाक्ष अभिव्यक्ति जारी राखेका छन् । आइतबार ओलीले अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै नेता नेपालप्रति कटाक्ष गरेका हुन् । उनले माधवकुमार नेपालको पक्षमा रहेका अन्य नेतालाई भने पार्टीमा फर्कन र एकतावद्ध हुन आह्वान गरे ।

५. भीम रावलको प्रश्न : एमालेभित्र सहमति भइसक्यो, अब के को विवाद ?

नेकपा एमालेका नेता भीम रावलले एमालेभित्र सहमति भइसकेको दावी गरेका छन् । एमालेको पूर्व कार्यदलका सदस्य तथा सांसदलाई आइतबार सम्बोधन गर्दै उनले २०७५ जेठ २ को अवस्थामा जाने भनिसकेपछि सबै विवाद समाधान भएको दावी गरे । आइतबार नै माधव पक्षका स्थायी कमिटीका सदस्यहरुको बैठकमा कार्यदलको १० बुँदे प्रस्तावबारे सामान्य छलफल भएको छ ।


६. वायुसेवा निगमको निजीकरण प्रक्रिया अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको निजीकरणको प्रक्रिया अघि नबढाउन आइतबार अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

७. नेपाली फुटबल टोलीका प्रशिक्षकद्वारा राजीनामा घोषणा

नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण आफू राजीनामाका लागि बाध्य भएको सामाजिक सञ्जालमार्फत खुलासा गरेका छन् ।

८. निर्मला पन्त हत्या प्रकरणको तीन वर्ष : अझै टुङ्गिएन अनुसन्धान

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पुगेको छ । तर प्रहरी सो घटनाका अपराधी पत्ता लगाउन अझै असफल देखिएको छ । यद्यपि प्रहरीको विभिन्न टोलीले अहिले पनि घटनाको अनुसन्धानलाई जारी राखेको बताइएको छ ।

९. दुई हजार २३७ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार २३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने दुई हजार ५० जना संक्रमणमुक्त भएका छन् ।


१०. काठमाडौंमा थपियो निषेधाज्ञा

कोरोना संक्रमण दर बढ्दै गएका कारण काठमाडौंमा साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा थप गरिएको जनाएको हो ।

११. र, यो पनि

विभिन्न माग राख्दै सडकमा उत्रिएका यातायात व्यवसायीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सार्वजनिक सवारी साधनको साँचो बुझाएका छन् ।

विवेकशील साझा पार्टीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाललाई दिइएको उपचार खर्चको विवरणबारे सूचना माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा निवेदन दर्ता गराएको छ ।

नेपाल मेडिकल काउन्सिलको परीक्षामा अनुत्तिर्ण भएका ललितपुर निवासी विजयश्याम रंजितलाई प्रहरीले कीर्ते आरोपमा पक्राउ गरेको छ ।

केन्द्रीय सुरक्षा समितिको आइतबार बसेको बैठकले कोभिड–१९ को तेस्रो लहर बढ्ने सम्भावना उच्च रहेको भन्दै त्यसको तयारीमा जुट्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप