शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

संसदीय समितिमा माधव नेपालले भने– पुनर्जीवित भएर आएका छौँ, प्रभावकारी ढङ्गले काम गरौँ

आइतबार, १० साउन २०७८, १३ : ००
आइतबार, १० साउन २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद फेरि पुनःस्थापना गर्न सफल भएकोमा त्यसका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन् । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध  समितिको संसद पुनःस्थापनापछिको पहिलो बैठकमा बोल्दै नेता नेपालले संसद पुनःस्थापनाका कारण सबैको भेट भएकोमा खुसी ब्यक्त गरे । 

उनले भने, ‘हामी सबैलाई मर्नबाट जोगाइएको छ, संसद फेरि पुनर्जीवित भएका छौं । हामी सबैलाई बधाई छ, हामी एउटा सङ्घर्षबाट सफल भएर भेट भएका छौं । संसद पुनःस्थापना नभएको भए हामी कारोना फैलाउँदै, आफू पनि संक्रमित हुँदै भोट माग्न गाउँ जानुपर्ने अवस्था हुन्थ्यो, त्यसको हामीले अन्त गरेका छौं । अब संसदलाई प्रभावकारी बनाएर लैजानुपर्नेछ।’

नेता नेपालले नयाँ सरकार बनेको र यो सरकारले हिजोको सरकारका नराम्रा कुराबाट सिकेर अघि बढ्नुपर्नेमा जोड दिए ।  सरकारले पूर्णता पाइनसकेको बताउँदै उनले सरकार पूर्ण भइसकेपछि समितिले गरेका निर्णयहरू कार्यान्वयन भएको छ कि छैन त्यसबारे क्रियाशील हुनुपर्ने बताए । 

उनले यसबारे संबन्धित मन्त्रीलाई भन्नुपर्ने, कर्मचारीतन्त्रलाई पनि सम्झाउनुपर्ने बताए ।  उनले आवश्यकता अनुसार नेपालको परराष्ट्र नीति परिवर्तन गर्नुपर्नेमा जोड दिए । साथै समितिको बैठकलाई प्रभावकारी बनाउन नियमित रूपमा बैठक सञ्चालन गर्न, विषय विज्ञसँग छलफल गर्न र बैठकमा नियमित रूपमा सहभागी हुन सांसदहरूलाई आग्रह पनि गरे ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप