निर्मला पन्त प्रकरण : कहाँ रोकियो नेपाल प्रहरीको इतिहासकै महँगो अनुसन्धान ?
आज साउन १० गते । २०७५ साल साउन १० गते उल्टाखाम, महेन्द्रनगरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो । घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । पोष्टमार्टम रिपोर्टले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको थियो ।
२०७५ साल साउन १० गते भएको घटनाको आइतबार ३ वर्ष पुगेको छ । तर, घटना भएको तीन वर्ष पूरा हुँदा पनि यस अपराधमा संलग्न अपराधी भने पत्ता लाग्न सकेको छैन ।
तीन वर्षको अवधिमा नेपाल प्रहरीले धेरै जनशक्ति र धनराशीको खर्च पनि गरेको छ । तर, पनि यो अपराधको गुत्थी केलाउन प्रहरी असफल नै भएको छ ।
निर्मला प्रकरणमा के–के भयो ?
नेपाल प्रहरीको इतिहासमै यो सबैभन्दा पेचिलो, खर्चिलो र टाउको दुखाइएको अनुसन्धान हो । घटनाको लगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो, (सिआइबी) लगायतका स्थानबाट प्रहरी अधिकारी पुगेर अनुसन्धान गर्दा पनि पत्ता लाग्न नसकेको यो घटनामा प्रहरी सङ्गठनले नै सबैभन्दा धेरै क्षति बेहोरेको छ ।
घटनाको २५ दिनमा अभियुक्त भन्दै सार्वजनिक गरिएका स्थानीय मानसिक रोगी दिलिपसिंह विष्टको डीएनए नमिलेपछि घटनाको अनुसन्धान झनै पेचिलो र तनावपूर्ण बन्दै गयो । त्यसपछि पनि स्थानीय दुई युवालाई पक्राउ गरेर अनुसन्धान गरियो र उनीहरूले पनि आफ्नो अपराध स्वीकार गरेको बताइयो । तर, उनीहरूको पनि डीएनए म्याच नभएपछि उनीहरूलाई पनि छाडियो ।
कहिले प्रहरीले नै अपराधीलाई लुकाएको आरोप लाग्यो भने कहिले प्रहरी अधिकारी नै घटनामा संलग्न भन्दै बहालवाला प्रहरी अधिकारीकै डीएनए परीक्षणसम्म गराइयो । हरेक पाटोबाट अनुसन्धान गरिएको भए पनि यो अनुसन्धानको गुत्थी अझै सुल्झिन सकेको छैन ।
बहालवाला एसपीसहित ९५ बढीको डीएनए परीक्षण
निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा हालसम्म झन्डै एक सय जनाको डीएनए परीक्षण गरिसकिएको छ । केहीको प्रत्यक्षरुपमा त केहीको अप्रतक्षरुपमा डीएनए लिएर यति धेरै सङ्ख्यामा डीएनए परीक्षण गरिएपनि उनीहरू कसैको पनि डीएनए म्याचिङ हुन सकेको छैन ।
निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा अनेकन आरोप खेपेको प्रहरीले आफ्नै बहालवाला प्रहरी अधिकारीको समेत डीएनए टेस्ट गरायो । प्रहरी अनुसन्धानमा लापरबाही गरेको मात्रै होइन, घटनामा आफैँ संलग्न हुन सक्ने भन्दै कञ्चनपुरका बहालवाला एसपी दिल्लीराज विष्टको समेत डीएनए टेस्ट गराइयो । विष्टसँगै उनका छोराको समेत डीएनए टेस्ट गराइएको छ ।
यो प्रकरणमा प्रहरीले ९५ जनाभन्दा बढीको डीएनए टेस्ट गराइसकेको छ । तर, पनि निर्मलाको शरीरबाट लिइएको भजाइनल स्वाबसँग म्याच हुन सकेको छैन । जसका कारण घटनामा यही व्यक्ति संलग्न हो भनेर सार्वजनिक गर्न सक्ने हैसियत प्रहरीसँग छैन ।
प्रहरी कर्मचारीमाथि नै कारबाही
निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गर्न सहयोग गरेको, सही ढङ्गले अनुसन्धान नगरेको लगायतमा सार्वजनिक न्यायविरुद्धको कसुरमा बहालवाला एसपीसहित ८ जनालाई मुद्दा चलाइयो । निर्मला प्रकरणमा बहालवाला एसपी दिल्लीराज विष्ट, डिएसपीहरू अङ्गुर जिसी र ज्ञान बहादुर सेठी, इन्स्पेक्टरहरू जगदीश भट्ट र एकेन्द्र खड्का, सईहरू रामसिंह धामी, हरिसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदविरुद्ध मुद्दा दायर गरियो । उनीहरूमध्ये एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई त जागिरबाटै बर्खास्तसमेत गरियो ।
घटनामा प्रहरीको भूमिकाको सम्बन्धमा अनुसन्धान गर्न बनेको एआइजी धिरु बस्न्यात नेतृत्वको टोलीले दिएको प्रतिवेदनका आधारमा प्रहरी अधिकारीमाथि कारबाही गरिएको थियो । पछि अदालतबाट उनीहरू सबैले सफाइ पाएपछि हाल सेवामा फर्किइसकेका छन् ।
महङ्गो अनुसन्धान
निर्मला पन्त बलात्कार र हत्या प्रकरण नेपाल प्रहरीको इतिहासकै सबैभन्दा खर्चिलो अनुसन्धान हो । नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवर यो अनुसन्धान जनशक्ति र आर्थिक हिसाबले सबैभन्दा खर्चिलो भएको स्वीकार गर्छन् ।
हालसम्म कति खर्च भयो भन्ने यकिन नभए पनि अनुसन्धानमा प्रहरीले आफ्नो जनशक्ति र खर्चका हिसाबले धेरै खर्च गरेको स्वीकार गर्छन् ।
३ वर्षदेखि सीआईबीको टोली घटनाको अनुसन्धानमा
निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको गुत्थी केलाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली ती वर्षदेखि नै घटनास्थलमा खटिएको छ । डिएसपीको नेतृत्वमा सीआईबीको टोली तीन वर्षदेखि घटनाको अनुसन्धानका लागि घटनास्थलमा खटिएको छ । प्रहरी कर्मचारी परिवर्तन भए पनि सीआईबीको टोलीले घटनास्थल छाडेको छैन ।
अनुसन्धानका लागि तीन समूह ‘स्ट्याण्डबाई’
निर्मला प्रकरणको गुत्थी पहिल्याउन भन्दै प्रहरीको तीन समूह अहिले पनि घटनाको अनुसन्धानका लागि घटनास्थलमा रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोको अलावा प्रदेश प्रहरी कार्यालयबाट एक अनुसन्धान टोलीले काम गरिरहेको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट पनि सिभिलमा एक टोली खटिएर काम गरिहरेको छ । त्यसबाहेक महिला प्रहरीको छुट्टै टोली पनि घटनाको अनुसन्धानका लागि खटिएको छ ।
भासी ‘कनेक्सन’ र अहिलेसम्मको अनुसन्धान
प्रहरीले निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान गरिरहेको छ । प्रहरीले निर्मलाका सहपाठी, आफन्त, स्थानीय व्यक्ति, नजिकका विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारी, त्यही बाटो भएर हिँडडुल गर्ने व्यक्ति, निर्मलाकै किशोरी साथी आदि सबै विषयमा अनुसन्धान गरिरहेको छ ।
निर्मला पन्तको घर उल्टाखाम भए पनि उनी भासीमा रहेको सौतेनी आमाको घर पनि पटक–पटक जाने गरेकी थिइन् । बुवाले कान्छी आमा ल्याएपछि बुवा र कान्छी आमा भासीमा गएर बस्ने गरेका थिए । उनी भासीमा पनि पटक–पटक जाने गरेको कारणले प्रहरीले भासीलाई केन्द्रमा राखेर अनुसन्धानका धेरै काम गरेको पाइएको छ । तर, बलात्कार र हत्यामा ‘भासी कनेक्सन’ खोजेको प्रहरीले हालसम्म कुनै सफलता पाउन सकेको छैन ।
स्थानीयमाथि आशङ्का
प्रहरी अनुसन्धानको अर्को पाटो स्थानीय युवा र अधबैँसे पुरुषप्रति केन्द्रित थियो । त्यही कारणले पनि प्रहरीले त्यहाँका अधिकांश युवा र अधबैँसे पुरुषको डीएनएको नमुना सङ्कलन गरेको थियो । त्यो बाहेक ह्युमन इण्टिलिजेन्सको प्रयोग गरेर स्थानीयमाथि केरकार र अनुसन्धान पनि गरेको थियो ।
तर, अनुसन्धानको यो पाटोले पनि सफलता पाउन सकेन । किनभने, हालसम्म कुनै पनि व्यक्तिको डीएनए म्याच हुन सकेको छैन ।
कुनै समय चर्चाको विषयमा रहेको अम्बाको बोट र स्थानीय दुई किशोरीको सम्बन्धमा पनि प्रहरीले लामो अनुसन्धान गरेको थियो । तर, अम्बाको बोट र दुई किशोरीको सम्बन्धमा गरिएको अनुसन्धानले पनि अपराधमा कनेक्सन पाउन सकेन ।
साइकल राखिएको कि फालिएको ?
निर्मला पन्तको बलात्कार र हत्या सम्बन्धमा लामो समयदेखि अनुसन्धान गरिरहेका एक अनुसन्धान अधिकृत खोलामा भेटिएको साइकल कसैले फालेको नभएर राखेको समेत हुनसक्ने बताउँछन् । ती अनुसन्धान अधिकृत भन्छन्, ‘एउटा पाटो के पनि छ भने त्यो साइकल कसैले फालेको नभई खोलामै लुकाएर राखिएको पनि हुनसक्छ । दुई व्यक्तिले सल्लाह गरेर खोलामै साइकल राखेर उखुबारीमा गएको पनि हुनसक्छ । तर यो हाम्रो शङ्का मात्रै हो, यही हो वा हुनसक्छ भन्ने अवस्था छैन ।’
‘अपराधीलाई उखुबारीमा रहेको स्थानबारे जानकारी थियो’
घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार अपराधमा संलग्न व्यक्तिलाई उखुबारीमा रहेको त्यो स्थानबारे पूर्व जानकारी रहेको थियो । किनभने, उखुबारीमा अन्य स्थानमा सम्म परेको स्थान अन्त कहीँ पनि थिएन ।
उखुबारीमा जाँदा पनि निहुरिएर जानुपर्ने भए पनि त्यस स्थानमा पहिले नै समभर भूभाग रहेको थियो । यसको अर्थ उक्त स्थानमा यसअघि नै अपराधीले कोही कसैलाई सहमतिमै वा जबरजस्ती करणी गरेको हुनसक्ने प्रहरी अधिकारीको आशङ्का छ । त्यस दृष्टिकोणले पनि अपराध गर्ने पुरुषलाई उक्त स्थानबारे सो भन्दा पहिले नै जानकारी थियो भन्ने प्रहरीको निष्कर्ष थियो ।
निर्मलाका साथीमाथि नजर
निर्मलाको उमेर भर्खरै १३ वर्ष भए पनि निर्मलाका केही साथीहरू १५÷१६ वर्षका थिए । निर्मला सहर जाँदा उनले भेटिरहने ती साथीहरूको व्यवहारमाथि पनि प्रहरीले नजर लगाइरहेको अनुसन्धानमा क्रममा खुलेको एक अनुसन्धान अधिकृतले बताए । सहरमा बस्ने निर्मलाका साथीहरूको चरित्र र गतिविधिलाई हेरेर निर्मलाका सम्बन्धमा केही पत्तो लगाउने प्रयास भइरहेको ती अनुसन्धान अधिकारी बताउँछन् । अर्थात्, यो पाटोबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रातो टाई लगाएका केटाहरू !
घटनाको अनुसन्धानका क्रममा प्रहरीलाई एउटा सूचना आयो, दुई जना रातो टाई लगाएका केटाहरू उक्त दिन घटनास्थल नजिकै देखिएका थिए । कक्षा ९ देखि कक्षा १२ सम्म पढ्ने उमेरका दुई किशोरहरू घटनास्थल नजिकै देखिएको सूचना पाएपछि प्रहरीले रातो टाई लगाउने नजिकका केही निजी विद्यालय र प्लस टु कलेजको रेकी गरेको थियो । केही विद्यालयका विद्यार्थी तथा शिक्षकसँग पनि सोधपुछ गरिएको थियो । तर ‘रातो टाई’ले पनि खासै सफलता पाउन सकेन ।
घटनास्थलमा भेटिएको कलम
अनुसन्धानको एउटा पाटो घटनास्थलमा भेटिएको एउटा कलममा पनि केन्द्रित थियो । घटनास्थलमा भेटिएको एउटा कलम जो निर्मलाले बोक्ने प्रकृतिको थिएन । निर्मलाले सधंै ५ रुपैयाँ पर्ने डटपेन प्रयोग गर्ने गरेकोमा घटनास्थलमा एउटा महङ्गो कलम पनि भेटिएको थियो । उक्त कलम विद्यालयका शिक्षक, बोर्डिङ स्कुलका विद्यार्थी, सरकारी कर्मचारी आदिको हुन सक्ने भन्दै उक्त कलमको कनेक्सन खोज्ने काम पनि प्रहरीले गर्यो । तर, त्यो कलमको कनेक्सन पनि प्रहरीले पाउन सकेन । बरु उक्त कलम खोलाले बगाएर ल्याएको हुनसक्ने भन्दै त्यस विषयमा अनुसन्धान नै गर्न छाडियो ।
अहिले पनि प्रहरीले अर्को दुई–तीनवटा पाटोबाट अनुसन्धान गरिरहेको छ । प्रहरीले शङ्का गर्ने दुई तीनवटा पाटो भए पनि अहिले नै त्यसबारे केही बोल्न नसकिने ती अधिकारीले बताए । शङ्कित व्यक्तिबारे केही सूचना बाहिरिँदा अनुसन्धानमा असर गर्ने भन्दै यसबारेमा सम्भवतः दशैंतिर केही थप खुल्न सक्ने बताए ।
चिनजानकै व्यक्तिमाथि निगरानी
अनुसनधानमा संलग्न प्रहरी अधिकारी अपराधमा चिनजानकै व्यक्तिको संलग्नता रहेको दाबी गरिरहेका छन् । बलात्कार र हत्याका अधिकांश घटनामा आफन्त र चिनजानकै व्यक्तिको संलग्नता रहेको पाइएको भन्दै उक्त घटनामा पनि आफन्त वा स्थानीय व्यक्तिकै संलग्नता रहेको हुनसक्ने प्रहरीको निष्कर्ष छ । तर, त्यो पाटोलाई पुष्टि गर्ने आधार नभएसम्म अहिले आशङ्का गरेर त्यही पाटोबाट अनुसन्धान गर्नुपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ ।
डीएनए म्याचिङको सम्भावना कति ?
राष्ट्रिय मानव अधिकार आयोग र सरकारले गठन गरेको विज्ञ समूहले निर्मला प्रकरणमा डीएनएको मात्रै भर परेमा नतिजा निस्कन कठिन हुने निष्कर्ष सुनाएका थिए । राष्ट्रिय मानव अधिकार आयोगले पूर्व नायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा पूर्वएआइजी विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती, डिएनए विशेषज्ञ डा. दिनेश झा र आयोगका अनुसन्धान अधिकृत रहेको समिति गठन गरेको थियो ।
उक्त समितिले दिएको प्रतिवेदनमा भनिएको छ, ‘डीएनए परीक्षणका लागि भजाइनल स्वाब लगायतका नमुना सङ्कलन गर्दा सिन्कोमा बेरिएको कपासबाट गरिएकोमा यस्तो सङ्कलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न सकिने अवस्था छैन । यसरी सङ्कलन गरी टेस्टट्युबमा राख्दा पर्याप्त मात्रामा डीएनए सङ्कलन नहुने र डीएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही आउन नसक्ने जस्ता समस्या रहेको पाइयो । मूलतः नमुना सङ्कलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो ।’
त्यसैगरी गृह मन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक जीवन रिजालको नेतृत्वमा विज्ञ समिति समेत गठन गरेर डीएनए प्रोफाइलिङका सम्बन्धमा अनुसन्धान गर्यो । सो समितिले पनि डीएनए कलेक्सनमा कैफियत देखिएको भन्दै अनुसन्धानमा डीएनए प्रविधि मात्रै प्रभावकारी नहुने निष्कर्ष निकालेको थियो ।
मृतकको शरीरबाट लिइएको डिएनए स्याम्पलमै अनुसन्धानका कर्मचारीको पसिनासमेत मिसावट भइसकेकाले अब डीएनए प्रविधिबाट अभियुक्त पत्ता लगाउन कठिन हुने निष्कर्ष थियो । विज्ञ टोलीको प्रतिवेदन र निष्कर्ष हेर्दा अब डीएनएको साहारा लिएरै अपराधी पत्ता लगाउने सम्भावना ज्यादै कम देखिन्छ ।
अनुसन्धान अधिकृतको दाबी, सही व्यक्तिको डीएनए लिइएकै छैन
घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारी भने प्रहरी अझै पनि वास्तविक अपराधीसम्म पुग्न नसकेका कारण डीएनए म्याचिङ नभएको बताउँछन् । अहिले पनि अनुसन्धान गरिरहेका ती अधिकारी भन्छन्, ‘डीएनएबाट म्याचिङ हुँदैन भनिहाल्ने अवस्था छैन । डीएनए स्याम्पल लिँदाको अवस्था हेर्दा त्यस्तो खराबजस्तो देखिँदैन । मलाई त के लाग्छ भने अझैसम्म पनि हामी वास्तविक अपराधीसम्म पुगेकै छैनौं, जसका कारण डीएनए मिलिरहेको छैन ।’
खोलामै खोजौं भन्ने को थिए ?
निर्मला पन्त हराएकै दिन आफन्त तथा गाउँलेहरुले खोजी सुरु गरे । विद्यालय नजिक, साथीको घरलगायतका सबै स्थानमा खोजी गर्दा निर्मलाकै नजिकका केहीले भने पटकपटक खोला वरिपरि नै खोज्नका लागि दबाव दिने र त्यहीँ खोजौं भनिरहेका थिए ।
अघिल्लो दिन राति खोला वरिपरि खोज्दा निर्मलालाई नभेटिएपछि भोलिपल्ट बिहानै उक्त समूह फेरि पनि खोला वरिपरि नै खोज्न निस्केको थियो । र, भोलिपल्ट बिहान खोला नजिकै रहेको उखुबारीमा निर्मलाको शव अर्धनग्न अवस्थामा भेटिएको थियो ।
प्रहरीले किन खोलामै खोजौं वा खोला वरिपरि नै खोजौं भनेर ती व्यक्ति(हरु)ले भनेका थिए भनेर त्यस पाटोलाई अझ बढी गम्भीर ढङ्गबाट हेरिरहेको बताएको छ ।
विश्वमा नसुल्झिएका अन्य हत्याकान्ड
जोन एफ केन्नडी
अमेरिकाका ३५ औं राष्ट्रपति जोन एफ केन्नडीको हत्या २२ नोभेम्बर १९६२ मा भएको थियो । चुनावी कार्यक्रमका क्रममा टेक्सान सिटीमा जाँदा उनलाई झन्डै एक बजेतिर टाउकोमा गोली प्रहार गरियो । धेरै अनुसन्धानहरु भए । तर कसले गोली प्रहार ग¥यो भन्ने अहिलेसम्म पत्ता लागेन । यो केस अझै बन्द भइसकेको छैन । मुख्य प्रश्न ः के अनुसन्धान अझै चलिरहेको छ ?’
ह्वाइटचापेल हत्याकाण्ड
सबैलाई थाहा छ, १८८८ मा लण्डनको ह्वाइटचापेल डिस्ट्रिकमा ज्याक द रिपर नामक सिरियल किलरले पाँच जना वा त्यसभन्दा बढी यौनकर्मीको हत्या गरेका थिए । तर, ‘ज्याक द रिपर’ को हुन् भन्ने कसैलाई थाहा छैन । यसबारे धेरैले धेरै अनुसन्धानहरु गरे । तर, हत्यारा को थिए भन्ने अहिलेसम्म खुलेन ।
ब्ल्याक डाल्लिया
१९४७ मा २२ वर्षकी एलिजावेथ सर्टको शरीर क्यार्लिफोनियाको लस एन्जलस शहरमा चोटपटकसहित दुई टुक्रा पारिएको अवस्थामा भेटियो, नजिकै रगतको खोलो बगिरहेको थियो । उनको कालो कपाल र पहिरनका कारण यी युवतीलाई मिडियाहरुले ‘ब्ल्याक डाल्लिया’ नाम दिए । यस घटनाबाट प्रेरित भएर हलिउडमा धेरै फिल्म बने, तर अहिलेसम्म पनि हत्याको रहस्या खुलेको छैन ।
मारिल्यान सेप्पर्ड
क्लिभल्यान्डका न्युरोसर्जन साम सेप्पर्डमाथि जुलाई १९५४ मा आफ्नी ३१ वर्षी गर्भवती श्रीमती मारिल्यान सेप्पर्डको हत्या गरेको अभियोग लाग्यो । हत्याको समय उनीहरुका ७ वर्षे छोरा अर्को कोठामा सुतेको बताइएको थियो । दोषी पाइएपछि सेप्पर्डले अमेरिकी सर्वोच्च अदालतमा अपिल गरे, अदालतले उनी माथिको अभियोग उल्ट्यायो । गैर न्यायिक रुपमा गरिउको अत्याधिक प्रचारवाजीले यो सुनुवाईलाई प्रभावित गरेको अदालतको ठहर थियो । अदालते फेरि सुनुवाई गर्न भन्यो र अर्को सुनुवाईमा सेप्पर्डले सफाई पाए । त्यसो भए, मारिल्यानको हत्या कसले ग¥यो ? यो प्रश्नको जवाफ आजसम्म पनि अनुत्तरित छ । सेप्पर्डले १९७० मा आफ्नो मृत्यु हुनअघिसम्म पनि श्रीमतीको हत्यारा पत्ता लगाउने उद्घोष गरिरहेका थिए । अहिले पनि उनको परिवारले यसलाई आफ्नो मिशन बनाएको छ ।
जोडियाक किलर
१९६८ देखि १९६९ को अवधिमा उत्तरी क्यालिफोर्नियामा पहिचान नखुलेका एक अपराधीले पाँच जनाको हत्या गरे । यसक्रममा उनको निशानामा परेका दुईजना घाइते पनि भएका थिए, तर उनीहरुले अपराधी पहिचान गर्न सकेनन् । यी अपराधीले आफ्नो स्वघोषित नाम ‘जोडियाक किलर’ जुराएका थिए । उनी, हत्याको जिम्मेवारी लिदैं स्थानीय पत्रपत्रिकाहरुलाई पत्र पठाउँथें । मृत्युपछि आवश्यक पर्ने दासहरु जम्मा गर्नका लागि आफुले ती व्यक्तिहरुको हत्या गरेको उनको दाबी थियो । अन्तिमपटक १९७८ मा उनले पत्रपत्रिकालाई नोट पठाएका थिए, तर यसको वैधानिकतालाई लिएर अझै बहस छ । जोडियाक किलर को हुन् ? यो रहस्य कहिल्यै खुलेन । केही अनुसन्धानकर्ताहरु जोडियाक किलर अझै क्यालिफोर्नियामा जीवित अवस्थामा हुनसक्ने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याजी आरोपमा प्रदीप मौर्य पक्राउ
-
३३ अंकले बढ्यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट
-
मूल्य घटसँगै सुन किन्नेको भिड, तस्बिरमा हेर्नुहोस्
-
चुडामणी शर्माको मुद्दामा सर्वोच्चले झिकायो विपक्षी
-
महेश पाण्डेको बयान : घुम्न जान्छु भनेपछि कञ्चन देवकोटालाई जापान पठाएको हुँ
-
छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा ल्याउनुपर्छ : मन्त्री पौडेल