बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको उपेन्द्र यादव पक्षीय कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखियो

आइतबार, १० साउन २०७८, १७ : ००
आइतबार, १० साउन २०७८

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिका सदस्यलाई रिसोर्टमा राखिएको छ । निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादमा सोमबार ‘हेड काउन्ट’ को आधारमा निर्णय सुनाउने भएपछि यादव पक्षीय कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखिएको हो । 

ललितपुरको गोदावरीस्थित रिसोर्टमा ३२ कार्यकारिणी सदस्य रहेको बताइएको छ । 
सो पार्टीका नेता इस्तियाक राईले गोदावरीमा कार्यकारिणी सदस्यसँग छलफल भइरहेको बताए । उनले प्रशिक्षणसहित समसामयिक विषयमा छलफलको उद्देश्यका साथ रिसोर्टमा बसिएको दावी गरे । 

यही बीच आयोगको निर्णयविरुद्ध जसपाको महन्थ ठाकुर पक्ष भने सर्वोच्च अदालत पुगेको छ । ठाकुरका लागि एक मात्र आशा सर्वोच्च अदालत बनेको छ । अब जसपामा रहने वा नरहने सर्वोच्च अदालतको आदेशमा भर पर्ने अध्यक्ष ठाकुरले बताएका छन् ।

निर्वाचन आयोगले  विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन आदेश दिएको थियो । 

जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप