शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रामकुमारी झाँक्री पक्राउको ५ घण्टा : चौतर्फी आलोचनापछि ‘ब्याक’ भयो ओली सरकार

बिहीबार, २९ माघ २०७७, १९ : २६
बिहीबार, २९ माघ २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गर्दै गरेको विवादित भाषणपछि पक्राउ परेकी नेकपा प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री अन्ततः रिहा भएकी छिन् । चौतर्फी विरोधपछि प्रहरीले साँझ नै उनलाई रिहा गरिदिएको हो ।  उनलाई प्रहरीले बिहीबार दिउँसो १ः१० बजेतिर बानेश्वरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो भने करिब ५ घण्टा हिरासतमा रहेपछि साँझ ६ः२० बजे रिहा गरिएको हो ।  

झाँक्रीलाई ‘सोधपुछ’ का लागि कार्यालयमा गइदिन आग्रह गर्दै प्रहरी उनको निवासमा पुगेदेखि नै नेकपाका कार्यकर्ताले नाराबाजी गरेका थिए । यस्तै झाँक्रीले पनि आफू कार्यालयमा त्यसै नजाने भन्दै पक्राउ पुर्जी खोजेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई ‘राज्यविरुद्धको कसुर अन्तर्गत दफा ५८’ को कसुर अन्तर्गतको अनुसन्धानको लागि भन्दै पक्राउ पुर्जी थमाएको थियो । 

पक्राउ पुर्जी थमाएसँगै दिउँसो १ः१० बजेतिर प्रहरीले पक्राउ गरेर महानगरीय अपराध अनुसन्धान महाशाखामा लगेर राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा झाँकीलाई पक्राउ गर्ने काम भएको भन्दै सामाजिक सञ्जालदेखि विभिन्न राजनीतिक दल र तीनका नेताले कडा आलोचना गर्दै रिहाइको माग गरेका थिए । 

यस्तै नेकपाका कार्यकर्ता उनको रिहाइको माग गर्दै सडकमै आए भने सो क्रममा प्रहरी र नेकपाका कार्यकर्ताबीच बानेश्वरमा झडप नै हुन पुग्यो । चौतर्फी आलोचना, दबाव र आगामी दिनमा थप आन्दोलन चर्किन सक्ने देखिएसँगै सरकार अप्ठ्यारोमा परेको थियो भने  नेकपाकै नेता सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतले महाशाखामै गएर प्रहरीसँग छलफल र सहजीकरण समेत गरेका थिए । 

स्रोतका अनुसार उनलाई प्रहरीको चाहनामा भन्दा पनि प्रधानमन्त्री केपी ओली र उनका सहयोगीहरुको जोडबलमा पक्राउ गरिएको हो । राजनीतिक विषयमा हात नहाल्ने मूडमा रहेको प्रहरी ओली, उनका सहयोगी र गृह मन्त्रालय समेतको निरन्तरको दवावपछि नै उनलाई पक्राउ गर्न निवाससम्म पुगेको थियो ।  तर पक्राउसँगै चौतर्फी आलोचना भएपछि उनलाई हिरासतमा राखिराख्न प्रहरीले चाहेको थिएन भने सोही कुरा बालुवाटार र सरकारी निकायले समेत ‘महसुस’ गरेपछि झाँक्रीलाई ५ घण्टामै रिहाइ गर्न सरकार बाध्य भएको हो । 

रिहा भएपनि नेत्री  झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिइन् । उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने पनि उद्घोष गरिन् । ‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ, बनाइन्छ’, रिहा भएपछि उनले भनिन् । 

महाशाखामा झाँक्रीले प्रहरीसँग भने आफ्नो राष्ट्रपति र सो संस्थाप्रति सम्मान रहेको बताएकी थिइन् । महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीले राष्ट्रपति र सो संस्थाप्रति सँधै सम्मान रहेको र आगामी दिनमा पनि रहने बताएको जानकारी दिए ।

उनका अनुसार झाँक्रीले संविधानले अभिव्यक्ति स्वन्त्रता दिएको हुनाले आफूले राष्ट्रपतिको आलोचना गर्दै भाषण गरेको बताएकी थिइन् । माघ १६ गते गोरखामा भएको एक कार्यक्रममा उनले ‘विद्या भण्डारीलाई सेतो साडीमा चुनाव लडाउनु गल्ती थियो’ भन्दै राष्ट्रपतिको कडा आलोचना गरेकी थिइन् । सो अभिव्यक्तिलाई लिएर ओली समूहका महिला नेत्रीहरुले आपत्ति जनाउँदै उनलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप