सहाना प्रधानको शिक्षासेवा
सहाना प्रधानले २००३ सालदेखि क्षेत्रपाटीको इखापोखरीमा कन्या मन्दिर स्कुल सञ्चालन गरेकी थिइन् । प्रारम्भमा सुकुल ओछ्याएर त्यहाँ पढाइने गरिन्थ्यो । उनले बिहे गर्नुअघिदेखि नै स्कुल पढाउन थालेकी थिइन् । अर्थात् २००२ सालदेखि नै उनले शान्ति निकुञ्जमा पढाउन थालेकी थिइन् ।
सहानाको सक्रियतामा डिल्लीबजारमा पद्मकन्या विद्याश्रम स्थापना भएको थियो । उनैको सक्रियतामा २००९ सालमा महिला प्रौढ स्कुलको स्थापना भएको थियो । त्यो स्कुल महिला सङ्घको कार्यालयमा स्थापना गरिएको थियो । पछि त्यसलाई सहाना प्रधानहरूकै मोतोमा अरुणोदय महिला विद्यालय भनेर नाउँ राखियो ।
बिहेपछि सहानाले पढाएको स्कुलमा उनका नन्द र देवर पनि पढ्थे । भनौँ, कक्षामा उनीहरूलाई पनि सहानाले नै पढाउनुपथ्र्यो । घरमा सहानाले कति काम भ्याएर स्कुल आइपुग्छिन् भन्ने बेहोरा उनका नन्द र देवरहरूले देखेका नै हुन्थे । मेरी भाउजूलाई धेरै गाह्रो छ भनेर उनका नन्द र देवरले उनलाई कहिले पनि सघाउने काम भने गरेका थिएनन् । त्यस विषयमा चित्त दुखाएर सहानाले सुशीला श्रेष्ठसँग भनेकी पनि थिइन्— ‘मेरा नन्द, देवरले मेरी भाउजूलाई स्कुल ढिलो होला सघाउनुपर्ला भनेर मेरो समस्या बुझिदिने काम गर्दैन थिए । सायद उनीहरूको भावनामा भाउजू त हो नि दल्नुपर्छ भन्ने लाग्थ्यो कि !’
सहाना प्रधानले २००७ सालदेखि कन्यामन्दिरमा पढाइन् । त्यस स्कुलको उनैद्वारा परिकल्पना भएको थियो । २०१० सालबाट उनी सीताराम हाईस्कुलमा पनि पढाउन थालिन् । त्यस स्कुलमा छात्रछात्रा नै पढ्थे । त्यहाँ उनले दस कक्षालाई पढाउने काम थियो । पहिलो दिन उनी विद्यार्थीलाई पढाउन खुरुखुरु कक्षामा पसिन् । उनी कक्षामा पस्नासाथ केटाहरूले चाहिँ कक्षा नै बहिष्कार गरेर हुरुरुरु कक्षाबाहिर निस्केका थिए । त्यतिन्जेलसम्म पनि त्यस स्कुलमा कुनै पनि गुरुआमाले पढाएका थिएनन् । त्यसैले नारीले पढाउन जान्दैनन् भनेर नै सहानाले पढाएको कक्षा उनीहरूले बहिस्कार गरेका थिए । त्यस स्कुलको कक्षा दसमा छ जनाचाहिँ केटी पनि थिए । त्यतिखेर सहानाले कुनै पनि प्रकारको प्रतिक्रिया नदिई केटीहरूलाई मात्र पढाएकी थिइन् । त्यहाँ त्यसरी केटीहरूलाई मात्र पढाउने रीत केही दिनसम्म जारी नै भएको थियो । उनको पढाउने शैलीबाट कक्षाका छात्राहरू प्रभावित थिए । त्यसैले ‘सहाना गुरुआमाले सारै राम्रो पढाउनुहुँदो रहेछ’ भन्ने स्कुलमा हल्ला हुन थाल्यो । अनि केही दिनपछि एकदुई जना गरेर केटाहरू पनि सहानाको कक्षामा क्रमशः पढ्न आउन थालेका थिए । पछिल्ला दिनमा सबै विद्यार्थीहरूले सहाना गुरुमाको जय मनाउन थालिसकेका थिए । पछि, पछि र पछिसम्म पनि त्यहाँ सहानाको प्रशंसा भइरह्यो । किनभने त्यस स्कुलमा सहाना प्रधान सबैभन्दा राम्रोमध्येकी एक जना राम्रो पढाउने गुरुआमामा स्थापित भएकी थिइन् ।
••
स्कुलमा सहानाले नियमित पैसा पाउँथिन् र त्यो सबै पैसाले उनको पढाइ उकास्न धेरै मद्धत गरेको थियो । बिहे नगरुन्जेल सहानाले जति कमाउँथिन् आफ्नो पढाइका लागि खर्च गर्ने गर्थिन् । अनि बाँकी रहेको पैसा उनले घरमा नै खर्च गर्थिन् । तर गृहस्थ आश्रममा प्रवेश गरेपछि आफ्नो परिवारको सम्पूणर् अर्थभार उनकै काँधमा थियो । तर खर्च गर्नमा उनी खुबै मितव्ययिता अपनाउँथिन् ।
••
एमए पास गरेपछि २०१८ सालदेखि सहानाले त्रिचन्द्र कलेजमा पढाउन थालिन् । उनले लोकसेवा आयोगबाट उत्तीणर् भएर कलेजमा पढाउने काम पाएकी थिइन् । पछि उनी नर्मल तालिमअन्तर्गत स्कुलमा पढाउन काठमाडौँबाट पोखरा सरुवा भएकी थिइन् । त्यतिखेरै उनले पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि पढाउन थालेकी थिइन् । २०२०-०२१ सालको एक वर्षजति उनी पोखरामा पढाउने विषमा नै कार्यरत भइन् । त्यहाँ बसुन्जेल उनले दिउँसो स्कुल र बिहान क्याम्पसमा पढाउने गरिन् । पढाउने काममा उनले पोखरामा पनि सबैको मन जितेकी थिइन् । एक वर्ष पोखरामा कार्यरत रहेपछि उनलाई फेरि काठमाडौँबाट बोलावट भयो । काठमाडौँमा आएपछि उनलाई पद्मकन्या कलेजमा पढाउन खटाइएको थियो । त्यस कलेजमा उनले निरन्तर दस वर्षजति पढाइन् । पद्मकन्या कलेजमा पनि उनको प्राध्यापनको धेरैले बयान गर्थे भन्ने कुरा प्रा.डा.वीणा पौडेल बताउने गर्थिन् । २०३० सालदेखि चाहिँ उनी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा पढाउन पुगिन् । त्यहाँ पढाउन थालेपछि उनी विश्वविद्यालयको आवासगृहमा बस्थिन् । त्यहाँ बस्न थालेपछि उनले छात्रावासको वार्डेनको पनि काम पाएकी थिइन् ।
सहाना प्रधानको किशोर वयदेखि नै पढ्ने र पढाउने कुरामा एकाग्रता, रुचि र समर्पण थियो । उनी पढेर र पढाएर कहिल्यै थाक्तिन थिइन् । नारी शिक्षाका लागि उनको योगदान नेपालको शिक्षाको इतिहासमा अजर, अमर छ भनिरहनु पनि परेन । किनभने उनी त्यही शिखरमा चुलिएकी नारी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक