शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘इपिसेन्टर’ मधेस : तराई मधेसमा मुस्लिम समुदायको भोट कसलाई ?

मङ्गलबार, २७ भदौ २०७४, १० : ५५
मङ्गलबार, २७ भदौ २०७४

नेत्र पन्थी र एसके यादव

रौतहट । दुई नम्बर प्रदेशमा दोस्रो ठूलो समुदाय मुस्लिम हो । अहिले यहाँका मुस्लिम समुदायमाथि सबै राजनीतिक दलहरूको खास नजर छ । यस्तो नजर हुनुको पछाडि मुस्लिम समुदायको भोटबाट आफ्नो पार्टीलाई जिताउने दलहरूको दाउ छ । 

२०६८ को जनगणनाअनुसार तराई मधेसका आठ जिल्लामा यादव १४ दशमलव १२ र मुसलमान ११ दशमलव ६ छन् । यति ठूलो सङ्ख्यामा रहेको मुस्लिम समुदायको भोट हरेक निर्वाचनमा हार जितमा निर्णायक जस्तो देखिन्छ । राजनीतिक दलहरूलाई के थाहा छ भने असोज २ को स्थानीय तहमा मुस्लिम समुदायको सहयोग चाहिन्छ । यही कारण अहिले दुई नम्बर प्रदेशको चुनावमा मुस्लिमको मुद्दा जोडतोडका साथ उठिरहेको छ । हरेक राजनीतिक दल र उम्मेदवारलाई मुस्लिम समुदायप्रति ‘नाटकीय’ माया बढेको छ ।

मधेस ग्राउण्ड जिरो

‘इपिसेन्टर’ मधेश : दुई नम्बर प्रदेश बन्यो भिडन्तको केन्द्र

२ नम्बर प्रदेशको स्थानीय चुनावमा यस्तो छ महिला सक्रियता (फोटोफिचर)

उम्मेदवारलाई जनतामाथि होइन, जानकी मातामाथि विश्वास !

अहिले भुइँमा, जितेपछि कुर्सीमा (फोटोफिचर)

‘इपिसेन्टर’ मधेश : तनावपूर्ण आन्दोलन भएको मधेशमा कस्तो छ चुनावी सुरक्षा ?

 ‘इपिसेन्टर’ मधेश : चियापसलदेखि रक्सी भट्टीसम्म चुनावकै बहस

जनकपुरमा यस्तो छ साहुबीचको ‘महाटक्कर’

भारतीय गाडीमा झण्डा फहराउँदै यसरी भइरहेछ प्रचारप्रसार (फोटोफिचर)

‘इपिसेन्टर’ मधेश : बाढीले बगायो दुई नम्बर प्रदेशको ठूलो एजेन्डा

मलङ्गवाकी ‘हट’ उम्मेदवार राधा मौसी : ठूला दललाई ठूलै थ्रेट

मधेश आन्दोलनका शहीदका आमा–बुवा भन्छन् : ‘भोटको कुरा गर्दै नगर्नुस्’

तर यहाँको मुस्लिम समुदाय पनि अन्य समुदायजस्तै राजनीतिक रूपमा विभाजित छ । धर्म र जातका आधारमा मुस्लिम समुदायले जति एकता देखाउँछन्, राजनीतिक रूपमा र चुनावको बेला भोटिङमा त्यो एकता देखिँदैन । मुस्लिमहरूबीचको विभाजनबाट राजनीतिक दल र नेताहरू भोट तान्ने कोशिस गर्छन् । 

तराई मधेसको चुनावमा निर्णायक मत मानिने मुस्लिम समुदाय यसपालिको स्थानीय तहका कस्ता एजेन्डा खोजिरेहका छन् ? यही जान्न हामी महोत्तरी र रौतहटका दुई मुस्लिम गाउँ पुगेका थियौँ । ती गाउँ पुग्दा पनि मुस्लिम समुदायबीच राजनीतिक रूपमा एकता देखिएन । मुस्लिम सुमदायबाट भिन्दा भिन्दै पार्टीका उम्मेदवार मैदानमा छन् । यसकारण भोट बैङ्कका रूपमा यो समुदायको भोट एउटै पार्टी वा व्यक्तिमा जाने सम्भावना निकै कम छ । 

जलेश्वर नगरपालिकाको वडा नम्बर ३ खैरामा मुस्लिम सुमदायको ठूलो बस्ती छ । यो नेपाल भारत सीमा क्षेत्रमा पर्छ । 

खैरा पुग्दा त्यहाँ रहेको दारुल किराँत गरिब नवाज मदरसाका शिक्षक सकिवउल खान भेटिए । उनले भदौ २३ गतेसम्म आफ्नो ठाउँमा कोही पनि उम्मेदवार भोट माग्न नआएको बताए । उनले मुस्लिम समुदायमाथि नेताले धोका दिने गरेको सुनाए । ‘हामीले जिताएर पठाए पनि जितेपछि कोही पनि फर्केर आउँदैनन् ।’ उनले भने– ‘अहिले स्थानीय तहमा जिताएर पठाएका पनि जलेश्वरमै बस्छन् । फर्केर आउँछन् भन्ने विश्वास छैन ।’

उनले मुस्लिमको भोट खोजेपछि दलहरूले यो समुदायका व्यक्तिलाई ठूलो पदमा जानबाट रोक्ने गरेको सुनाए । उनका अनुसार गरिबीका कारण तराई मधेसका मुस्लिम समुदाय धेरै नै पछाडि छन् । उनल भने– ‘हामीलाई पद दिने त टाढाको कुरा हो, अगाडि बढ्न पनि दिँदैनन् ।’

उनले काठमाडौँमा बस्ने ठूला नेताहरूमाथि प्रश्न उठाए । ‘हामीलाई अन्य नेपाली नागरिक सरह बराबरीको दर्जा मिल्छ कि मिल्दैन थाहा छैन । नेपाली नागरिक सम्झन्छन्, सम्झँदैनन् यो पनि थाहा छैन ।’ शिक्षक सकिवउल खानले गुनासो गरे । 

उनले स्थानीय तहको चुनावमा भोट माग्न आउने उम्मेदवारसँग आफ्नो समुदायले प्रतिबद्धता खोज्ने बताए । ‘मदरसा शिक्षालाई मान्यता दिने विषयमा तपाईंको धारणा के हो ? मुस्लिमहरूको अधिकार, विकास र शिक्षाका लागि के गर्नुहुन्छ ? हामी यिनै प्रश्न गर्छौँ । नेताको प्रतिबद्धता सुनेर मात्र भोटमाथि निर्णय गर्छौँ ।’

यही ठाउँका अब्दुल सरवुक खान ७५ वर्षका भए । उनले २०१५ सालदेखि अहिलेसम्म सबै चुनावमा भोट हालेको तर केही नपाएको सुनाए । ‘भोटको बदलामा केही मिलेन ।’ उनले छोटो उत्तर दिए । उनको गुनासो पनि नेतालाई जिताएर काठमडौँ पठाएपछि नफर्कने गरेको भन्ने थियो । उनले मुस्लिम समुदायप्रति सकरात्मक नेतालाई भोट दिने र भोटको बदला विकास, शिक्षा र स्वास्थ्य चाहिने बताए ।

जलेश्वरको ३ नम्बर वडामा मुस्लिम सुमदायको बाहुल्य रहेकाले तीन पार्टीले मुस्लिम समुदायबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । यहाँ एमालेबाट जमिन खान, माओवादीबाट इद्रिस अन्सारी र लोकतान्त्रिक फोरमबाट महोमहद मरतार अन्सारी वडा अध्यक्षको चुनावी मैदानमा छन् । 

यही गाउँका मोहमद नजाम मुदिन १९ वर्षका युवा हुन् । यिनलाई राजनीतिप्रति धेरै चासो छैन । भोटर लिस्टमा पनि उनको नाम छैन्, अर्थात लेखाएका छैनन् । भन्छन्– ‘मलाई राजनीतिमा त्यति चासो छैन । चासो राखेर केही पनि हुन्न । भोटिङका दिन म नेपालमा हुँदिनँ । पढ्नका लागि भारत जान्छु ।’

वीरगन्जमा लोकतान्त्रिक फोरमका मेयरका उम्मेदवार विमल श्रीवास्तव मुस्लिम सुमदायका सबै भोट मुस्लिम उम्मेदवारकहाँ नजाने बताउँछन् । जब कि यो महानगरपालिकामा एमाले र माओवादीले मुस्लिम उम्मेदवार अगाडि सारेका छन् । ‘मैले धर्म र जातको आधारमा राजनीति गरेको छैन । मलाई हिन्दूको पनि भोट आउँछ । मुस्लिमको पनि भोट आउँछ ।’ उनले भने– ‘मुस्लिम समुदायको धेरै भोट मलाई आउँछ भन्ने विश्वास छ ।’

वीरगन्ज महानगरपालिकाका काङ्ग्रेसका मेयरका उम्मेद्वार अजय द्विवेदी पहिलाजस्तै यसपालि पनि मुस्लिम समुदायबाट काङ्ग्रेसलाई भोट आउने दाबी गर्छन् । ‘काङ्ग्रेसको मुस्लिम समुदायमा पकड रहको छ । लोकप्रिय साथीहरू पनि छन् । उम्मेदवार पनि छन् । मुस्लिम समुदायमा काङ्ग्रेसको छवि राम्रो छ । पहिलाजस्तै भोट आउँछ ।’ उनले रातोपाटीसँग भने– ‘एमाले र माओवादीले उम्मेदवार बनाए पनि उहाँहरूलाई भोट जाँदैन ।’

वीरगन्ज महानगरपालिकामा माओवादीले ३१ वर्षका मुस्लिम युवा रहवर अन्सारीलाई मेयरको उम्मेदवार बनाएको छ । उनी आफ्नो समुदायबाट धेरैभन्दा धेरै मत आउने बताउँछन् । त्यसबाहेक अन्य समुदायको भोट र सङ्गठनको भोटको बलमा चुनाव जित्ने दाबी गर्छन् । ‘मस्जिद, मदरसा, कविरस्तानका लागि मात्र मुस्लिम समुदाय अल्झिनु हुँदैन । यो समुदाय आफैँ नीति निर्माणको तहमा बसेर काम गर्नुपर्छ । कहिलेसम्म अरूसँग भीख माग्ने ?’ उनले आफ्नो कार्यालयमा रातोपाटीसँगको भेटमा भने । 

एमालेका वीरगन्जका मेयरका उम्मेदवार बसुरद्दिन अन्सारी पनि मुस्लिम समुदायबाट छन् । उनी मुस्लिम समुदायको भोट आफूलाई आउने दाबी गर्छन् । ‘म जातपातमा विश्वास गर्दिनँ । जनताको माग र सबै समुदायको मागअनुसार म उम्मेदवार भएको हुँ । मुस्लिम समुदायमाथि केही न केही विभेद छ । मलाई मुस्लिम सुमदायको विश्वास प्राप्त भएको छ ।’ आफ्नै निवासमा उनले रातोपाटीसँग भने । 

दुई नम्बर प्रदेशको चुनावी अभियानमा लागेकी माओवादी केन्द्रकी नेता उर्मिला अर्यालले तराई मधेसको मुस्लिम समुदायले माओवादीबाट धेरै अपेक्षा गरेको र त्यहीअनुसार भोट आउने बताइन् । ‘मुस्लिम समुदायले हामीसँग धेरै अपेक्षा गरेको छ । अहिले मुस्लिम समुदाय माओवादीसँग छ । अल्पसङ्ख्यक र उपेक्षित समुदायको मतको कदर गर्ने पार्टी पनि माओवादी हो ।’ उनले वीरगन्जमा आफ्नै निवासमा रातोपाटीसँग कुरा गर्दै भनिन्, ‘मधेसमा माओवादीप्रतिका लहर छ । यो मुस्लिम समुदायमा पनि छ ।’

रौतहटमा चुनावी प्रचारमा लागेका काङ्ग्रेस नेता अफताव आलम मुस्लिम समुदायको भोट काङ्ग्रेसमै आउने बताउँछन् । ‘काँग्रेसबाहेक अरूले मुस्लिम समुदायको हित गर्न सक्दैनन् । उनीहरूले काङ्ग्रेसले हाम्रो कल्याण गर्छ, सुरक्षा गर्छ भन्ने ठान्छन् । हामी उनीहरूको पहिचान र पीडा सम्बोधन गर्छौँ ।’ उनले भने– ‘लेखेर राख्नुस्, अधिकांश मुस्लिम मतदाता काङ्ग्रेसलाई भोट दिन्छन् ।’

वीरगन्जमा भेटिएका पत्रकार चन्द्र किशोर मुस्लिम समुदायलाई भोट बैङ्कका रूपमा विकपति गर्ने प्रयास भइरहेको बताउँछन् । उनको भनाइमा एउटै समुदायको भोट एकै ठाउँ जाने अवस्था अझै बनेको छैन । ‘अल्पसङ्ख्यक र बहुसङ्ख्यक दुवैले जातीय नारा उचालेका छन् । प्रदेश नम्बर दुई मा सबै जातिलाई भोट बैङ्कका रूपमा विकसित गर्ने कोशिस भएको छ । तर, यो मनोविज्ञानको सामाजीकरण भएको छैन । दलहरू र उम्मेदवारहरू भोट बैङ्कका रूपमा विकसित गर्ने प्रयास गरेका छन् ।’ उनले आफ्नै निवासमा रातोपाटीसँगको कुराकानीमा भने । 

रौतहटको राजापुर नगरपालिकामा मुस्लिम समुदायको बाहुल्यता छ । यहाँबाट काङ्ग्रेस, एमाले, राजपा, नयाँ शक्ति र फोरम लोकतान्त्रिकले मुस्मिल उम्मेदवार मेयरमा उठाएका छन । सबैले मुस्लिम मतदातामाथि नजर राखेका छन् । यो रौतहटको क्षेत्र नम्बर २ हो, जहाँबाट २०७० मा फोरम लोकतान्त्रिकका मुस्ताक आलमले जितेका थिए । उनका छोरा जयद आलम राजापुरमा मेयरका उम्मेदवार छन् ।

यहाँका मुस्लिम समुदायसँग हामीले कुराकानी गर्दा उनीहरूबीच एकरूपता देखिएन । राजनीतिक रूपमा उनीहरू विभाजित थिए । अर्थात् यहाँबाट एकै पार्टीमा सबैजसो भोट जाने अवस्था थिएन् । यो काङ्ग्रेस नेता अफताव आलमको गाउँ पनि हो । यो गाउँका मानिसहरूको भनाइ के छ भने नेतालाई जताएर पठाए पनि उनीहरूले जनताको चाहनाअनुसार विकास गर्दैनन् र गाउँ फर्केर आउँदैनन् ।

गाउँको एक मदरसाका मौलना दरख सिंहको भनाइ छ– ‘नेताहरूले जे मुद्दा लिएर जितेका थिए, त्यो काम गरेनन् । यसपालिको चुनावमा पनि जनतलाई झुक्याउने प्रयास भएको छ । नारा मात्र बाँडिएको छ ।’ उनले त यतिसम्म भने कि २०७० को चुनावमा बाहेक यहाँका अधिकांश मुस्लिम मतदाताले भोटसमेत हाल्न पाउँदैनथे । पार्टीका २०, ३० कार्यकर्ताले बुथमा सबै भोट खसाल्थे । उनको सङ्केत थियो– ‘यहाँ चुनावमा धाँधली हुने गरेको छ ।’

मधेसको राजनीतिमा मुस्लिम सुमदायले थोरै प्राप्त गरेको छ । तर, आन्दोलनमा चाहिँ सहभागिता जनाउने गरेको छ । सर्लाही र रौतहटमा हामीले भेटेका मधेस आन्दोलनका दुई सहिद परिवार मुस्लिम समुदायकै थिए । 

प्रदेश नम्बर दुईको हरेक ठाउँमा मुस्लिम समुदायको भोट निर्णायक जस्तो देखिन्छ । मुस्लिम समुदायबाट बहुमत भोट जता जान्छ, त्यही दल र उम्मदवारको जितको सम्भावना देखिन्छ । अचम्म के छ भने अन्यत्र मुस्लिम समुदायलाई टिकट नदिइए पनि मुस्लिम बाहुल्य क्षेत्रमा हरेक दलले भोट तान्नकै लागि मुस्लिम समुदायबाट उम्मेदवार अगाडि सारेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप