शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

शुक्रबार, ११ कात्तिक २०७९, २० : ५६
शुक्रबार, ११ कात्तिक २०७९

आज मिति २०७९ कात्तिक महिनाको ११ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–

१. सत्ता गठबन्धनको साझा उम्मेदवार सार्वजनिक
सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभातर्फका साझा उम्मेदवारको विवरण सार्वजनिक गरेको छ । गठबन्धनले आइतबार १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनबाट लड्ने उम्मेदवारको सूची सार्वजनिक गरेको हो । जसमध्ये केही निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने गठबन्धनमा सहमति भएको छ ।

२. जहाँ हुँदैछ सत्ता गठबन्धनबीच मित्रवत प्रतिस्पर्धा

विभिन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र सत्ता गठबन्धनबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । सिरहा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा कांग्रेसका सञ्जय प्रकाश यादव  र नेकपा एकीकृत समाजवादी पार्टी (एस)का प्रमोद यादवको नाममा सहमति जुटाउन छलफल जारी छ ।

यस्तै धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादीका रामचन्द्र झाबीच मित्रवत प्रतिस्पर्धा हुने निश्चित भएको छ । यस्तै महोत्तरी–२ को प्रदेश क मा एसकी मञ्जु यादव र लोसपाका जयनुल राइनको नाममा छलफल जारी छ भने सर्लाही १ को प्रदेश क मा माओवादीका रामचन्द्रसिंह कुसवाहा र लोसपाका उपेन्द्र महतोबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ ।

​३. रुपन्देही २ मा चित्रबहादुर गठबन्धनबाट बाहिरिए

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले यसअघि गरेको निर्णय उलंघन गरेको छ । सो पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय फिर्ता लिइएको उल्लेख छ ।

४. होटल क्राउन प्लाजा घटना

गत असोज २४ गते काठमाडौँको कमलपोखरीस्थित होटल क्राउन प्लाजामा जल्दै गरेको अवस्थामा एक युवतीको उद्धार भयो । युवतीलाई उद्धार गरेर अस्पताल पुर्‍याए पनि उनको उपचारका क्रममा मृत्यु भयो । युवतीको मृत्यु लगत्तै प्रहरीले युवतीसँगै होटलमा पुगेका बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका २६ वर्षीया केशव रिजाल र होटलका कर्मचारी पदम कुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । सो घटनाको अझैपनि अनुसन्धान पुरा भएको छैन ।

५. छठको तयारी

अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि काठमाडौंमा धुमधामका साथ छठ पर्व मनाउन तयारी थालिएको छ । राजधानीको गौरीघाट, कमलोखरी, टेकुलगायतका स्थानमा छठघाट मनाउने काम धमाधम भइरहेको हो ।

राजधानीको गौरीघाटमा छठ पूजाका लागि छठ घाट बनाउने काम अन्तिम चरणमा पुगेको छठ पूजा समितिले जनाएको छ । समितिले करिब ९० प्रतिशत काम सम्पन्न भएको र सबै तयारी पूरा गरेर धुमधामका साथ छठ मनाउने गरी तयारी भइरहेको जनाएको छ । यस वर्षको छठ अन्तरगत आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तिथि रहेको छ ।

६. सेयर बजारमा निराशा

अहिले सेयर बजारमा निकै निराशा देखिन्छ । एक दिनमा नै २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको दोस्रो बजारमा अहिले दैनिक ५० करोड रुपैयाँको हाराहारीमा छ । अहिले कम्पनीहरु गत वर्षको कारोबारबाट भएको नाफाको प्रतिफल वितरण गर्ने गृहकार्यमा छन् ।

कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा वार्षिक साधारणसभा गरिसक्नुपर्छ । सोही कारण कम्पनीहरु वार्षिक साधारणसभा गरेर गत आर्थिक वर्षसम्ममा जम्मा भएको सेयरधनीलाई वितरण गर्न मिल्ने रकम वितरण गर्ने गृहकार्यमा छन् ।

७.कोरोना अपडेट

देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

​यसैगरी देशभर थप २ हजार ७२८ जनामा डेंगु रोगको सङ्क्रमण पुष्टि भएको छ । कार्तिक ५ गते देशभर ४३ हजार ६८५ जनामा डेंगु रोग पुष्टि भएकोमा कार्तिक ११ सो सङ्ख्या बढेर ४६ हजार ४१३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

​८. महोत्तरी घटनामा सहमति

महोत्तरीको भँगाहा नगरपालिका–८, पररियामा बिहीबार भएको झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच ८ बुँदे सहमति भएको छ । पररियामा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो ।

​९. कांग्रेसको घोषणापत्र शनिबार

नेपाली कांग्रेसले शनिबारमात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ । तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण दुई पटकसम्म पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि तय गरिएको थियो । तर, आजको कार्यक्रम पनि शनिबार बिहानका लागि सारिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

​यसैगरी नेकपा माओवादी केन्द्रले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ । उक्त दलले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने योजनासहितको घोषणापत्र तयार गरेको हो ।

​१०. यो पनि...

एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन् ।  आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दिएका लिङ्देनका लागि ओलीले भोट मागेका हुन् । शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले लिङ्देनका लागि भोट मागेका हुन् ।

भारतीय क्रिकेटर रोहित शर्मालाई भेट्न नेपाली समर्थक महेन्द्र अष्ट्रेलिया पुगेका छन् । महेन्द्र १० वर्षको उमेरदेखि रोहितलाई समर्थन गर्दै आइरहेका छन् । उनी रोहितसँग भेट्न नै आईसीसी टी–ट्वान्टी विश्वकपका क्रममा त्यहाँ पुगेका हुन् । महेन्द्रको पुरा नाम र थप विवरण भने खुलिसकेको छैन ।

​निर्वाचन आयोगले ‘नो नट अगेन’ नामक फेसबुक पेज तथा ग्रुपलाई बन्द गर्न निर्देशन दिएसँगै यसको व्यापक आलोचना भइरहेको छ । आयोगले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको तथा प्रमुख दलकै पक्ष लिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।

​ट्वीटरको अधिग्रहण प्रक्रिया पुरा गरे पछि एलन मस्कले आफ्नो अन्दाजमा ट्वीटरमा यसको घोषणा गरेका छन् । मस्कले ट्वीटरमा लेको छन्, ‘आजाद भयो पंक्षी ! ’ धेरै महिनाको प्रयासपछि इलोन मस्कले अब ट्वीटर ग्रहण गर्ने प्रक्रिया पूरा गरेका हुन् ।

​नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप