बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : राष्ट्रपतिको राजनीतिको तरङ्ग, जरिवाना नतिर्नेको पद जाने !

बुधबार, ०५ असोज २०७९, २१ : २८
बुधबार, ०५ असोज २०७९

आज मिति २०७९ साल असोज महिनाको ५ गते बुधबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

राष्ट्रपतिको ‘राजनीति’ ले मोर्चाबन्दी

राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसंवैधानिक ढंगले नागरिकता विधेयकमा राजनीतिक निर्णय लिएपछि मुलुकका राजनीतिक शक्तिबीच मोर्चाबन्दी सुरु भएको छ । राष्ट्रपतिको कदमविरुद्ध सत्ता गठबन्धन अदालत जाने तयारीमा लागेको छ भने पूर्वराष्ट्रपति डा. रामवरण यादवदेखि वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन, कानुनविद्का साथै विभिन्न क्षेत्रका अगुवाहरूले राष्ट्रपतिले नागरिकता विधेयकका सवालमा संविधानको चरम उल्लङ्घन गरेको भन्दै विरोध गरिरहेका छन् । यी शक्तिले राष्ट्रपति कदमको विरोध गरे पनि नेकपा एमाले भने बचाउमा उत्रेको छ ।

सहकारीमा नियामक र अभियन्ताबीच द्वन्द्व​

सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदरलाई लिएर फेरि किचलो सुरु भएको छ । जब बजारमा तरलता अभाव सिर्जना हुन्छ तब सहकारीमा पनि सन्दर्भ ब्याजदरको विषयले निकै चर्चा पाउने गर्छ । पछिल्लो समय बजारमा तरलता अभावलाई देखाउँदै बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर वृद्धि गरेसँगै यता सहकारी क्षेत्र समेत तरङ्गित हुन पुगेको हो । 

डा केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशन सुरु गरेका डा केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका थिए ।

एक वर्षमा १६ हजारभन्दा बढी उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा १६ हजारभन्दा बढी उजुरी दर्ता भएको छ । आयोगका प्रवक्ता (सह–सचिव) श्यामप्रसाद भण्डारीले बुधवार पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७८–०७९ मा १६ हजार २३८ वटा उजुरी दर्ता भएको बताए ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले  मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बुधबार ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो । 

राष्ट्रपतिको ‘राजनीति’ ले मोर्चाबन्दी

हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको योजनामा असोज २६ गतेसम्म रोक लागेको छ । उच्च अदालत पाटनले बुधवार अल्पकालीन अन्तरिम आदेश दिँदै तत्काल ती क्षेत्रका संरचना नभत्काउन आदेश दिएको हो । 

लाल मोहम्मद हत्याका योजनाकार भारत

मोहम्मद दर्जी उर्फ लाल मोहम्मद हत्याको योजना भारतको नयाँ दिल्ली घर भएका नितेन मदन अरोगाले बनाएको थाहा भएको छ । नितेन लामो समयदेखि काठमाडौँमा बस्दै आएका छन् । उनका दाइ र आमा अहिले काठमाडौँमै छन् ।

लोसपामा विवाद

काठमाडौँ असोज ५–निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीलाई लिएर लोकतान्त्रिक समाजवादी पार्टीमा विवाद देखिएको छ । शीर्ष नेताको सहमतिबाट बनेको सूचीभन्दा फरक सूची आयोगमा दर्ता भएको भन्दै सो पार्टीका वरिष्ठ नेताहरू राजेन्द्र महतो र शरतसिंह भण्डारीले असन्तुष्टि जनाएका छन् ।

जरिवाना नतिर्नेको चैत १ गतेबाट ‘पद’ जाने

निर्वाचन आयोगले १ लाख २३ हजार स्थानीय तहका उम्मेदवारलाई जरिवाना गरेपछि खर्च विवरण नबुझाउने उम्मेदवारले जरिवाना बापतको रकम बुझाउन थालेका छन् । आयोगमा मंगलबार झापाका कचनकवल गाउँपालिका अध्यक्षका उम्मेदवार अन्जरा आलमले निर्वाचन खर्च विवरण नबुझाएकोमा दण्ड जरिवाना बापत ३ लाख ५० हजार रुपैयाँ जरिवाना बुझाएका हुन् । 

फिर्ता गरेनन् गाडी र जिन्सी सामान

गत असोज १ गतेदेखि प्रतिनिधि सभाको ५ वर्षको कार्यकाल अन्त्य भए पनि  प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापतिसम्मले सवारी साधन र जिन्सी सामान फिर्ता गरेका छैनन् । आफ्नो कार्यकालका लागि संघीय संसद् सचिवालयले संसद्का पदाधिकारीका लागि सवारी साधन र कम्प्युटरको सुविधा दिने गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप