टुकुचामाथि बनेका संरचनामा क्षति नपुर्याउन उच्च अदालतको आदेश

हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको योजनामा असोज २६ गतेसम्म रोक लागेको छ । उच्च अदालत पाटनले बुधवार अल्पकालीन अन्तरिम आदेश दिँदै तत्काल ती क्षेत्रका संरचना नभत्काउन आदेश दिएको हो ।
बुधवार न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले २१ थान मुद्दाको एकै पटक सुनुवाइ गर्दै असोज २६ गतेसम्म हात्तीसार क्षेत्रका ती संरचनामा कुनै काम क्षति नपुराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
छुट्टाछुट्टै रिट दर्ता भएपनि सबै मुद्दालाई एकैसाथ राखेर अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा सुनुवाइ भएको थियो । सुनुवाइपछि यी सबै मुद्दाको सम्बन्धमा असोज २६ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएर त्यहाँ कुनै क्षति नपुराउन भनिएको छ ।
यसअघि बुधवारका लागि पेसी तोकिएका प्रेसिडेण्ट ट्राभल्स एण्ड टुर्स लगायतका तीन घरका सम्बन्धमा अन्तरिम आदेशको निरन्तरता हुने कि नहुने भन्ने सम्बन्धमा असोज ७ गते शुक्रवार दोहोरो छलफलमा बोलाएको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले रातोपाटीलाई बताए ।