शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लाल मोहम्मद हत्याका योजनाकार भारतका नितेन मदन

बुधबार, ०५ असोज २०७९, २० : ४६
बुधबार, ०५ असोज २०७९

मोहम्मद दर्जी उर्फ लाल मोहम्मद हत्याको योजना भारतको नयाँ दिल्ली घर भएका नितेन मदन अरोगाले बनाएको थाहा भएको छ । नितेन लामो समयदेखि काठमाडौँमा बस्दै आएका छन् । उनका दाइ र आमा अहिले काठमाडौँमै छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनको दाइलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।  सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदको हत्या गर्नुअघि नितेनले आफू बस्दै आएको काठमाडौँको भोटेबहालबाट डेरा सारेका थिए ।

१५ दिनअघि उनले डेरा सारेको थाहा भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । नितेनले मोहम्मद बस्ने घर नजिकैको कोशीपारी गेष्ट हाउसमा बसेर उनलाई निगरानी गरेका थिए । मोहम्मदले सञ्चालन गरेको ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’बाट करिब २ सय मिटरको दुरीमा सो गेष्ट हाउस छ । गार्मेन्टको माथिल्लो तलामा लाल मोहम्मद आफ्नो परिवार सँग बस्दै आएका थिए ।

गेष्ट हाउसमा भदौ ३० बाट बसेर निगरानी गरेका नितेनले सुरुमा १०४ नबर कोठा नितेन खानको नाममा बुक गराएका थिए । असोज १ गते उनले फेरी भुवन मगरको नाममा १०५ नम्बर कोठा लिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । भदौ ३ मा बिहान उनले गेष्ट हाउसमा दुई जना सुटर बोलाएका थिए । सुटर गेष्ट हाउसमा आएकै साँझ लाल मोहम्मद मारिए । सुटरले उनलाई ६ गोली प्रहार गरे । ४ गोली उनको शरीरमा लाग्यो ।
नितेन र लाल मोहम्मद पूर्व परिचित हुन् । उनीहरूको बिचमा लेनदेन कारोबार समेत देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

उदय सेट्ठीसँग कनेक्सन

लाल मोहम्मदको हत्या कनेक्सन भारतीय अन्डरवर्ल्ड डन उदय सेट्ठीसँग देखिएको छ । रसुवा कारागारमा रहेका अन्डरवर्ल्ड डन सेट्ठीसँग नितेन नियमित टेलिफोन सम्पर्कमा रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

अन्डरवर्ल्ड डन छोटा राजनका मुख्य सहयोगी सेट्ठी सामाखुसीका व्यवसायी केदार कक्षपतिका छोरा निरजलाई अपहरण गरेर १ करोड ५० लाख फिरौती लिएको मुद्दामा जेल परेका हुन् ।

लाल मोहम्मद पनि लामो समय रसुवा कारागारमा बसेका थिए । २०६४ असार २० मा काठमाडौँको अनामनगर स्थित धोबीखोलामा बाराका बलराम पटुवालाई गोली हानेर हत्या गरेपछि जेल परेका उनी करिब १० वर्षपछि निस्केका थिए ।

पटुवा जाली नोट कारोबारमा जोडिएका थिए । विगतमा जाली नोट कारोबारमा जोडिएका व्यक्तिहरूको हत्यामा पनि छोटा राजन र  भारतीय अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तव र ‘बब्बु’ भनिने त्रिलोक सिंह उर्फ दीपक शाहीको समूह संलग्न हुँदै आएको छ । बब्लु अहिले जेलमा छन् । उनी जेल परेपछि नेपालमा बब्बुको समूह प्रयोग हुने गरेको इतिहास छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप