रातोपाटी ब्रिफिङ : ब्याक भयो सरकार, समुन्द्री मार्गबाट दसैँलाई सामान
आज २०७९ साउन भदौ २१ गते म‌ंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
पल शाह बाल यौन दुरुपयोगमा भने दोषी
नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाइ पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाइ दिएका हुन् । बलात्कारको मुद्दाबाट सफाइ पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् ।
मिक्स्ड इन्फेक्सनको आशंका
डेंगुका बिरामी बढिरहँदा डेंगुको जस्तै लक्षण देखिने तर, परीक्षण गर्दा नेगेटिभ रिजल्ट आउने चिकित्सकहरूले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि अस्पतालमा डेंगु र डेंगुको जस्ता लक्षण देखिएका बिरामीको चाप बढेको सुनाउँछन् । डेंगु लक्षण लिएर आउने कतिपयमा दोहोर्याएर परीक्षण गर्दा नेगेटिभ रिजल्ट आएको सुनाउँछन् ।
नेपालको शानदार सुरुवात
सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोलको सहयोगमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसीपमा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा नेपालले भुटानमाथि ४–० गोलको जित निकालेको हो ।
सर्वोच्चको न्यायाधीश सिफारिस
सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्का अनुसार उच्च अदालतको मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालतका कायम मुख्य न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्तासमेत रहेका प्राध्यपाक डीएन पराजुलीको नाम सिफारिस भएको हो ।
पार्टीमा चाकरी प्रवृत्ति
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार धनगढी विमानस्थलमा पत्रकारहरुले सोधे– तपाईको उम्मेदवारी बागलुङ–२ बाट पनि सिफारिस भएको छ, कहाँबाट चुनाव लड्नुहुन्छ ?’जवाफमा प्रचण्डले आफू चितवन–३ बाट चुनाव लड्ने र अन्त कतै जाने सम्भावना नरहेको जवाफ दिए ।
अमरेशले अब के गर्लान् ?
सर्लाही क्षेत्र नम्बर ४ बाट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा.अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्यमा जित हासिल गरे । तर यस पटक उनलाई पार्टीको क्षेत्रीय समितिले उम्मेदवारका लागि सिफारिस नै गरेको छैन । बरु, सो क्षेत्रबाट कांग्रेसका महामन्त्री गगन थापाको नाम सिफारिस भएको छ ।
पछि हट्यो सरकार
'केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९' बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले उक्त विधेयक पारित भएको हो । बैठकमा सांसदहरु शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, प्रकाश रसाइली, अतहरकुमाल मुसलमान र रामकुमारी चौधरी, बिन्दा पाण्डेले विधेयकका केही बुँदाहरुमा राखेको संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।
विवादमा श्रममन्त्री
सेक्युरिटी गार्डलाई पक्राउ गर्न लगाएको भनेर पर्यटनमन्त्री जीवनराम श्रेष्ठ आलोचित भइरहेका बेला अर्का मन्त्री पनि विवादमा तानिएका छन् । पर्यटनमन्त्री श्रेष्ठपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर विवादमा तानिएका हुन् ।
समुन्द्री मार्गबाट दसैँलाई सामान
२०७२ सालको भूकम्पपछि बन्द भएको नाका २०७६ सालदेखि आशिंक रूपमा सञ्चालनमा आएको थियो । तर, सोही साल चीनमा कोरोना महामारी देखिएपछि पुसदेखि पुनः बन्द भएको नाका त्यसयता आंशिक रूपमा सञ्चालनमा छ । यही भदौ पहिलो सातादेखि नेपाल–चीन व्यापारिक नाका बन्द छन् । चीनले तिब्बतमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताउँदै नेपालतर्फका दुई वटै नाका बन्द गरेको छ । चीनले तातोपानी र केरुङ नाका बन्द गरेको हो ।
सुटुक्क समानुपातिकतर्फ
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ‘डेन्जर जोन’ मा थिए । तर उनले यस पटक प्रत्यक्षतर्फ उम्मेदवार नहुने निर्णय लिँदै समानुपातिकतर्फ उम्मेदवार बन्ने निधो गरेका छन् । उनको यो निर्णयलाई कांग्रेसकै कतिपय कार्यकर्ताले अनौठो मानेका छन् ।