शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पार्टीमा चाकरी प्रवृत्ति : उम्मेदवारीका लागि ठाउँठाउँमा ठुला नेताको नाम सिफारिस !

मङ्गलबार, २१ भदौ २०७९, १६ : १५
मङ्गलबार, २१ भदौ २०७९

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार धनगढी विमानस्थलमा पत्रकारहरुले सोधे– तपाईको उम्मेदवारी बागलुङ–२ बाट पनि सिफारिस भएको छ, कहाँबाट चुनाव लड्नुहुन्छ ?’जवाफमा प्रचण्डले आफू चितवन–३ बाट चुनाव लड्ने र अन्त कतै जाने सम्भावना नरहेको जवाफ दिए । ‘साथीहरुले आफ्नो ढङ्गले उम्मेदवार सिफारिस त गरिराख्नुभएको छ तर म चितवन क्षेत्र नम्बर ३ बाटै निर्वाचन लड्ने हो, अन्त जाने कुनै सम्भावना छैन र यताउता पनि हुँदैन’, अध्यक्ष प्रचण्डको स्पष्ट जवाफ थियो ।

प्रचण्डको यो जवाफबाट चितवन बाहेकका जिल्लामा भएको उनको उम्मेदवार सिफारिस कुनै सल्लाह, सहमति वा इच्छा लागेर गरिएको होइन भन्ने बुझिन्छ । भदौ २० गते आइतबार बसेको माओवादीको क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डलाई चितवन–३ बाट सर्वसम्मत माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस गरेको थियो । २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका प्रचण्डको नाम यसअघि गोरखा–१ बाट पनि सिफारिस भयो ।

गोरखा र चितवनमात्रै होइन, उनको नाम सिफारिस गर्ने क्रम रोकिएन र बागलुङ–२, नवलपुर–२ बाटसमेत सिफारिस हुन पुग्यो । बागलुङ क्षेत्र नम्बर २ (ख) समितिले दाहाललाई अनुरोध गर्दै प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरूपमा सिफारिस गरेको माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले बताए । बागलुङ–२ बाट यसअघि नेपाली कांग्रेसले प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु देउवालाई पनि उम्मेदवार सिफारिस गरेको थियो । बागलुङ–२ बाट २०७४ को निर्वाचनमा माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित भएका थिए ।

आरजु पनि ५ ठाउँबाट सिफारिस

प्रचण्डमात्रै होइन, कांग्रेस नेतृ आरजु देउवा (राणा) को पनि उम्मेदवार सिफारिस धेरै ठाउँबाट भएको छ । विगतमा कैलाली–५ बाट निर्वाचन लड्दै आएकी राणाको यसपटक पनि कैलाली क्षेत्र नं. ५ सहित अन्य चार निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस भएकी छन् ।

उनी बाँके, बार्दिया, बाग्लुङबाट समेत प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकका लागि सिफारिस भएकी हुन् ।​ डडेल्धुरापछि आरजु बाँके ३ र बर्दिया २ बाट प्रत्यक्षका लागि सिफारिसमा परेकी हुन् । शनिबारमात्र नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट पनि आरजुको नाम सिफारिस गरेको छ ।

गत २०७४ को निर्वाचनमा आरजु कैलाली ५ बाट लड्दा एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् । त्यसबेला रानाले २७ हजार २०२ मत प्राप्त गर्दा आरजुले २२ हजार ३२२ मत प्राप्त गरेकी थिइन् ।

प्रत्यक्षमा मात्रै होइन आरजुको नाम प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुराबाट समानुपातिकमा समेत सिफारिस भएको छ । यो क्षेत्रबाट प्रधानमन्त्री देउवा प्रत्यक्षमा सिफारिसमा परेका छन् ।

काठमाडौंबाट पोखरा हुँदै सर्लाहीमा पनि गगन

धेरैतिर उम्मेदवार सिफारिसमा पर्ने अर्का नेता हुन् कांग्रेसका महामन्त्री गगन थापा । थापा सुरुमा कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भए । त्यसपछि काठमाडौं–४ बाट उम्मेदवार सिफारिस भएका थापा सर्लाही क्षेत्र नम्बर ४ बाट पनि सिफारिस भएका छन् ।

सर्लाही–४ विगतमा अमरेशकुमार सिंहले जितेको निर्वाचन क्षेत्र हो । सिंहले त्यसबेला राजपाका राकेशकुमार मिश्रलाई हराएका थिए । विभिन्न ठाउँबाट उम्मेदवार सिफारिस भए पनि महामन्त्री थापाले भने आफू काठमाडौं क्षेत्र नम्बर ४ बाटै निर्वाचन लड्ने स्पष्ट पारिसकेका छन् ।

महन्थ ठाकुर महोत्तरी र बाराबाट सिफारिस

यो निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर प्रत्यक्षतर्फ बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस भएका छन् । सोमबार बसेको क्षेत्रीय कमिटीको बैठकले ठाकुरलाई सर्वसम्मत सिफारिस गरेको हो ।

२०७४ सालको निर्वाचनमा ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । तर, उनको नाम सर्लाही र महोत्तरीबाट पनि सिफारिस गर्ने तयारी भइरहेको जिल्लाका स्थानीय नेताहरुको भनाइ छ । यद्यपि ठाकुरले कहाँबाट निर्वाचन लड्ने भन्ने स्पस्ट बताइसकेका छैनन् । 

घनश्याम पनि तानातानमा  

एमाले नेता घनश्याम भुसाल पनि उम्मेदवार सिफारिसमा तानतानमै परेका छन् । उनी रुपन्देही निर्वाचन क्षेत्र १ र ३ बाट सिफारिस भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा घर भएका भुसालले अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिँदै राप्रपा–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका दीपक बोहरालाई पराजित गरेका थिए ।

त्यसवेला पनि पार्टीका स्थानीय नेताले भुसाललाई क्षेत्र नम्बर १ बाटै टिकट दिन माग गरेका थिए ।

यसपटक पुनः भुसालको नाम क्षेत्र नम्बर १ र ३ बाट सिफारिस भएपछि क्षेत्र नम्बर १ मामात्र रहने गरी सिफारिस सच्याउन जिल्ला नेतृत्वलाई दबाब परेको बताइन्छ ।

के छ व्यवस्था ?

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा १४ मा कुनै पनि व्यक्ति दोहोरो उम्मेदवार हुन नपाउने व्यवस्था छ । ऐनमा भनिएको छ, ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागिमात्र उम्मेदवारी दिन सक्नेछ । त्यसरी कुनै व्यक्ति एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवार भएमा निजको सबै निर्वाचन क्षेत्रको उम्मेदवारी आयोगले बदर गर्नेछ । (२) समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुन र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समावेश गर्न पाइने छैन । (३) समानुपातिक निर्वाचन प्रणालीतर्फ एउटै व्यक्तिको नाम एकभन्दा बढी दलको बन्दसूचीमा समावेश भएमा आयोगले त्यस्तो व्यक्तिको नाम त्यस्ता सबै दलको बन्दसूचीबाट हटाउनेछ । (४) प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै मितिमा हुने गरी निर्वाचनको मिति तोकिएको अवस्थामा कुनै व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार भएमा निजको दुवै निर्वाचनतर्फको उम्मेदवारी आयोगले बदर गर्नेछ ।’ यो व्यवस्थाका कारण सिफारिस भए पनि सम्बन्धित उम्मेदवारले एक ठाउँबाट मात्रै उम्मेदवारी मनोनयन गर्नुपर्ने हुन्छ । 

यो व्यवस्थाका कारण सिफारिस भएपनि सम्बन्धित उम्मेदवारले एक ठाउबाट मात्रै उम्मेदवारी मनोनयन गर्नुपर्ने छ । यो कुरा थाहा हुँदाहुँदै पनि किन ठुला नेताहरुको नाम ठाउँठाउँबाट सिफारिस गरिन्छ त ?  राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बराल दोहोरो उम्मेदवारी दिन नपाउने व्यवस्था हुँदाहुँदै धेरै ठाउँबाट ठुला नेता उम्मेदवारमा सिफारिस हुनुमा दुई कारण रहेको बताउँछन् । 

‘एउटा त स्थानीयस्तरका नेताहरुले ठुला नेतालाई स्नेह गरेझैँ गरेर चाकरी गर्न पाउँछ, अर्को एउटा त्यो नेताले मेरो देशैभरिबाट माग छ भन्ने खालको सन्देश प्रवाह गर्ने अवसर मिल्छ’, बरालको विश्लेषण छ ।  उनले धेरै ठाउबाट प्रस्ताव आएपनि अन्तिममा जहाँ सुरक्षित ठान्छन् त्यही लड्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप