मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले नाका बन्द गरेपछि समुन्द्री मार्गबाट दसैँलाई सामान ल्याउँदै व्यवसायी

मङ्गलबार, २१ भदौ २०७९, १५ : १७
मङ्गलबार, २१ भदौ २०७९

२०७२ सालको भूकम्पपछि बन्द भएको नाका २०७६ सालदेखि आशिंक रूपमा सञ्चालनमा आएको थियो । तर, सोही साल चीनमा कोरोना महामारी देखिएपछि पुसदेखि पुनः बन्द भएको नाका त्यसयता आंशिक रूपमा सञ्चालनमा छ । यही भदौ पहिलो सातादेखि नेपाल–चीन व्यापारिक नाका बन्द छन् । चीनले तिब्बतमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताउँदै नेपालतर्फका दुई वटै नाका बन्द गरेको छ । चीनले तातोपानी र केरुङ नाका बन्द गरेको हो ।

यससँगै, चीनबाट तातोपानी र केरुङ हुँदै नेपाल आइरहेका करिब १०० वटा कन्टेनर बाटोमै रोकिएका छन् । दसैँ र तिहारको अघि यसरी नेपाल हिँडेका कन्टेनर रोकिँदा नेपाली व्यापारीहरूले आयात गरेको चाडपर्व लक्षित मालसामान चिनियाँ भूमिमै रोकिएका हुन् ।

यससँगै, नेपाली व्यापारीहरूले चिनियाँ नाकाको विकल्पमा समुन्द्री मार्ग हुँदै मालसामान आयात सुरु गरेका छन् । नेपाल सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले व्यापारीहरूले दसैँका लागि समुन्द्री मार्ग हुँदै चिनियाँ सामान आयात गरिरहेको बताए । उनले चीनतर्फका सडक मार्ग बन्द भएपछि त्यसको विकल्पमा समुन्द्री मार्ग प्रयोग भइरहेको बताए ।

‘चीनले नाका बन्द गरेपछि दसैँ लक्षित गरेर आयात भइरहेका करिब १०० कन्टेनर सामान रोकिएका छन्,’ पौडेलले भने, ‘तर, त्यसको विकल्पमा समुन्द्री मार्ग हुँदै सामान आइरहेको छ ।’ हाल दसैँ र तिहारलाई केन्द्रित गरेर समुन्द्री मार्ग हुँदै सामान आइरहेको संघको भनाइ छ । जसले चिनियाँ नाका बन्द भए पनि दसैँ तिहारलाई सामानको अभाव नहुने बताइएको छ ।

तर, समुन्द्री मार्ग हुँदै वस्तु आयात गर्दा लागत र समय बढी लाग्ने व्यवसायीहरूको भनाइ छ । तातोपानी र केरुङ नाकाबाट १५ देखि २० दिनमा सामान आयात गर्न सकिन्छ । तर, समुन्द्री मार्ग हुँदै चीनबाट सामान आयात गर्न कम्तीमा २ महिना लाग्छ । यसै गरी, आयात खर्चमा समेत २० प्रतिशतसम्मको फरक पर्ने व्यवसायीहरूको भनाइ छ ।

‘समुन्द्री मार्ग हुँदै चीनबाट वस्तुको आयात गर्दा कलकत्ता र विशाखपटनमसम्म वस्तु ल्याउँदा १२ हजार डलरसम्म भाडा लाग्छ,’ पौडेलले भने, ‘यस्तै, त्यहाँदेखि विराटनगर र वीरगञ्जसम्म ल्याउन १ लाख ७५ हजार आईसी रेलको भाडा लाग्छ ।’ यसै गरी, विराटनगर र वीरगञ्जबाट काठमाडौँसम्म ल्याउन थप ७० हजार रुपैयाँ हाराहारी भाडा लाग्ने उनको भनाइ छ ।

यस्तै, राष्ट्रिय व्यापार संघका उपाध्यक्ष नयन क्षेत्रीले तातोपानी र केरुङ नाका बन्द भए पनि बजारमा दसैँ लक्षित वस्तुहरूको अभाव नहुने बताए । उनले चिनियाँ नाका बन्द भए पनि समुन्द्री मार्गबाट मालसामान आइरहेकाले बजारमा मालसामानको अभाव नहुने उनले बताएका हुन् । यद्यपि, चिनियाँ नाकाको सट्टा समुन्द्री मार्ग हुँदै मालसामान ल्याउँदा मूल्य बढ्न सक्ने क्षेत्रीको भनाइ छ ।

नेपाल फ्रेट फरवार्ड एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले सडक मार्ग हुँदै ल्याउँदाभन्दा समुन्द्री मार्ग हुँदै ल्याउने वस्तुको भाडा बढी लाग्छ । उनले भने, ‘सस्तो र महँगो भनेर सामान नल्याउने विषय हुँदैन । दसैँ र तिहारको समयमा जसरी पनि ल्याउनै पर्छ ।’ यद्यपि, समुन्द्री मार्गको बाटो घुमाउरो र लामो भएकाले महँगो पर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप