आफ्नो क्षेत्रबाट गगन थापाको नाम सिफारिस भएपछि अमरेशले अब के गर्लान् ?
सर्लाही क्षेत्र नम्बर ४ बाट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा.अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्यमा जित हासिल गरे । तर यस पटक उनलाई पार्टीको क्षेत्रीय समितिले उम्मेदवारका लागि सिफारिस नै गरेको छैन । बरु, सो क्षेत्रबाट कांग्रेसका महामन्त्री गगन थापाको नाम सिफारिस भएको छ ।
पार्टीभित्र देखिएको गुटबन्दीका कारण पछिल्लो समय अमरेशकुमार सिंह ओझेलमा परेका छन् भने उनीमाथि अनुशासनको कारबाहीका लागि सिफारिससमेत भएको छ । त्यसैले अमरेशकुमार सिंहको राजनीतिक भविष्य कांग्रेसमा सकिएकै हो त भन्नेखालको प्रश्न पनि उठ्न थालेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य जंगीलाल रायका अनुसार पार्टीले कसलाई कहाँबाट उम्मेदवार बनाउने भन्ने निर्णय केन्द्रबाटै हुने भएकाले क्षेत्र वा जिल्लाबाट सिफारिस नहुँदैमा खासै फरक नपर्ने बताए । जिल्लामा पार्टीभित्र देखिएको विवाद थामथुम पार्नका लागि पनि अहिले अमरेशको नाम सिफारिस नभएको हुन सक्ने उनको भनाइ छ ।
‘जिल्लामा जति नाटक मञ्चन भए पनि क्लाइमेक्स केन्द्रमै देखिनेछ,’ उनले भने, ‘अहिले सिफारिसमा जो जो परे पनि अन्त्यमा अमरेशले नै टिकट पाउनेमा विश्वस्त छु ।’पार्टीको आन्तरिक लडाइँ जिल्लामा अलि बढी देखिए पनि केन्द्रबाट यी सबै कुरा मिल्ने उनको भनाइ छ ।
सर्लाही–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम सिफारिस भए पनि त्यहाँबाट थापाले उम्मेदवारी दिनेमा कसैले विश्वास गरेका छैनन् । यदि अमरेश सिंहलाई टिकट दिने मनसाय केन्द्रको नभएको भए त्यहाँबाट गगन थापाको होइन, अरु कुनै नेताको नाम सिफारिस हुने थियो भन्ने कार्यकर्ताहरुको बुझाइ छ ।
कांग्रेसका एक नेताले भने, ‘गगन थापाको नाम सिफारिस हुनु नै अमरेश सिंहको नाम सिफारिस हुनु हो, किनकि दुवै जना एउटै गुटमा हुनुहुन्छ ।’गगन थापा काठमाडौं–४ बाट चुनाव लड्ने तयारी गरिरहेका छन् । कांग्रेसका नेता अमरेशकुमार सिंह जिल्लाबाट आफ्नो नाम सिफारिस नहुनुलाई ‘चाप्लुसी’ मान्दछन् । उनले भने, ‘गगनजी काठमाडौंबाट चुनाव लड्ने तयारी गरिरहनु भएको छ, यताबाट पनि उहाँको नाम सिफारिस हुनु भनेको चाप्लुसी नै हो ।’
उनले अहिले सतहमा आएका चर्चालाई ‘चुनावी स्टन्ट’को संज्ञा दिए । चुनावमा यस्ता स्टन्ट भइरहने भन्दै उनले यसबाट आत्तिन नहुने बताए ।सर्लाही–४ बाट आफूले नै टिकट पाउने र चुनाव जित्ने दाबी गर्दै उनले भने, ‘जो अपराधबाट बच्नका लागि राप्रपा छाडेर कांग्रेसमा प्रवेश गरे, आज उसले अरुलाई अनुशासनको कारवाही गर्न सुहाउँदैन ।’
उल्लेखनीय छ, स्थानीय तहको चुनावमा पार्टीलाई असहयोग गरेको भन्दै जिल्ला कमिटीले अमरेशकुमार सिंहलाई कारबाहीका लागि सिफारिस गरेको छ । तर अमरेश भन्छन्, ‘मलाई कारबाही गर्ने अधिकार जिल्लालाई छैन, केन्द्रमा अनुशासन समिति छ, उसले छानबिन गरेरमात्र कारवाही गर्न सक्छ ।’ जिल्लाले कारबाहीका लागि सिफारिस गरे पनि त्यसअघि स्पष्टीकरणको मौका दिनुपनेमा स्पष्टीकरणसमेत नसोधी सिधै लेटरप्याडमा लेखेर पठाइएको उनको भनाइ छ ।
कसले मार्ला बाजी ?
जिल्लामा कांग्रेसको शेखर कोइराला पक्षभन्दा पनि देउवा पक्षको दबदबा छ । देउवा पक्षका नेताहरुले यसपटक नेता सिंहलाई कुनै पनि हालतमा टिकट दिन नहुने भन्दै केन्द्रमा दबाब बनाइरहेका छन् । यसका लागि जिल्लाका नेताहरुले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई पनि भेटिसकेका छन् । उनीहरुले प्रधानमन्त्री देउवाबाट पनि आश्वासन पाएका छन् । सिंहमाथि लागेको आरोप केन्द्रमा पनि पुष्टि भयो भने टिकट पाउन गाह्रो हुने कांग्रेसका एक नेताले बताए ।
कांग्रेस पार्टीभित्र नेता सिंह निकै कमजोर देखिन्छन् । उनलाई शेखर कोइराला गुटले पनि विश्वास गरिरहेको छैन । यदि अमरेश सिंहले टिकट नपाए सो क्षेत्रबाट कांग्रेसले कसलाई उम्मेदवार बनाउँछ भन्नेबारे पनि चर्चा चलिरहेको छ ।
केन्द्रीय सदस्य जंगीलाल रायका अनुसार क्षेत्रीय समितिबाट सिफारिस भए पनि गगन थापा सो क्षेत्रबाट उम्मेदवार बन्ने छैनन् । अमरेशकुमार सिंहको नाम सिफारिस नभएको र कांग्रेसबाट उम्मेदवार हुने अर्को कुनै नेता नदेखिएका कारण एक प्रकारको अन्योल रहेको उनले बताए ।
कांग्रेसबाट अमरेश सिंहले उम्मेदवारी नपाउने अवस्थामा गठबन्धनको सिट बाँडफाँटमा सो क्षेत्रमा माओवादी केन्द्रले दाबी गर्ने देखिएको छ । माओवादी केन्द्रबाट त्यहाँका लागि दुईजना उम्मेदवार देखिएका छन् । सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका रामेश्वर राय यादव क्षेत्र नम्बर ४ मा उम्मेदवार बन्न इच्छुक छन् । त्यस्तै, सोही क्षेत्रका शिवपुजन राय यादवले पनि उम्मेदवारीका लागि दाबी गरिरहेका छन् ।
त्यहाँ जसपाको राम्रो संगठन छैन । त्यसैले ऊ गठबन्धनमा पनि टिकटको दाबी नगर्ने जस्तो देखिएको छ । यद्यपि जसपाले उदयचन्द्र मिश्रको नाम सिफारिस गरेको छ । यसअघि अमरेश सिंहसँगै लोसपाका नेता राकेश मिश्रले प्रतिस्पर्धा गरेका थिए । मिश्र यसपटक पनि चुनाव लड्ने तयारीमा छन् । तर अहिलेसम्म त्यसबारेमा पार्टीले कुनै निर्णय लिएको छैन ।
लोसपाका कार्यकारिणी सदस्य अनिलकुमार झा पनि सर्लाही–४ बाट चुनाव लड्ने चर्चा छ । त्यस्तै, लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पनि चर्चा छ । तर लोसपाले अहिलेसम्म सो क्षेत्रबाट कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लागेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले हेटौंडा कमिटीको अध्यक्षमा कार्की निर्वाचित
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन