अन्तरवार्ता

अझै दुई महिना डेंगु सङ्क्रमणको उच्च जोखिम

डेंगुलाई महामारी नै घोषणा गर्ने आधार सृजना भएको छैन : डा. गोकर्ण दाहाल

person explore access_timeभदौ २१, २०७९ chat_bubble_outline0

नेपालमा हाल ७५ जिल्लामा ५ हजारभन्दा बढी डेंगुका केस पुष्टि भइसकेका छन् । यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा देखिएका छन् । काठमाडौँ उपत्यकाका अस्पतालमा डेंगुका बिरामीको चाप बढ्न थालेको छ ।


डेंगुको सङ्क्रमण नियन्त्रण, पहिचान र उपचारका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले के गरिरहेको छ ? अझै दुई महिनासम्म सङ्क्रमणको उच्च जोखिम रहने भएकाले कतै डेंगुले महामारीको रूप लिने त होइन ? त्यसका लागि सरकारले कस्तो तयारी तथा योजना बनाइरहेको छ ? डेंगु सङ्क्रमण रोक्नका लागि केन्द्र प्रदेश, स्थानीय तह र स्वयं व्यक्तिले के गर्नुपर्छ ? यिनै विषयमा केन्द्रीत रहेर ईडीसीडीअन्तर्गत किटजन्य  शाखाका प्रमुख डा. गोकर्ण दाहालसँग रातोपाटीकर्मी माया श्रेष्ठले गरेको कुराकानी :



 डेंगु सङ्क्रमितको चाप सबैभन्दा बढी कुन प्रदेश र जिल्लामा छ ?



देशका ७५ वटा जिल्लामा डेंगुका केस देखिएको रिपोर्टिङ भएको छ । हालसम्म ५ हजार २९ वटा केस पुष्टि भएका छन् । केसको लोड बागमती, लुम्बिनी र प्रदेश नम्बर एकका केही जिल्लाहरूमा बढी देखिएको छ । गएको १० महिनायता ललितपुर जिल्लामा मात्रै १८ सय ३२ वटा देखिएको छ । काठमाडौँमा ८८८ वटा केस, मकवानपुरमा ५९८ केस, रुपन्देहीमा ४३९ केस र धादिङमा १११ वटा केस देखिएको छ । बाँकी जिल्लाहरूमा १०० भन्दा कम केसहरू रहेको रिपोर्ट भएको छ ।  

 अझै दुई महिना सङ्क्रमितको दर बढ्ने आँकलन गरिएको छ । कस्तो अवस्थामा सरुवाजन्य रोगको महामारी घोषणा गर्ने हो । सरकार डेंगु   महामारी घोषणा गर्न लागेको हो र  ?

देशका विभिन्न स्थानमा डेंगुका बिरामीको चाप बढेको अवस्था छ । डेंगुका बिरामीहरूको रिपोर्टिङ डाटालाई नजिकबाट नियालिरहेका छौँ  । यो सिजनमा प्रक्षेपण गर्दा विगतका वर्षहरूको तुलना गर्दा यतिसम्म हुन सक्छ भनेर आँकडालाई अध्ययन गरिरहेका छौँ ।

अघिल्लो वर्षको आँकडाभन्दा केसहरू माथि गएकाले सम्बन्धित निकायहरू बसेर छलफल गरिरहेका छौँ । अघिल्ला अघिल्ला वर्षको डाटाहरूलाई एनालाइसीस गरिरहेका छौँ । त्यसलाई जोडेर प्रक्षेपणका आधारहरू तयार गरिरहेका छौँ । यद्यपि डेंगुको हकमा कति केस भयो भने वा कति वटा थ्रेसहोल्ड पार भयो भने यसलाई महामारी अर्थात् आउट ब्रेक भन्ने बारे उदाहरण हेर्दा कहीँ पनि त्यस्तो देखिँदैन । तर पनि हामीले मापदण्डबारे गृहकार्य गरिरहेका छौँ ।

 त्यसपछि निश्चित भार नाघ्यो भने त्यसलाई आउट ब्रेक भन्न सक्ने एउटा आधार हुन सक्छ । अहिलेको आँकडाले देशभरि नै महामारी हो भनेर घोषणा गर्नुपर्छ भन्ने कुरालाई सपोर्ट गर्दैन । किनभने हाम्रो  जनसङ्ख्या, स्वास्थ्यका उपकरण जनशक्ति जस्ता धेरै कुराले प्रभाव पार्छ ।

त्यसकारण जहाँ केस बढी देखिरहेको छ त्यो ठाउँमा रिपोर्टिङ भएको केसलाई नजिकबाट नियालिरहेका छौँ । केसहरूको ट्रेन्ड कस्तो छ ? रिपोर्टिङको तरिका कस्तो छ ? सात–आठ दिनको एकै दिन रिपोर्टिङ गरेर मात्रै केस बढेको हो कि ? दिनदिनै केस बढेको हो ? रिपोर्टिङको प्याटर्न कस्तो छ ? त्यसपछाडिका धेरै कारणहरू खोजिरहेका छौँ ।

यो सिजन डेंगु बढ्ने सिजन हो । बर्खा पछाडि वा बर्खा सुरु भइसकेपछि डेंगुका बिरामीहरू बढ्छन् भन्ने अनुमान विगतका वर्षहरूबाट थाहा पाउन सक्छौँ । त्यस आधारमा प्रत्येक जिल्लाको विगतका आँकडालाई अहिलेको आँकडासँग लिङ्क गरेर अध्ययन गरिरहेका छौँ ।

 २०६१ पछि डेंगुका केस सिस्टममा रेकर्ड छ । प्रत्येक वर्ष डेंगुका बिरामी बढिरहेका छन् ।  गत्त वर्षभन्दा यस वर्ष केस बढेको पाइएको छ । अझै पनि असोज कार्तिक–महिनासम्म डेंगुको प्रभाव रहिरहन सक्ने पुराना आँकडाहरूले देखाउँछ । त्यसैले अझै दुई महिना जोखिममा छौँ ।  

डेंगुको सङ्क्रमण दर यसरी ह्वात्तै बढ्नुको कारण के हो?

डेंगु रोग सार्ने माध्यम एडिस जातको प्रजातिको लामखुट्टे हो । त्यस हिसाबले लामखुट्टेको वृद्धि विकासलाई नियन्त्रण गर्न नसक्दासम्म डेंगु रोग लागिरहन्छ । हिमाली जिल्ला, उच्च पहाडी जिल्लाबाट पनि रिपोर्टिङ भएको छ । यद्यपि केसहरूको भार सहर उन्मुख क्षेत्र र सहरी भागमा भएको रिपोर्टिङले देखाउँछ ।

डेंगु सङ्क्रमित बढ्नुमा धेरै कारणहरू छन् । जसमा लामखुट्टेको वृद्धि विकास, व्यक्तिगत तवरबाट पानीको व्यवस्थापन नहुँदा, सही जीवन शैली नहुँदा, घर वरिपरिको वातावरणको व्यवस्थापन गर्ने नहुँदा, सहरीकरण भएअनुसार व्यवस्थापन नहुँदा र मानिसहरूको चलायमान हुने गएकाले केसहरूको बढ्दै गएको हो ।

डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न तथा डेंगुसँग जुध्नका लागि के–के गर्नुभएको छ?

डेंगुको केस सिस्टममा रेकर्ड हुने बित्तिकै त्यसले हामीलाई अलर्ट गराएको हो । त्यस आधारमा कार्यक्रम र क्रियाकलाप सुरुवात गरेका छौँ । पुराना आँकडालाई हेर्दा कार्यस्थलहरूमा स्कुलहरू, काम गर्ने कारखाना, होटलहरुमा डेंगु सार्ने लामखुट्टेको वृद्धि हुने भएकाले जोखिमको आधार हेरेर छलफल गरेका छौँ ।  

मनसुन सुरुवात भएपछि तयारी अवस्थामा रहन प्रदेश स्वास्थ्य निर्देशनालयहरू, जिल्ला स्वास्थ्य कार्यालयहरू, केस देखिएका पालिकाका स्वास्थ्य प्रमुखसँग छलफल गरेका थियौँ । जुनजुन जिल्लामा केस बढी देखिएको छ त्यहाँ पनि जनप्रतिनिधिहरुसँग छलफल गरेर पालिकाको स्वास्थ्य हेर्ने सबै व्यक्ति र स्वयंसेविकालाई परिचालन गर्ने कार्य सक्रिय रूपमा काम भइरहेको छ । 

फलस्वरूप अहिले काठमाडौँ, भक्तपुर, ललितपुर लगाएका धेरै जिल्ला र वडामा जनप्रतिनिधि सँगसँगै टोल विकास समिति, स्वास्थ्य स्वयंसेविका मिलेर डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने, त्यसलाई नष्ट गर्ने, समाज परिवार, व्यक्तिमा सचेतना फैलाउने काम भइरहेको छ ।

 यस्तै, अस्पतालमा डेंगु सङ्क्रमण भई कस्ता लक्षण भएका बिरामी भर्ना गर्नु परेको छ भनेर पनि अध्ययन गरिरहेका छौँ ।  अस्पतालहरूबाट सल्लाह रायहरू लिइरहेका छौँ । त्यस सन्दर्भमा जहाँ केस बढी देखिएको छ, त्यहाँका स्वास्थ्यसम्बन्धी फोकल प्रर्सनहरुलाई पनि सञ्चार भइरहेको छ । 

डेंगु सङ्क्रमण दर बढिरहँदा भावी दिन यससँग जुध्नका लागि सरकारको तयारी र प्रक्षेपण के छ?

अझै हामी डेंगुको जोखिम छौँ । अझै आउने दुई महिना सङ्क्रमितको दर बढ्छ भन्ने छ । बढ्ने घट्ने प्रत्यक्ष सम्बन्ध वातावरणसँग हुन्छ । पानी पर्नेदेखि लिएर विभिन्न तत्त्वहरू यो सँग जोडिएका हुन्छ । काठमाडौँ उपत्यकाका स्वास्थ्य संयोजक, नगर प्रमुखसँग बसेर केस अझै बढ्न सक्छ भनेर छलफल गरिरहेका छौँ । डेंगु सङ्क्रमण नियन्त्रण, पहिचान र उपचारका लागि काम भइरहेका छन् । केसहरू थपिन सक्ने जोखिम भएकाले कसरी अगाडि बढ्ने र रोकथाम र नियन्त्रण गर्ने भनेर  छलफलको योजना बनाएका छौँ ।

डेंगुका विभिन्न शेरोटाइप हुन्छन् । कुन शेरोटाइप हो अर्थात् डेंगु भाइरसमा कुन प्रजाति बढी सक्रिय छ भनेर शेरोटाइपिङ कुराहरू गरिरहेका छौँ । धेरै केस देखिएका जिल्लामा लामखुट्टेको सक्रियता कस्तो छ । हामीले देख्ने धेरै लामखुट्टे हुन्छन् त्यसमध्ये एडिस जातको लामखुट्टेले मात्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्छ । त्यसैले एडिसजातको लामखुट्टेको सक्रियताका बारेमा सर्भेलेन्स  गछौँ । 

एडिस जातका लामखुट्टेले हामीले भन्ने गरेको भन्दा फरक ठाउँहरूमा आफ्नो वृद्धि  र विकास, बानी परिवर्तन गरेको छ कि ? टायरमा जमेको पानीमा, सफा पानीमा, घरका गमला, फूलदानीको पानीमा, एसी,कुलर लगायतका पानीमा बढी अण्डा पार्नुका साथै आफ्नो सन्तान उत्पादन गर्छ । त्योभन्दा बाहेक अन्य कुनै ठाउँहरू पनि त्यसले वृद्धि र विकास गरेको हुन सक्छ । त्यसको आनीबानीका कुराहरू पनि पत्ता लगाउने हिसाबले सर्भेलेन्स गर्ने भएका छौँ । 

अस्पतालहरूसँग निरन्तर पनि छलफल  गरिरहेका छौँ । केसहरू बढ्दै जाँदा बिरामी बढ्दै जान्छन् । यद्यपि २० देखि २५ प्रतिशतलाई डेंगुको सामान्य लक्षण देखिन्छ । लक्षण देखिएका बिरामी मध्ये न्यून सङ्ख्यामा मात्रै अस्पताल भर्ना हुने गर्छन् । अस्पतालमा भर्ना हुने बिरामीको जटिलता, अवस्था कस्तो छ भनेर नजिकबाट  हेरिरहेका छौँ ।  

  डेंगुको सङ्क्रमणबाट बाच्नका लागि व्यक्तिगत तवरबाट कस्ता विधिहरू अपनाउने ?

डेंगु रोगलाई रोकथामलाई रोकथाम गर्नका लागि खास गरी व्यक्तिबाट सुरुवात गर्नुपर्छ । व्यक्तिले  घर मात्रै नभएर काम गर्ने क्षेत्रसम्म लामखुट्टेको वृद्धि र विकास हुने क्षेत्र अर्थात् लामखुट्टेले अण्डा पार्न सक्ने, सफा पानीमा लामखुट्टे बस्ने भएकाले दिउँसोको समय बढी सक्रिय हुने भएकाले त्यसको समयमा अझ बढी लामखुट्टेले टोक्ने भएकाले त्यसबेला सजक रहनुपर्छ ।

लामखुट्टे वृद्धि र विकास हुने ठाउँहरूमा व्यवस्थापन गर्ने कार्य गर्न सुरुवात गर्‍यौँ भने परिवार समुदाय र देशभर नै नियन्त्रण गर्न सकिन्छ । डेंगुका विषयमा पैरवी गर्न स्थानीय सरकार लगातार लागिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आवश्यकताका आधारमा स्थानीय तहहरूलाई  प्राविधिक रूपमा सहयोग गर्ने, तीन तहका सरकार मिलेर रोकथाम र नियन्त्रणका लागि परेका छौँ । 

डेंगुको लक्षण देखिएर अस्पताल पुग्नेहरुले परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने गरेको चिकित्सकहरूले बताउँदै आएका छन् । कतै डेंगुसँग अन्य भाइरसको पनि सङ्क्रमण भएको त छैन भन्ने शंका गर्न थालिएको छ । यस विषयमा ईडीसीडीले ध्यान पुगेको छ कि छैन?

निरन्तर चिकित्सकहरूसँग परामर्शमा छौँ । पछिल्लो दिनहरूमा डेंगु सँगसँगै अरू भाइरसजन्य रोगहरू पनि मिसिएको अर्थात् मिक्स्ड इन्फेक्सन भएको भन्ने कुरा उहाँहरूबाट प्रारम्भिक जानकारी आएको छ । त्यही आधारमा शेरोटाइपिङको अध्ययन अनुसन्धान गर्दा जसमा डेंगुको लक्षण देखिएर जाँच गर्दा नेगेटिभ देखिएको छ ती नमुनाहरूमा जस्तै, चिकुनगुनिया र जिकाको पनि सँगसँगै जाँच गर्ने भएका तयारी गरेका छौँ । डेंगु जाँच गर्न पठाएका नमुनामा सँगै चिकुनगुनिया र जिका भाइरसको परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग छलफल गरेका छौँ । त्यस अध्ययन अनुसन्धानले पनि धेरै सहज बनाउँछ । 

डेंगुको लक्षण देखिनासाथ आफै लक्षणका आधारमा मेडिकलबाट औषधि ल्याएर खाने प्रवृत्ति बढेको छ । के यसरी लक्षणका आधारमा औषधि खान हुन्छ?

डेंगुको लक्षण देखिँदैमा आफै लक्षणका आधारमा औषधि पसलमा गएर टाउको दुखेको ज्वरो आएको भनेर दुखाइ कम गर्ने नाममा औषधि प्रयोग हुँदैन । किनभने सामान्य डेंगुलाई पनि औषधिहरूको अव्यवस्थित प्रयोगले स्वास्थ्य अवस्थालाई जटिलता तिर लैजान सक्छ ।  त्यसैले स्वास्थ्यकर्मीसँग परार्मश लिए मात्रै औषधि प्रयोग गर्नुपर्छ । डेंगुलाई घरमै बसेर स्वास्थ्यकर्मीको परामर्शका आधार खाएको औषधिले सजिलै निको पार्न सकिन्छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।