बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आइतबार, १२ भदौ २०७९, २० : ४५
आइतबार, १२ भदौ २०७९

आज २०७९ साउन भदौ १२ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयकलाई राष्ट्रियसभाले पठायो संसदीय समितिमा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर विरुद्ध महाभियोगका लागि बारले बुझायो प्रमाण, आन्दोलनरत विद्यालय कर्मचारीलाई वार्ताका लागि आह्वान, गोविन्द केसीले घोषणा गरे अनसन, अवैध संरचना भत्काउने काठमाडौं महानगरको अभियान जारी, माओवादीलाई वामपन्थी भित्रको पहिलो शक्ति बनाउने गरी लाग्न कार्यकर्तालाई प्रचण्डको आह्वान, कम्युनिस्ट आन्दोलन बचाउन एमालेबाट विद्रोह : माधवकुमार नेपाल, बागमती प्रदेशसभाका २२ सदस्य अब प्रतिनिधिसभा चुनाव लड्ने योजनामा, नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिष्कार गर्ने लगायत छन् ।

१. राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयकलाई राष्ट्रियसभाले पठायो संसदीय समितिमा
राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरे पनि राष्ट्रियसभाले छलफलका लागि संसदीय समितिमा पठाएको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

​२. प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध महाभियोगका लागि बारले बुझायो प्रमाण
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग पुष्टी गर्न विभिन्न प्रमाण महाभियोग सिफारिस समिति समक्ष बुझाएको छ । यस्तै उमेश बानियाले पनि सिफारिस समितिमा थप प्रमाण पेस गरेका छन् ।

​३. आन्दोलनरत विद्यालय कर्मचारीलाई वार्ताका लागि आह्वान
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत विद्यालय कर्मचारीहरूलाई वार्ताको लागि बोलाएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्लाई एक पत्र पठाउँदै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताका लागि आउन आग्रह गरेको हो ।  

४. गोविन्द केसीले घोषणा गरे अनसन
डा गोविन्द केसीले विभिन्न ६ बुँदे मागसहित अनसनको घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै केसीले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने घोषणा गरेका हुन् ।

५. अवैध संरचना भत्काउने काठमाडौं महानगरको अभियान जारी
काठमाडौं महानगरले आफ्नो क्षेत्रमा रहेका अवैध संरचनालाई हटाउने अभियानलाई तीव्रता दिएको छ । ३५ दिने सूचना दिँदा पनि अटेर गरेकाहरूमाथि महानगरले डोजर लगेर त्यस्ता संरचना भत्काउने गरेको छ ।

६. माओवादीलाई वामपन्थी भित्रको पहिलो शक्ति बनाउने गरी लाग्न कार्यकर्तालाई प्रचण्डको आह्वान 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न निर्वाचनमा माओवादीलाई वामपन्थी भित्रको पहिलो शक्ति बनाउने गरी लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् । गठबन्धन बनाएर जाँदा माओवादीलाई संसदभित्रको दोस्रो शक्ति बन्नबाट कसैले रोक्न नसक्ने उनको भनाइ छ । 

७. कम्युनिस्ट आन्दोलन बचाउन एमालेबाट विद्रोह : माधवकुमार नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले एमालेबाट विद्रोह नगरेको भए नेपालको राजनीति ठुलो सुरुङभित्र मात्रै नभएर प्रतिगामी दिशामा गइसक्ने बताएका छन् । अध्यक्ष नेपालले जनताका अधिकारको रक्षा र कम्युनिस्ट आन्दोलन बचाउन एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पुनर्गठन गरिएको बताए ।  

८. बागमती प्रदेशसभाका २२ सदस्य अब प्रतिनिधिसभा चुनाव लड्ने योजनामा
बागमती प्रदेशसभामा हाल कायम १०७ सदस्यमध्ये २२ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने योजना बनाएका छन् । प्रदेशसभा छाडेर प्रतिनिधिसभातर्फ जान चाहनेमा सबैभन्दा धेरै एमालेका सांसद छन् । 

९.नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिष्कार गर्ने
नेकपा (क्रान्तिकारी माओवादी)ले मङ्सिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । महासचिव मोहन वैद्य ‘किरण’ को अध्यक्षतामा केन्द्रीय समितिको विशेष बैठकले निर्वाचनलाई सक्रिय रूपमा बहिष्कारको नीति अवलम्बन गर्ने निर्णय गरेको हो । 

१०. र यो पनि,
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार बसेको एमाले निर्वाचन परिचालन कमिटीको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको पत्रकार सम्मेलन बिथोल्न खोज्दा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विश्वविद्यालय उपकुलपति धर्मकान्त बाँस्कोटाले आयोजना गरेको पत्रकार सम्मेलन नेविसंघले नाराबाजी गर्दै बिथोल्ने प्रयास गरेको थियो ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा साना राजनीतिक दलहरू कतै कुनै क्षेत्रमा जित हात पार्न सकिन्छ कि भन्ने आशमा दल दर्ता तथा समानुपातिक तर्फको मनोनयन प्रक्रियामा भाग लिन कागजपत्र बोकेर निर्वाचन आयोग पुगिरहेका छन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप