सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आन्दोलनरत विद्यालय कर्मचारीलाई शिक्षा मन्त्रालयले वार्ताको लागि बोलायो

आइतबार, १२ भदौ २०७९, १७ : ०२
आइतबार, १२ भदौ २०७९

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत विद्यालय कर्मचारीहरूलाई वार्ताको लागि बोलाएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्लाई एक पत्र पठाउँदै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताको लागि आउन आग्रह गरेको हो । 
मन्त्रालयका उपसचिव विदुरराज गिरीले लेखेको पत्रमा विद्यालय कर्मचारीले उठाएका मागका विषयमा नेपाल शिक्षक महासंघ मार्फत छलफल तथा वार्तामा सहभागी हुन अनुरोध गरेका हुन् । हाल घोषणा गरिएको विद्यालय बन्द कार्यक्रमहरू स्थगित गरी विद्यालयका दैनिक पठन पाठन सहज हुने वातावरण सिर्जना गर्न समेत आग्रह गरेको छ । 

गत १ भदौदेखि आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरूले आजदेखि थालिएको विद्यालय बन्द घोषणा गरेका छन् । आज देशभरका ८० प्रतिशत भन्दा बढी विद्यालयहरू बन्द गरिएको नेपाल विद्यालय कर्मचारी परिषद्का उप–महासचिव प्रेम बहादुर खत्रीले बताए । 

वार्ताका लागि पत्र प्राप्त भएको र के गर्ने भन्ने विषयमा परिषद्को बैठक बसेर छलफल हुने खत्रीले बताए । ‘पहिलो दिनको आन्दोलन कार्यक्रम सफल भएको छ । विद्यालय बन्द गर्न सहयोग गर्ने सबैमा धन्यवाद । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफल गर्दैछौं,’ उप–महासचिव खत्रीले भने ।  

सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग अघि सारेर विद्यालय कर्मचारीहरू आन्दोलन गर्दै आएका छन् । आजदेखि विद्यालय बन्दको घोषणा गरेपछि सरकारले वार्ताको लागि बोलाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप