बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेकपा (क्रान्तिकारी माओवादी) ले निर्वाचन बहिष्कार गर्ने

आइतबार, १२ भदौ २०७९, २१ : ००
आइतबार, १२ भदौ २०७९

नेकपा (क्रान्तिकारी माओवादी)ले मङ्सिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । महासचिव मोहन वैद्य ‘किरण’ को अध्यक्षतामा केन्द्रीय समितिको विशेष बैठकले निर्वाचनलाई सक्रिय रूपमा बहिष्कारको नीति अवलम्बन गर्ने निर्णय गरेको पार्टीले जानकारी दिएको हो । 

यस नीति तथा निर्णयको दृढ कार्यान्वयनका लागि पार्टीले विभिन्न कार्यक्रमहरूको आयोजनासमेत  गर्ने भएको छ । संघ तथा प्रदेश दुवै तहको संसदीय निर्वाचन स्वच्छ, निष्पक्ष तथा धाँधली रहित उदारवादी हिसाबले सम्पन्न गरिने नभई वर्तमान राज्यसत्ता तथा व्यवस्थाका प्रतिनिधिहरूद्वारा फासीवादी ढङ्गले प्रस्तुत हुने देखिएको पार्टीको ठहर छ । 

त्यस्तै प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्त्वहरूद्वारा पैसाको खोलो बगाउने, साधन स्रोतहरूको चरम दुरुपयोग गर्ने, शक्ति प्रदर्शन तथा साम, दाम, दण्ड, भेदका विविध नीति तथा उपायहरूको प्रयोग गरी जनसमुदायलाई, अत्यधिक रूपमा त्रसित, आतङ्कित एवम् भयभीत तुल्याउने र घेराबन्दीमा पार्ने अवस्था रहेको बैठकले निष्कर्ष निकालेको छ ।

पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफूलाई कम्युनिस्ट बताउँदै आएका कैयौँ पार्टी तथा सङ्गठनहरु संसद्को उपयोग गर्ने वा भाग लिने मात्र नभई प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाप्रति नै आत्मसमर्पण गर्दै आएको, उपयोगको नाममा सरकारमा सामेल भई मिलेराँवादको अभ्यास गर्ने, पुरानो राज्यसत्ता तथा व्यवस्थालाई सघाउने एवम् त्यसैमा विलय हुने, विरोधी पार्टीको चुनाव चिन्ह लिई आफ्नो अस्तित्व नै गुमाउने, संसद्को उपयोग होइन संसदबाटै उपयोग हुने जस्ता निकृष्ट उदाहरण र नकारात्मक अनुभव प्रचुर मात्रामा रहेका र ती सबैबाट आवश्यक पाठ सिक्दै अघि बढ्न जरुरी भएको ।’ 

बैठकले महासचिव किरणद्वारा केन्द्रीय समितिको बैठकमा प्रस्तुत “वर्तमान परिस्थिति र संसदीय निर्वाचन” शीर्षक रहेको राजनीतिक प्रस्ताव पारित गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप