आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : एमसीसीबारे कसले बोल्यो झूट,  प्रधानसेनापति भारत जाँदै

सोमबार, २२ कात्तिक २०७८, २० : ००
सोमबार, २२ कात्तिक २०७८

आज २०७८ कार्तिक २२ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

१. न्यायाधीशहरु प्रधानन्यायाधीशसँगको संयुक्त इजलासमा नबस्ने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने पक्षमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकको मुद्दा नहेर्ने निष्कर्ष निकालेका छन् ।  सोमबार प्रधानन्यायाधीश जबराले आफू समेतको इजलास तोकेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका थिए । सो छलफलबाट न्यायाधीशहरूले प्रधानन्यायाधीशसँगको संयुक्त इजलासमा नबस्ने र बन्दी प्रत्यक्षीकरण बाहेकको मुद्दा पनि नहेर्ने निष्कर्ष निकालिएको एक न्यायाधीशले बताए । ​

२. बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाए विश्वासको मत

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनले सोमबार प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले समर्थन जनाएका हुन् । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा पक्षमा ५९ मत र विपक्षमा ४३ मत खसेको थियो । प्रस्तावमा दुई मत भने तटस्थ रहेको थियो । १०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५५ सांसदको समर्थन आवश्यक हुन्छ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा बैठकमा १०४ सांसद थिए ।

३. चीनले नेपाली सेनालाई दियो ३ लाख डोज खोप

चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप दिएको छ । चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज खोप प्रदान गरेको हो । ​सोमबार जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि चीनका राजदूत होउ यान्छीले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन् ।  सो क्रममा प्रधानसेनापति शर्माले यस सहयोगको लागि चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरे ।

४. रामचन्द्रको नेतृत्वमा राजनीतिक संयन्त्र गठन​

पाँच दलीय सत्ता गठबन्धनको बैठकले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ । सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले संयन्त्र गठन गर्ने निर्णय गरेको हो ।​  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार संयन्त्रमा सत्ता गठबन्धनमा रहेका ५ वटा पार्टीमा २–२ जना सदस्य रहनेछन् । मन्त्रिपरिषद्बाट सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि संयन्त्रका सदस्य रहनेछन् । संयन्त्रका पदेन सदस्य नरहे पनि प्रधानमन्त्री भने कार्यदलको बैठकमा सहभागी हुने श्रेष्ठले बताए ।

५. महाधिवेशनपछि एमालेका ‘१० बुँदे पक्षधर’ नेताको हैसियत के होला ?

 नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिरको दोस्रो साता सम्पन्न हुँदैछ । महाधिवेशनले छान्ने नेतृत्वका लागि एमालेले आगामी विहीबार करिव २ हजार (१९९९) महाधिवेशन प्रतिनिधि चुन्दैछ । २७ गते देशभरका करिव साढे सात लाख कार्यकर्ताबाट छानिने १९९९ महाधिवेशन प्रतिनिधिले एमालेको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । महाधिवेशन मिति नजिकिएसँगै एमालेले कस्ता र कुन कुन नेतालाई नेतृत्वमा पुर्‍याउला भन्ने चासो र बहस नेता कार्यकर्तामा सुरु हुन थालेको छ । खासगरी अध्यक्षसहित निर्वाचित हुने १५ पदाधिकारीमा कस्ता कस्ता अनुहार आउलान् भन्ने चासो एमाले वृत्तमा चल्न थालेको छ ।

६. ६० लाख डोज खोप खरिद गर्न मन्त्रिपरिषद्को स्वीकृति

सरकारले थप ६० लाख खोप खरिद गर्न प्रक्रिया अघि बढाएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ६० लाख ९०० डोज खोप खरिद गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यस्तै बैठकले केही सहसचिवहरुको नियुक्ति र पदस्थापनाको निर्णय पनि भएको एक मन्त्रीले जानकारी दिए ।

७. एमसीसीबारे देउवा र प्रचण्डमध्ये कसले झूट बोल्यो ?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन् । एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाइ र त्यस्तो पत्र नपठाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति मध्ये एक झुट भएको उल्लेख गर्दै अध्यक्ष ओलीले झुट बोल्ने काम नगर्न चेतावनी दिएका हुन् । 

८. प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाँदै

प्रधानसेनापति प्रभुराम शर्मा  भारतको औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली जाने भएका छन्।  भारतका सेनाध्यक्ष एमएम नरवणेको  निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले  भ्रमणका लागि आजै बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ ।

९. आयात रोकिँदा पनि भारतीय बटर, घ्यू तथा धुलो दूध छ्याप्छ्याप्ती

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले २०७७ साउन ४ गतेदेखि घ्यू, बटर र एसएमपी (धुलो दूध) आयातमा रोक लगायो । तर, नेपालको दूग्ध बजार (डेरी मार्केट) मा अहिले पनि भारतीय उत्पादनको हालीमुहाली छ । पसल–पसलमा भारतका विभिन्न कम्पनीबाट उत्पादित घ्यू, बटर र धुलो दूध बिक्री भइरहेको छ । किराना पसल, मार्ट अन्य सपिङ्ग मलहरूमा नेपाली घ्यू तथा बटर खासै पाइँदैन । तर, भारतलगायत अन्य देशमा उत्पादित घ्यू, बटर र एसएमपी (धुलो दूध) जताततै पाइन्छन् ।

१०. ३९० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ५०२६ जनामा कोरोनाभाइरस परीक्षण गर्दा ३९० जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४२५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १४ हजार ९२९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ८३६ जनामा पुष्टि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप