आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आयात रोकिँदा पनि भारतीय बटर, घ्यू तथा धुलो दूध छ्याप्छ्याप्ती

सोमबार, २२ कात्तिक २०७८, १७ : ०९
सोमबार, २२ कात्तिक २०७८

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले २०७७ साउन ४ गतेदेखि घ्यू, बटर र एसएमपी (धुलो दूध) आयातमा रोक लगायो । तर, नेपालको दूग्ध बजार (डेरी मार्केट) मा अहिले पनि भारतीय उत्पादनको हालीमुहाली छ । पसल–पसलमा भारतका विभिन्न कम्पनीबाट उत्पादित घ्यू, बटर र धुलो दूध बिक्री भइरहेको छ । किराना पसल, मार्ट अन्य सपिङ्ग मलहरूमा नेपाली घ्यू तथा बटर खासै पाइँदैन । तर, भारतलगायत अन्य देशमा उत्पादित घ्यू, बटर र एसएमपी (धुलो दूध) जताततै पाइन्छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार २०७७ साउनदेखि २०७८ असोजसम्म नेपालमा ६८८ केजी घ्यू आयात भएको छ । यस्तै, एक लाख ३६ हजार ५८४ केजी बटर र २० हजार ९४८ केजी धुलो दूध (एसएमपी) आयात भएको छ । जब कि सरकारी निर्णअनुसार यी दूग्ध उत्पादन आयात गर्न पाइँदैन । सरकारले गत वर्ष धुलो दूधमा नेपाल आत्मनिर्भर भएको घोषणा नै गरेको थियो ।

कृषि मन्त्रालको पत्रअनुसार घ्यू आयातमा पूर्ण रोक लगाइएको छ भने बटरको हकमा १०० ग्राम वा सो भन्दा कम तौलमा प्याकिङ भइ आएको टेबल बटर, साल्ट बटरबाहेक अन्य प्याक आयातनमा पूर्ण रोक लगाएको छ । तर, भारतीय कम्पनी अमुलका बटर र पताञ्जलीका घ्यूको सबैखाले प्याक नेपालमा बिक्री भइरहेकै छ ।

अहिले नेपाली बजारमा नेपालमा उत्पादित घ्यू तथा बटर अभाव छ । कोभिड–१९ महामारीका कारण दूध बिक्री नहुँदा डेरी उद्योगीहरूले त्यसबाट धुलो दूध, बटर तथा नौनी बनाएर भण्डारण गरेका थिए । त्यो भण्डारण गरिएका वस्तु बिक्री नहुँदा सरकारले भारतबाट आयातमा रोक लगाएको थियो । कृषि मन्त्रालयले आयात रोक्न पत्राचार गरेपनि वाणिज्य मन्त्रालयले सूचना ननिकालेका कारण ती वस्तु आयात नरोकेको भन्सार विभाग स्रोतले जानकारी दियो ।

रोक लगाए पनि बजारमा भारत तथा अन्य मुलुकको घ्यू तथा बटर प्रयाप्त मात्रामा पाउने गरेको नेपाल डेरी एशोसिएशनका महासचिव एवम् डेरी उद्योगी प्रह्लाद दाहालले बताए । कोरोनाको समयमा डेरी उद्योगमा स्टोर रहेका सबै दूग्धजन्य पदार्थहरू अहिले बिक्री भइसकेको र चाडपर्वमा समेत आफूहरूले मागअनुसार दिन नसकेको उनले जानकारी दिए ।

‘हामीसँग अहिले झोल दूध, बटर, धुलो दूध, नौनीको अभाव छ, उपभोक्ताले मागेअनुसार दिन सकिरहेका छैनाैँ, तर सरकारले यसतर्फ कुनै ध्यान दिएको छैन,’ उनले भने, ‘कोरोनाका कारण गाईवस्तु पालनमा कमी आएको छ, त्यसकारण नेपालमा दूध उत्पादन पनि घटेको छ, अहिले पर्याप्त दूध नभएको कारण धुलो दुध, बटर तथा नौनी बनाउन पाएको छैन, अबको एक÷दुई हप्तापछि अभाव थप बढ्नेछ ।’ केही दिनका लागि भएपनि बटर आयातमा लगाइएको बन्देजलाई फुकुवा गर्नुपर्ने र नेपाली उद्योगीलाई घ्यू बनाउनका लागि कच्चा पदार्थको रूपमा सेतो बटर ल्याउन दिनुपर्ने उनले तर्क गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप