बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा र उपनिर्वाचनमा मिलेर जाने सत्ता गठबन्धनमा सहमति

सोमबार, २२ कात्तिक २०७८, १९ : २७
सोमबार, २२ कात्तिक २०७८

पाँच दलीय सत्ता गठबन्धनले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको गठबन्धनको बैठकले आगामी राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनसम्मलाई गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो । बैठकमा सहभागी नेताका अनुसार सरकार रहुन्जेल गठबन्धनलाई निरन्तरता दिने नेताहरूबिच सहमति भएको हो ।

आजको बैठकले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय पनि गरेको छ । सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले संयन्त्र गठन गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार संयन्त्रमा सत्ता गठबन्धनमा रहेका ५ वटा पार्टीमा २–२ जना सदस्य रहनेछन् । मन्त्रिपरिषद्बाट सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्य रहनेछन् । संयन्त्रका पदेन सदस्य नरहे पनि प्रधानमन्त्री भने कार्यदलको बैठकमा सहभागी हुने श्रेष्ठले बताए ।

पौडेलले दुई महिना संयन्त्रको नेतृत्व गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्नेछन् । बैठकमा सहभागी नेताका अनुसार संयन्त्रमा नेपाली काँग्रेसको तर्फबाट पौडेल र कृष्ण सिटौला, माओवादीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) को तर्फबाट माधव नेपाल र नाम दिन बाँकी एक जना, जसपाको तर्फबाट उपेन्द्र यादव र नाम दिन बाँकी एक जना, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहनेछन् ।

संयन्त्रलाई सरकारका काम कारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्ने, राष्ट्रिय सभा र उपनिर्वाचनको तालमेलबारे सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप