बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातोपाटी ब्रिफिङ : गठबन्धन सरकारमाथि ओलीको प्रहार, नयाँ बजेट आउने

ओलीलाई एमाले सांसदले ‘राजनेता’ भनेपछि कड्किए काँग्रेस सांसद
मङ्गलबार, २६ साउन २०७८, २० : ४८
मङ्गलबार, २६ साउन २०७८

आज २०७८ साउन २६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा गठबन्धन सरकारमाथि ओलीको प्रहार, अर्थमन्त्रीले गरे देशको आर्थिक अवस्था सार्वजनिक, लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट निवेदनमा सुनुवाई भएन, काँग्रेसको महाधिवेशन सार्न कानुनी उल्झन, कसैको टाङमूनि नछिर्ने मावधकुमार नेपालको प्रष्टोक्ति, ओलीलाई एमाले सांसदले ‘राजनेता’ भनेपछि कड्किए काँग्रेस सांसद, रेशम चौधरीलाई रिहा नगरे भूमिगत आन्दोलन गर्ने थरुहट अगुवाको चेतावनी लगायत छन् ।

१. गठबन्धन सरकारका साझा न्यूनतम कार्यक्रमाथि ओलीको प्रहार
प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका साझा न्यूनतम कार्यक्रमको आलोचना गरेका छन् । सत्ताबाट बाहिरिएपछि पहिलो पटक प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका उनले गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे किन उल्लेख नगरेको भनेर प्रश्न गरे । असमान सन्धि सम्झौता पुनरावलोकन गर्ने भनिएको तर त्यस्ता असमान सन्धि सम्झौता कुन् कुन् हुन् भनेर किन उल्लेख नगरिएको भन्ने प्रश्नसमेत उनले गरे ।

उनले आफ्नै पार्टीका केही नेताले प्रधानमन्त्री देउवालाई साथ दिएको भन्दै तिनीहरुलाई मन्त्री बनाइदिनका लागि देउवासमक्ष व्यङ्गात्मक रुपमा ‘बिन्ती’ पनि गरे । उनले आफू र आफ्नो नेतृत्वको सरकारले गरेका कामका बारेमा विभिन्न प्रकारका टिप्पणी भइरहेको भन्दै आफू जनमतबाट प्रधानमन्त्री भएको र फेरि पनि असाधारण जनमतका साथ मूल ढोकाबाटै सत्तामा आउने दाबी गरे ।

 

२. अर्थमन्त्रीले सार्वजनिक गरे देशको वर्तमान आर्थिक अवस्था, प्रतिस्थापन बजेट ल्याइने सरकारले ओली सरकारद्वारा अध्यादेशमार्फत ल्याइएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने भएको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्था चित्रण गर्दै यस्तो जानकारी दिएका हुन् । उनले सत्ता साझेदार दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड–१९ महामारीका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्ने गरी प्रतिस्थापन विधेयक ल्याइने बताए । उनले मुलुकको सार्वजनिक ऋण वार्षिक बजेटभन्दा पनि बढी रहेको खुलासा गरे । उनले ओली नेतृत्वको सरकारको कार्यकालमा थप एक खर्ब ४३ अर्ब रुपैयाँ शोधनान्तर घाटा बढेको तथ्याङ्कसमेत प्रस्तुत गरे ।

 

 

३. लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट निवेदनमा भएन सुनुवाईलुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानका विरुद्ध दायर रिट निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाई हुन सकेन । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी तोकिएको उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि मंगलबार यसबारे सुनुवाई हुन नसकेको हो । बुधबारका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।

 

४. काँग्रेसको महाधिवेशन सार्न कानुनी उल्झन
आगामी भदौमा महाधिवेशन गर्न असम्भव भएपछि नेपाली काँग्रेस १४ औं महाधिवेशनको नयाँ मिति तोक्ने कसरतमा छ । तर महाधिवेशन सार्नका लागि पनि काँग्रेसले कानुनी उल्झनको सामना गरिरहेको छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशन सार्ने विषयमा कानुनी परामर्श गर्न थालेका छन् । ऐनमा टेकेर महाधिवेशन सार्ने कसरत गरे पनि संविधानमा त्यस प्रकारको व्यवस्था नरहेका कारण काँग्रेस संकटमा परेको छ ।

५. कसैको टाङमूनि नछिर्ने मावधकुमार नेपालको प्रष्टोक्ति
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कसैको टाङमूनि छिरेर सम्झौता नगर्ने प्रस्ट पारेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै यस्तो अडान प्रकट गरेका हुन् । उनले कर्णाली प्रदेशसभामा ‘फ्लोर क्रस’ गरेकै कारण कारवाहीमा परेको खण्डमा ती सांसदलाई जिताउने जिम्मा आफ्नो रहेको दाबी पनि गरे । पार्टी एकताका सन्दर्भमा सकारात्मक संकेत नदेखिएको अवस्थामा देशभर पार्टीको समानान्तर कमिटी खडा गर्ने योजनामा माधव नेपाल पक्ष अडिग देखिन्छ ।

६. राष्ट्रियसभा : ओलीलाई एमाले सांसदले ‘राजनेता’ भनेपछि कड्किए काँग्रेस सांसद
राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा एमालेका सांसद खिमलाल भट्टराईले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘राजनेता’ का रुपमा चित्रण गरे । ओलीको गुणगानमा लामो समय खर्चिएका भट्टराईलाई काँग्रेसका सांसद रमेशजङ्ग रायमाझीले जवाफ दिँदै ओलीलाई ‘भ्रष्टाचारका राजनेता’ भन्न सुझाव दिए । राष्ट्रियसभाका अर्का सदस्य मायाप्रसाद शर्माले भने ओली सरकारले ‘डीएनए’ हेरेर भूमि सम्बन्धी आयोग गठन गरेको भन्दै त्यस्तो आयोगले भूमिहीनको समस्या समाधान गर्न नसक्ने दाबी गरे ।

७. रेशम चौधरीलाई रिहा नगरे भूमिगत आन्दोलन गर्ने थरुहट अगुवाको चेतावनी
थरुहट अगुवाले रेशम चौधरीको रिहाइ नभए भूमिगत आन्दोलन गर्ने चेतावनी दिएका छन् । रेशम चौधरीलाई जेलमा राखेर बाहिर उनकै नाममा राजनीति भइरहेको उनीहरुको भनाइ छ । उनीहरुले भदौ १ देखि आन्दोलनमा उत्रने गरी कार्यक्रम घोषणासमेत गरेका छन् । जनता समाजवादी पार्टीले रेशम चौधरीको नाममा राजनीतिक स्वार्थ पूरा गर्दै आएको उनीहरुको भनाइ छ ।

८. गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रममा जनमोर्चाको असहमति
सत्तारुढ गठबन्धनकै एक घटक राष्ट्रिय जनमोर्चा नेपालले सरकारको साझा न्यूनतम कार्यक्रममा असहमति प्रकट गरेको छ । राष्ट्रिय जनमोर्चाकै मातृ पार्टीका रुपमा रहेको नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सरकारको न्यूनतम साझा कार्यक्रममा जनमोर्चाको असहमति रहेको जनाएका हुन् । उनले एमालेभित्रको अन्तरविरोधबारे टिप्पणी गर्दै केपी शर्मा ओलीको बहिर्गमनविना एमालेमा एकता नहुने बताएका छन् ।

९. सेयर बजार हालसम्मकै उच्चतम् बिन्दुमा
नेपाली सेयर बजार हालसम्मकै उच्चतम् बिन्दुमा पुगेको छ । मंगलबार नेप्सेले रेकर्ड ब्रेक गर्दै ३१६१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५१.८६ अंकले वृद्धि भएको हो ।

१०. कोरोना भाइरसबाट थप चार हजार ९०४ जना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप चार हजार ९०४ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ११५ जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । मंगलबार उनीहरुबीच सदनलाई प्रभावकारी बनाउने, विधेयकहरुलाई अघि बढाउने लगायतका विषयमा छलफल भएको बताइएको छ ।

काठमाडौं उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा थपिएको छ । साँझ ८ बजेपछि निजी र सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने गरी स्थानीय प्रशासनले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

सरकारले बाढीले क्षति पुगेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल चारवटा यान्त्रिक पुल निर्माण गर्ने भएको छ । यसका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बजेटको व्यवस्था गर्ने र निर्माणको जिम्मा नेपाली सेनालाई दिइने भएको हो ।

​भारतबाट आएको ट्रकका चालकको हत्या गरी १८ लाख रुपैयाँ बराबरको चामल लुटपाटमा संलग्न चार जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप