शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओलीले जथाभावी शिलान्यास गर्दा कोरोना फैलियो : देउवा सरकार

‘कोरोनालाई सामान्य ‘रुघाखोकी’ भन्दा नियन्त्रणमा जटिलता पैदा गर्‍यो’
मङ्गलबार, २६ साउन २०७८, १७ : ५८
मङ्गलबार, २६ साउन २०७८

सरकारले मंगलबार देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराएको छ । प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा कोरोना महामारीको उत्कर्ष र यसले सिर्जना गरेको आर्थिक चुनौतीका विषयमा चर्चा गरिएको छ । 

प्रतिवेदनको बुँदा नम्बर ५ मा तत्कालीन केपी ओली सरकारले कोरोनालाई सामान्य रुघाखोकीको रुपमा परिभाषित गर्दा संक्रमण फैलिन सघाउ पुगेको उल्लेख गरिएको छ । यस्तै महामारीका बीच ओलीले शिलान्यास, उद्घाटनलगायतका भिडभाडजन्य गतिविधि बढाउँदा पनि संक्रमण फैलिन सघाउन पुगेको देउवा सरकारको दावी छ । 

 स्वास्थ्य मापदण्डको कडाइकासाथ पालना र जनचेतना अभिवृद्धि जस्ता सामान्य विषयमा ओली सरकारले ध्यान नदिएको बरु राजनीतिक स्तरबाट नै अनावश्यक रुपमा शिलान्यास, उद्‍घाटन, सभा, प्रदर्शन जस्ता भीडभाडजन्य गतिविधि गरिएको देउवा सरकारको भनाइ  । जसका कारण कोरोनाको दोस्रो लहर तीब्र रुपमा फैलन सहयोग पुगेको सरकारको दावी छ । 

‘विगतको सरकारले  कोभिड–१९ महामारीको प्रारम्भमा विज्ञहरूका सल्लाह र सुझाव विपरित सामान्य रूघाखोकीको रूपमा महामारीलाई परिभाषित गर्ने जस्ता कार्यले यसको नियन्त्रणमा थप जटिलता पैदा गर्‍यो’, सरकारले भनेको छ, ‘ छिमेकी देशहरूमा देखिएको असर र प्रभावको सुक्ष्म विश्लेषण गरी स्वास्थ्य पूर्वाधारको निर्माण, परीक्षणको दायरा विस्तार, उपचारको उचित प्रबन्ध, पर्याप्त होल्डिङ्ग सेण्टरको निर्माण, क्वारेन्टिन, आइसोलेशन सेन्टर, आइसीयू तथा एचडियू बेडको थप व्यवस्था, भेण्टिलेटर, अक्सिजनको अभाव जस्ता पक्षमा गम्भीरतापूर्वक ध्यान दिई समयमै पूर्वतयारी गर्न सकेको भए यति ठूलो मानवीय क्षति हुने थिएन।’

अब सरकार महामारीको पीडा भोगिरहेको जनजीवन र सोबाट शिथिल बनेको अर्थतन्त्रलाई पुनर्उत्थान गरी नेपाली जनजीवनमा सकारात्मक परिवर्तन र समृद्धि ल्याउनमा केन्द्रित रहने अर्थमन्त्री शर्माले बताए । 

‘सबै नागरिकलाई खोप दिएर मात्र कोरोना संक्रमण रोकथाम  एवं नियन्त्रण हुने स्पष्ट आधार देखिएको अवस्थामा विगतमा शीघ्र खोप आपूर्ति गर्ने इमान्दार प्रयास हुन नसक्दा आम नागरिकलाई यथासमयमै खोप उपलब्ध गराउन सकिएन’, शर्माले भने, ‘अर्कोतर्फ अनुदान तथा खरीद गरी प्राप्त  खोपको वितरण र व्यवस्थापनको उचित योजना हुन नसक्दा पहिलो मात्रा खोप लगाई सकेका करिब १३ लाख नागरिक लामो समयदेखि दोस्रो मात्राको पर्खाइमा रहनु पर्‍यो।’ 
खोप लगाउन बाँकी व्यक्तिहरुलाई यथासमयमै खोप प्रदान गरी जनजीवनको रक्षा एवम् अर्थतन्त्रलाई चलायमान बनाउने जिम्मेवारी सरकारसामू रहेको र त्यो पूरा गरेरै छाड्ने शर्माको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप