शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गर्ने सरकारको निर्णय, सेनालाई दिइयो जिम्मा

मङ्गलबार, २६ साउन २०७८, १८ : २९
मङ्गलबार, २६ साउन २०७८

सरकारले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गर्ने भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार अपरान्ह सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रको जनजीवनलाई सहज बनाउने गरी बाढी ग्रस्त मेलम्ची क्षेत्रमा तत्काल ४ वटा यान्त्रिक पुल निर्माण गर्ने निर्णय गरेको हो ।

त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने जिम्मेवारी प्राधिकरणलाई दिइएको छ भने सो पुलको निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले जानकारी दिए । उनले भने, ‘हजारौ हजार बिस्तापित मेलम्ची क्षेत्रको जनताको जनजीवनलाई सहज बनाउनका लागि चार वटा यान्त्रिक पुल तत्काल निर्माण गर्ने निर्णय गरिएको छ । त्यसका लागि आर्थिक संयोजन प्राधिकरण आफैले गर्ने र नेपाली सेनाले सो पुलको निर्माण गर्नेछ ।’

बैठकले बाढी र पहिरोको चपेटामा परेका मनाङ, गोरखा र बाजुरालगायतका ठाउँहरुमा खाद्यान्न र अस्थायी आवासको आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । खाद्यन्न, अस्थायी आवास, औषधिलगायतका अत्यावश्यक सेवाहरु हेलिकप्टरमार्फत तत्काल ती क्षेत्रहरुमा लैजाने काम पनि बुधबार (भोली) बिहानैबाट सुरु गर्ने निर्णय गरिएको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए । 
बैठकमा प्रधानमन्त्री एवम् प्राधिकरणका अध्यक्ष देउवाले बाढी, पहिरोलगायतका विपद्को पूर्व तयारी र प्रतिकार्यका लागि प्रभावकारी ढंगले काम गर्न सम्बन्धित सबै निकायलाई सचेत गराएका थिए । 

 त्यस अवसरमा प्राधिकरणका पदाधिकारीहरुले बाढी, पहिरो र डुबानबाट देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप