मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : रावल फकाउँदै नेपाल, नेपाल फकाउँदै ओली

बुधबार, ०६ साउन २०७८, २२ : ०६
बुधबार, ०६ साउन २०७८

आज २०७८ साउन ६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्ने एमालेको निर्णय, माओवादी बैठक ः गठबन्धनका न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदललाई निर्देशन, स्पष्टीकरण सोधेर पार्टी एकतामा भाँजो हाल्न खोजिएको माधव नेपाल पक्षको निष्कर्ष, प्रधानमन्त्री देउवासँग महन्थ ठाकुर र विप्लवको छुट्टाछुट्टै भेट, राजीनामा दिएका रावललाई मनाउन पहल गर्दै माधव, नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहद्वारा राजीनामा लगायत छन् ।

१. प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्ने एमालेको निर्णय
नेकपा एमालेले प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । एमालेको केन्द्रीय कमिटी बैठकले बुधबार विभिन्न चार बुँदे निर्णय गरेको हो । एमालेले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले शक्ति पृथकीकरणको अवस्थालाई खलबल्याएको निष्कर्षसमेत निकालेको छ ।


२. माओवादी बैठक : गठबन्धनका न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदललाई निर्देशन
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले गठबन्धनको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदललाई निर्देशन दिएको छ । माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले गठबन्धन सरकारलाई न्यूनतम साझा कार्यक्रमका साथ अघि बढाउनुपर्ने भएकाले त्यस्ता कार्यक्रम तय गर्न आह्वान गरेको हो । प्रतिगमन परास्त भइ सरकारसमेत गठन भइसकेको अवस्थामा अब पार्टी संगठन सुदृढ तुल्याउन ध्यान केन्द्रित गर्ने निर्णय बैठकले गरेको छ ।


३. माधव नेपाल समूहको निष्कर्षः स्पष्टीकरण सोधेर पार्टी एकतामा भाँजो हाल्न खोजियो
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले सांसदहरुमाथि सोधिएको स्पष्टीकरण पार्टी एकतामा भाँजो हाल्न उद्यत रहेको निष्कर्ष निकालेको छ । बुधबार वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा बसेको बैठकले ओली पक्षबाट सोधिएको स्पष्टीकरण सर्वोच्च अदालतको फैसला विपरीत रहेको ठहर पनि गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको बैठकले माधव पक्षका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरे पनि बुधबारमात्र सम्बन्धित नेताहरुलाई स्पष्टीकरण पत्र बुझाइएको छ । 

४. प्रधानमन्त्री देउवासँग महन्थ ठाकुर र विप्लवको छुट्टाछुट्टै भेट
प्रधानमन्त्री शेरबहादुर देउवासँग आ–आफ्ना माग लिएर जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले छुट्टाछुट्टै भेट गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् भने विप्लव अपराह्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीसमक्ष ठाकुरले मधेस तथा थरुहट आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता, बन्दीहरुको रिहाइ लगायतका माग राखेका छन् । विप्लवले भने विगतमा सरकारसँग भएको तीन बुँदे सहमति पालना नभएको भन्दै सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

५. नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहद्वारा राजीनामा
नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले राजीनामा दिएका छन् । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष उनले बुधबार साँझ राजीनामा बुझाएका हुन् । पार्टीको क्रियाशील सदस्यता विवाद, खासगरी प्रदेश २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिको भूमिकाप्रति तीव्र असन्तुष्टि राख्दै उनले राजीनामा दिएका हुन् ।

६. कोरोनाको तेस्रो लहरका लागि प्रधानमन्त्रीलाई विज्ञहरुको १८ बुँदे सुझाव
प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोनाको तेस्रो लहर सामना गर्नका लागि उपयोगी हुने गरी विज्ञहरुले १८ बुँदे सुझाव दिएका छन् । नेपाल जनस्वास्थ्य प्रतिष्ठानमार्फ विज्ञहरुले प्रधानमन्त्री देउवालाई कोरोनाको तेस्रो लहर सामना गर्नेगरी विविध सुझाव दिएका हुन् ।


७. राजीनामा दिएका रावललाई मनाउन पहल गर्दै माधव
प्रतिनिधिसभा सदस्य पदबाट केही दिनअघि राजीनामा दिएका एमाले नेता भीम रावललाई मनाउने प्रयासस्वरुप एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार साँझ रावलको निवासमा पुगेका छन् । दुई नेताबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको विश्वासको मत, पार्टी एकता तथा रावलकै राजीनामाबारे छलफल भएको बुझिएको छ । एमालेभित्र ओली पक्ष र खनाल–नेपाल पक्षबीचको शक्ति संघर्षका क्रममा खनाल–नेपाल पक्षमा लाग्दै आएका रावलले सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक बसेकै दिन राजीनामा दिएका हुन् ।
यसैबीच एमाले अध्यक्ष केपी ओली माधव नेपाललाई सकेसम्म फकाउने रणनीतिमा देखिएका छन् । उनले एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने आजको केन्द्रीय समिति बैठकमा बताएका छन् । उनले एकतामा नेपाल आए उनलाई दोस्रो अध्यक्ष बनाउन सकिने समेत बताएको खबरहरु प्रकाशमा आएका छन् । 


८. एमालेका राष्ट्रियसभा सदस्यलाई ओलीको निर्देशन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय एमालेका राष्ट्रियसभा सदस्यहरुलाई सरकारका गलत कामको सशक्त प्रतिवाद गर्न निर्देशन दिएका छन् । उनले एमालेका सांसदहरुको भूमिका फेरिएको भन्दै अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।

९. दुई हजार ८३८ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ भने एक हजार ४१५ जना संक्रमणमुक्त भएका छन् ।


१०. र, यो पनि 
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रणका लागि सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् ।


प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३९ औं स्मृति दिवस बुधबार विशेष कार्यक्रमका साथ मनाइएको छ ।


जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भेन केपलरले बुधबार भेटवार्ता गरेकी छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप