बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैठक केपी ओलीको, चर्चा माधव नेपालको !

बुधबार, ०६ साउन २०७८, १५ : ३३
बुधबार, ०६ साउन २०७८

ललितपुरको च्यासलमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । बैठकको अध्यक्षता केपी शर्मा ओलीले गरिरहेका छन् । तर, बैठक ओलीको भएता पनि चर्चा चाहिँ माधवकुमार नेपालकै बढी छ । ओली समूहको बैठक माधव नेपालकै वरिपरि घुमेपछि एमालेका एक नेताले ठट्टा गर्दै भने– बैठक चाहिँ केपी ओलीको, तर चर्चा चाहिँ माधवकुमार नेपालको ।

एमाले बैठक आज पनि दिउँसो ३ बजेदेखि जारी रहेको हो । हिजो मंगलबार बसेको बैठकमा सातवटै प्रदेश कमिटीका अध्यक्षहरुले हरेक जिल्लामा पार्टीको अवस्था के कस्तो छ भन्नेबारे रिपोर्टिङ गरेका थिए । रिपोर्टिङका क्रममा सबै नेताहरुले स्थानीय तह, जिल्ला र प्रदेशमा माधव नेपाल पक्षको स्थिति कस्तो छ भन्नेबारे चर्चा गरेका थिए । 

प्रदेश १ बाट देवराज घिमिरेले रिपोर्टिङ गरेका थिए । उनले सुनसरीमा पनि ओली पक्षको अवस्था राम्रो रहेको बताउँदै प्रदेश १ मा ओली पक्ष बलियो रहेको दाबी गरेका थिए । तथापि एमालेभित्र प्रदेश १ मा माधव नेपाल पक्ष बलियो रहेको मानिँदै आएको छ ।   

बैठकमा प्रदेश २ बाट पूर्वमाओवादी नेतृ एवं एमाले प्रदेश अध्यक्ष ज्वालाकुमारी साहले रिपोर्टिङ  गरेकी थिइन् । ज्वाला कुमारी साहलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको अर्का पूर्वमाओवादी नेता प्रभु साह असन्तुष्ट रहँदै आएको एमाले नेताहरु बताउँछन् । त्यसैले मंगलबारको बैठकमा प्रभु साह धेरैबेर देखिएनन् ।

रिपोर्टिङका क्रममा ज्वालाले आफ्नै विषयमा धेरै कुरा बताइन् । आफू क्रान्तिकारी पृष्ठभूमिबाट आएको बताउँदै उनले आफ्नो विगतको राजनीतिक स्टाटस हेर्न आग्रह गरिन् । साथै उनले बारा, पर्सा, रौतहट लगायतका जिल्लामा एमालेको अवस्थाबारे बताइन् ।

रिपोर्टिङका क्रममा उनले अहिले पनि मधेसमा एमाले भन्दा पनि नेकपाकै ब्यानरमा कार्यक्रमहरु हुने गरेको गुनासो सुनाइन् ।

बागमती प्रदेशका तर्फबाट आनन्दप्रसाद पोखरेलले रिपोर्टिङ गरेका थिए । उनले वागमतीमा एमालेको सरकार धरापमा परेको रिपोर्टिङ गरेका थिए । एमाले बैठकमा गण्डकी प्रदेशबाट जगतबहादुर विश्वकर्मा, लुम्बिनी प्रदेशबाट लीला गिरी, कर्णालीबाट गोरखकुमार बोगटी र सुदुरपश्चिमबाट कर्णबहादुर थापाले रिपोर्टिङ  गरेका थिए ।

रिपोर्टिङका क्रममा सबै नेताहरुले माधव नेपाल र उनको समूहको चर्चा गरेका थिए ।

बैठकमा महासचिव ईश्वर पोखरेलसँग पाँच मिनेट समय मागेर चितवनका एमाले नेता देवी ज्ञवालीले बोलेका थिए । उनले देउवा सरकार बन्नासाथ भूमि आयोग खारेज हुन लागेको बताए । ज्ञवाली ओली सरकारद्वारा गठित भूमि आयोगका अध्यक्षसमेत हुन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप