बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा प्रचण्ड विश्वस्त

मङ्गलबार, २२ असार २०७८, २० : ५९
मङ्गलबार, २२ असार २०७८

आज २०७८ असार २२ गते मंगलबार । आज दिनभरको मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमका नियमित प्रस्तुति ‘सन्ध्याकानील ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा जसपाको दुई पक्षबीच आधिकारिकता विवाद अब निर्वाचन आयोगको इजलासले टुङ्ग्याउने, एमालेभित्रको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सकारात्मक दिशामा, निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या पुनः उकालो लाग्दै, काठमाडौं उपत्यकामा हट्यो जोरबिजोर प्रणाली, नेप्सेमा गिरावट कायमै लगायतका छन् ।

१. जसपाको आधिकारिकता विवाद अब निर्वाचन आयोगको इजलासमा 
केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागिताका विषयमा दुई खेमामा विभाजित देखिएको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको औपचारिक प्रक्रियामा प्रवेश गरेको छ । उपेन्द्र यादव र महन्थ ठाकुर गरी दुई खेमामा विभाजित जसपाका दुवै खेमालाई निर्वाचन आयोगले आधिकारिकताको दावी पेस गर्न मंगलबार आह्वान गरेको छ । दुवै पक्षको दावीलाई आयोगको इजलासमा पेस गरिने र इजलासले नै विवाद छिनोफानो गर्ने आयोगले जनाएको छ ।

 


२. एमालेको विवाद समाधान कार्यदलको बैठक सकारात्मक दिशामा, विवादबारे छलफल जारी
सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद समाधान गर्ने उद्देश्यले गठित कार्यदलको बैठक सकारात्मक दिशातिर उन्मुख भएको नेताहरुले बताएका छन् । मंगलबार सिंहदरवारमा बसेको कार्यदलको बैठकमा संगठनात्मक प्रणालीसँग सम्बन्धित विषयमा छलफल भएको खनाल–नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले जनाएका छन् । उनले छलफल सकारात्मक रहेको र बुधबार पुनः बैठक बस्ने जानकारी दिएका छन् ।

 


३. निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या पुनः उकालो लाग्दै
काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या पुनः उकालो लाग्न थालेको छ । पछिल्लो समय संक्रमण दर घट्दै गएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो तुल्याएका थिए । तर सोमबारदेखि संक्रमण मुक्त हुनेको तुलनामा नयाँ संक्रमितको संख्या बढ्न थालेको हो ।


४. सवारी साधनमा जोरबिजोर प्रणाली हटेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी साधनको भिड
काठमाडौं उपत्यकामा मंगलबारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो तुल्याउँदै जोरबिजोर प्रणाली हटाएसँगै उपत्यकाका सडकमा सवारी साधनको भिड बढेको हो । स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।


५. प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा प्रचण्ड विश्वस्त
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । मंगलबार जनकपुर पुगेका प्रचण्डले संवैधानिक इजलासबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुने विश्वाससमेत व्यक्त गरे ।​


६. सुजिता भण्डारीको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइयो, शव भेटिएको स्थान नजिकै मोबाइल फेला

चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा रहस्यमय ढंगले मृत फेला परेकी सुजिता भण्डारीको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । राप्ती नगरपालिका–३ निवासी २३ वर्षीय भण्डारीको शव आइतबार साँझ सामुदायिक वनमा भेटिएको थियो । 

यसैबीच सुजिताले प्रयोग गर्ने मोबाइल प्रहरीले फेला पारेको छ । शव भेटिएको स्थानभन्दा १५ मिटर पर उनको मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।​


 


 

७. ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ खोपको दोस्रो मात्रा लगाउन थालियो
सरकारले कोरोनाभाइरसविरुद्ध ज्येष्ठ नागरिकका लागि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरेको छ । मंगलबारदेखि देशभर तीन हजार ९०० खोपकेन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि खोपको दोस्रोमात्रा लगाउन सुरु गरिएको हो । काठमाडौंको हकमा काठमाडौं महानगरपालिकाले विभिन्न १३ स्थानमा खोपकेन्द्र तोकेको छ ।



८. मध्यपश्चिम विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त, ‘अक्षम्य अपराध’ गरेको आरोप
शैक्षिक मर्यादाविपरीत ‘अक्षम्य अपराध’ गरेको आरोपमा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापकद्वय विश्वनाथ यादव र सुजन पन्तलाई बर्खास्त गरिएको छ । उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहका अनुसार यादवले विद्यार्थीलाई परीक्षामा आफू खुशी नम्बर दिएको र पन्तले प्रश्नपत्र ‘आउट’ गरेको पाइएपछि दुवैलाई बर्खास्त गरिएको हो । यादव इन्जिनियरिङ संकाय स्नातकोत्तरका कार्यक्रम निर्देशक हुन् भने पन्त कानुन संकायका उपप्राध्यापक हुन् । 


 
९. शेयर बजार (नेप्से)मा गिरावट जारी
शेयर बजारमा गिरावट जारी छ । सोमबार ११.७८ अंकले घटेर दुई हजार ८२२.७३ बिन्दुमा झरेको नेप्से मंगलबार ५.२४ अंकले झर्दै दुई हजार ८१८.१० बिन्दुमा आइपुगेको हो ।


१०. र, यो पनि
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार छलफल भएको छ । जनकपुरबाट फर्किने क्रममा प्रचण्ड कोटेश्वरस्थित माधवकुमार नेपालको निवासमा पुगेर पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेका हुन् ।

 

काठमाडौंको ठमेलबाट दुर्लभ वन्यजन्तुको अखेटोपहार र जुवा खेल्न प्रयोग हुने सामग्रीसहित चारजना चिनियाँ नागरिकलाई पक्राउ गरी प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । 

 


प्रतिगमनविरुद्ध आन्दोलित पाँच विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले सिठी जुलुस निकाल्ने, शंख फुकेर विरोध जनाउने लगायतका कार्यक्रम सार्वजनिक गरेका हुन् ।


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित १४ जनालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । विभिन्न मुद्दामा थुनामा रहेका उनीहरुलाई मंगलबार अदालतले रिहा गर्न आदेश दिएको हो ।

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप