शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘अक्षम्य अपराध’ गरेको आरोपमा मध्यपश्चिम विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त !

उपकुलपति सिंह भन्छन्– गलत कुरामा लाग्नेलाई कुनै हालतमा छोडिन्न
मङ्गलबार, २२ असार २०७८, १३ : ४३
मङ्गलबार, २२ असार २०७८

शैक्षिक मर्यादाविपरीत ‘अक्षम्य अपराध’ गरेको आरोपमा मध्यपश्चिम विश्वविद्यालयका दुईजना उपप्राध्यापकलाई बर्खास्त गरिएको छ ।

इन्जिनियरिङ संकाय स्नातकोत्तरका कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानुन संकायका सुजन पन्तलाई बर्खास्त गरिएको हो । यादवलाई आफुखुशी विद्यार्थीलाई नम्बर दिएको र पन्तलाई प्रश्नपत्र ‘आउट’ गरेको आरोपमा बर्खास्त गरिएको उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले बताए ।

मंगलबार पत्रकार सम्मेलन गरी सिंहले भने, ‘उहाँहरुले शैक्षिक मर्यादा विपरीत अपराध गर्नुभयो । विश्वविद्यालयको साख गिराउने काम गर्नुभयो । आर्थिक प्रलोभनमा परी विद्यार्थीलाई आफुखुशी नम्बर दिएको छानविनबाट पुष्टि भएपछि बर्खास्त गरिएको हो ।’

यादवले विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर मनलाग्दी रुपमा नम्बर दिएको उजुरी परेको थियो । परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई पनि पास गराएको पाइएको छ ।

उजुरी परेपछि वास्तविकता पत्ता लगाउन छानविन समिति बनाइएको थियो । छानविन समितिले निर्देशक यादव आर्थिक प्रलोभनमा परेर गलत काम गरेको निष्कर्षसहित दोषी ठहर गरेको थियो ।

परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले उपकुलपति प्रा.डा सिंहसमक्ष केही समयअघि मात्रै निर्देशक यादव दोषी देखिएको प्रतिवेदन पेस गरेको थियो ।

सिंह भन्छन्, ‘पन्तलाई यसअघि पनि ३ महिनाका लागि निलम्बन गरिएको थियो ।’ पछिल्लो समय पन्तले दुईटा प्रश्नपत्र ‘आउट’ गरेको देखिएको पनि उनले बताए ।

‘प्रयोगात्मक परीक्षा ४० पूर्णाङ्कको हुन्छ,’ उनले भने, ‘परीक्षामा सहभागी १३ जना विद्यार्थीलाई पूरै नम्बर दिएको पाइएको छ । कन्सट्रक्सन म्यानेजमेन्टका चारवटै विषयमा पनि विद्यार्थीहरुलाई ३४ देखि ३७ नम्बर दिइएको छ ।’

यस्ता खालका अमर्यादित गतिविधि गर्ने कसैलाई पनि उन्मुक्ति नदिइने सिंहले बताए । उनका अनुसार विश्वविद्यालयको सुधारका लागि पनि यस्ता अमर्यादित गतिविधिमा संलग्नमाथि कारवाही गर्नुपर्छ ।

उनले राजनीतिक दलहरु र विद्यार्थी संगठनहरुलाई अपराधीको संरक्षण हुने गरी आन्दोलन नगर्न पनि आग्रह गरेका छन् ।

कारवाहीमा परेका यादव स्थायी हुन् भने पन्त करार सेवामा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप