बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा भद्रगोल खोप अभियान : घण्टौँ कुर्दा लाइनमै ढले जेष्ठ नागरिक (भिडियो)

मङ्गलबार, २२ असार २०७८, १७ : ३०
मङ्गलबार, २२ असार २०७८

कोभिड १९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ । सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सूचना जारी गरेअनुरुप खोपका लागि खोप केन्द्रमा लाइन बस्न पुगेका वृद्धवृद्धाहरु कयौँले खोप लगाउन नपाइ फर्कनुपर्यो । उपत्यकाका निजामति अस्पताल, प्रसुति गृह, वीर अस्पताल,टेकु लगायत १३ स्थानमा काठमाण्डौ महानगरपालिकाकाले खोप केन्द्र तोकेको थियो ।

खोप लगाउन बिहानैदेखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसो सम्म खोप लगाउन नपाएपछि सरकारको व्यवस्थापनदेखि आक्रोशित बने । उनीहरुले सरकारले सही सूचना नदिएका कारण आफुहरुले दुःख पाएको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सूचना प्रवाह गर्न ध्यानाकर्षण पनि गराए ।

मिनभवनका उपेन्द्र पौडेल बिहान ६ बजे देखि लाइन बसेर २ बजे सम्म पनि खोप लगाउन पाएनन् । खोप लगाउने विषयमा सरकारले खेलबाड गरेको र जनताको अभिभावकको भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले आक्रोश पोखे ।

उनले भने “बेसरी गाह्रो भयो । प्रेसर सुगर भएका मान्छेहरु सबै बाटोमै लडे । यो सरकारको नालायकपन हो यो । यो नालायक पनले जनतालाई दुःख दिएको छ । सरकारले खोप सम्बन्धी सूचना प्रवाह राम्रोसँग दिनुपर्छ कि पर्दैन ? सरकारले भन्दा ३ महिनामा इनजेक्सन भन्छ यहाँ ३ वर्षमा पनि इनजेक्सन नपुग्ने भइसक्यो । ८५ वर्षका बृद्ध लाइन बस्दा बस्दै ३–४ जना त लडिसके । तिनको जिम्मेवारी कसले लिन्छ ? पुलिसले भित्र जान दिँदैन । पुलिसले भन्छ हामीलाई थाहा छैन । थाहा छ कसलाई ? जनता भेडा हुन् ? ”

बानेश्वरका तेज बहादुर दाहालपनि बिहान ६ बजे निजामति अस्पताल खोप केन्द्रमा लाइन बसे तर दिउँसो २ बजे सम्म पनि खोप लगाउन नपाएपछि व्यवस्थापन प्रति आक्रोश पोखे । उनले प्रशासनलाई विश्वकै नायालक भनी टिप्पणी गरे ।

उनले भने “ज्येष्ठ नागरिक भनेपछि त्यही अनुसारको सम्मान दिएर कुपनको व्यवस्था गरेर यतिजना भोलि आउ यति जनालाई आज दिन्छु भनेर त्यो व्यवस्था गर्नुपर्ने हो । यस्तो किसिमको नालायक प्रशासनिक व्यवस्था कहीँ पनि छैन । यो जनस्वास्थ्यले मिलाउनुपर्ने हो । हामीलाई भोलीका लागि कुपन भनेर दिएको भए हामी भोलि आइहाल्थ्यौ नि ।”

आलोकनगर टोल सुधार समितिको अध्यक्ष समेत रहेका डिआर पोख्रेल बिहानदेखि खोप लगाउन लाईन बसेपनि दिउँसोसम्म खोप लगाउन पाएनन् । बिहानदेखि लाइन बसे पनि खोप केन्द्रले दिउँसो मङ्गलबार जम्मा ५ सय मात्रै खोप लगाउने सुचना निकालेपछि उनँको धैर्यता टुट्यो । सरकारलाई बोलेर नभई काम गरेर देखाउन र जनतामा भ्रम छर्ने काम बन्द गर्न अनुरोध गरे ।

उनले भने, ‘जनतालाई भेडाबाख्रा सम्झिने ? सूचना निकाल्देर पञ्छिन पाइन्छ सरकारले ? लाइनमा ३–४ हजार जनता छन् अहिले बाँड्ने बेलामा बढीमा ५ सय बाँड्ने रे !’

पुण्य प्रसाद भट्टराईले आफु बिहान ६ बजेदेखि लाइन बसेपनि १० बजेपछि मात्रै कुपन बाँडिएको र कुपन लिएर दुई घण्टा लाईन बसेपछि खोप लगाउन पाएको बताए । 

सरकारले स्थानीय सरकार मार्फत जेष्ठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मङ्गलबार दोश्रो डोज लगाउन सूचना निकालेको थियो । काठमाण्डौ महानगरभित्र १३ स्थानमा खोप केन्द्र तोकिएको छ भने अन्य नगरपालिकामा प्रत्येकमा २ खोप केन्द्र तोकिएको छ । महागरभित्रका खोप केन्द्र व्यवस्थित हुन नसक्दा वृद्धवृद्धाले दुःख पाएका छन् भने संक्रमणको जोखिम पनि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप