मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : विघटन मुद्दा फाइनलमा प्रवेश, कस्तो आउला फैसला ? (भिडियोसहित)

निर्वाचन कार्यतालिका सार्वजनिक, विपक्षी दलद्वारा विरोध
सोमबार, २१ असार २०७८, १९ : ३१
सोमबार, २१ असार २०७८

आज २०७८ असार २१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकानील ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ सकिएको, निर्वाचन आयोगद्वारा चुनावी कार्यतालिका सार्वजनिक, ओलीले हस्ताक्षर फिर्ता गर्न माधव नेपाल समूहलाई दिएको अल्टिमेटम सकिएको, एमालेको कार्यदल ब्युँतिएको, कोरोनाको नियमित अपडेटलगायत रहेका छन् ।

१. प्रतिनिधिसभा विघटन मुद्दामा २८ गते फैसला

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस सकिएसँगै अब फैसलाको प्रतिक्षा भएको छ । निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनमा सोमबार बहस सकिएसँगै असार २८ गतेका लागि फैसला सुनाउने मिति तोकिएको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध काँग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकले विघटन असंवैधानिक भएको जिकिर गरेका छन् भने सरकारी वकिलहरुले भने रिट निवेदन खारेजीको मागसहित बहस गरे ।

आज निवेदक पक्षको जवाफी बहसपछि एमिकस क्युरीले स्वतन्त्र राय दिएका थिए  । एमिकस क्युरीबाट बरिष्ठ अधिवक्ताहरू कोमल प्रकाश घिमिरे, प्रकाश बहादुर केसी, राघवलाल वैद्य र उषा मल्ल पाठकले राय दिएका हुन् ।

एमिकस क्युरीमा चयन वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले संसद विघटनसम्बन्धी रिट खारेज हुनुपर्ने राय दिइन् ।  


२. निर्वाचन कार्यतालिका सार्वजनिक

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला निर्वाचन आयोगले भने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो । सोहीअनुसार आयोगले आफ्नो कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । सोही दिन दल दर्ताको लागि सूचना प्रकाशन गरिने आयोगले जनाएको छ । त्यस्तै, आयोगले भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति असोज २० गते देखि २१ गतेसम्म तय गरिएको छ । असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।​


३. कार्यतालिकाको विरोध

नेपाली काँग्रेसले सर्वोच्चको फैसला नआउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोप्रति विरोध जनाएको छ । काँग्रेस नेता आनन्द ढुंगानाले प्रतिनिधिसभा विघटनको मुद्दामाथि सर्वोच्चमा अन्तिम सुनुवाइ चलिरहेको बेलामा निर्वाचन आयोगले कार्यतालिका ल्याउन हतारो गरेको बताए । हिजोको संसद विघटन र अहिलेको संसद विघटनको प्रकृति एउटै भने नभएको ढुंगानाको भनाइ छ ।

यसैगरी, माओवादी केन्द्रले पनि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेकोमा विरोध जनाएको छ । आयोगले संविधान र कानुनद्वारा परिभाषित आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वसनीयता गुमाउँदै गइरहेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।

यसैबीच निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगको नियमित कामलाई अन्य निकाय (अदालत)को निर्णयसँग जोडेर हेर्न नमिल्ने बताएका छन् ।

सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दाको फैसला नगर्दै किन निर्वाचन कार्यक्रम प्रकाशित गरेको भन्ने प्रश्नमा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘हैन यो त धेरै ढिलो भयो । ऐनमै के व्यवस्था छ भने निर्वाचन मिति घोषणा भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका बनाउँछ र निर्वाचन कार्यक्रम स्वीकृत गर्छ ।’



४. सकियो ओलीको अल्टिमेटम

एमालेका अध्यक्ष केपी शर्माओलीले पार्टीका २३ सांसदले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटमको समय सकिएको छ । अध्यक्ष ओलीले असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएका थिए ।

यसैबीच एमालेका दोस्रो पुस्ताका नेताहरुले पार्टी विवाद मिलाउनका लागि निकै दौडधूप गरेपनि उनीहरु असफल भएका छन् ।​


यसैबीच एमालेको कार्यदल ब्यूँतिएको छ । कार्यदलको आज सिंहदरबारमा बैठक बसेको छ  ।

५. राष्ट्रियसभा बैठक : अध्यादेश अस्वीकार गर्ने प्रस्ताव

राष्ट्रिय सभामा पेश भएको १६ वटा अध्यादेशमध्ये १० वटामा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश भएको छ । 

राष्ट्रिय सभाको असार १७ गते बसेको पहिलो बैठकमा सरकारले पेश गरेका  १६ वटा अध्यादेशहरु मध्य १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव दर्ता भएको हो ।

यस्तै बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई सफल हुन नदिने भन्दै त्यस प्रकारको सपना नदेख्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिए ।

यसैगरी राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटाले सरकारका धेरै वेभसाइटहरुमा नेपालको पुरानो नक्सा नै रहेको भन्दै सच्याउन अनुरोध गरे भने अर्का सदस्य दीर्घनारायण पाण्डेले राजनैतिक रुपमा देश विभाजन हुनु गम्भीर भएको बताए ।

यसैगरी सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गरे ।​


६. कोरोना भाइरस अपडेट

बितेको २४ घण्टामा थप २६२२ जनाको कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २३ को मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै बितेको २४ घण्टामा २२११ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।


७. एटीएमबाट पैसा चोर्ने समातिए

डेट एक्स्पायर्ड डेबिट कार्ड प्रयोग गरी एटीएम बुथबाट रकम निकालेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहको एटीएम मेसिनबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको  अभियोगमा सोलुखुम्बु घर भई भत्केको पुल बस्ने ५७ वर्षीय जगत वहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल नै बस्ने ३० वर्षीया सावित्री गुरुङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


८. सुजिता मृत्यु प्रकरणमा विरोध प्रदर्शन

मृत भेटिएकी सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले प्रहरीले ल्याउँदै गरेको शव समेत रोकेर राजमार्ग अवरुद्ध गरेका हुन् । राप्ती नगरपालिका–३ झुरझुरेमा बिहान १० स् १५ बजेबाट सडक अवरुद्ध गरिएको हो ।

असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव आइतबार साँझ घरबाट करिब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो ।


सेयर बजार

लगातारको गिरावटपछि सोमबार सेयर बजार परिसूचक नेप्सेमा अनपेक्षित संकुचन आएको छ । ११.७८ अंकको गिरावट आएको बजारमा अधिकतम कारोबार रकम ४ अर्बमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.७८ अंकले घटेर २ हजार ८२२.७३ विन्दुमा झर्दा कारोबार रकम भने साढे ४ अर्ब अर्थात ४ अर्ब ५८ करोड हारहारीमा मात्र भएको हो । आज कुल २२४ कम्पनीका एक करोड ६३ हजार ६३६ कित्ता सेयर ५२ हजार ८४६ पटक किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७९ रुपैयाँको कारोबार भएको छ । 


९. र यो पनि

कलाकार तथा निर्देशक शिशिरशमशेर जबरा (शिशिर राणा) पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले उनलाई काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको हो । बैंकिङ कसुरमा राणालाई पक्राउ गरिएको सीआईबीका एसपी गंगा पन्तले जानकारी दिएकी छन् ।


ष्ट्रियसभा सदस्य कोमल ओलीले राष्ट्रियसभाको बैठकमा आज सरकार विरोधी मोर्चामा सहभागी राजनीतिक दलहरूलाई बाँदरको संज्ञा दिदै व्यंग्यात्मक कविता बाचन गरेकी छन् ।


नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य रमेश जङ्ग रायमाझीले प्रतिगमन विरुद्ध राष्ट्रियसभाको बैठकमा कालो टोपी उचालेर विरोध जनाएका छन् ।​


नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको पार्टी सभापतिमा भीमबहादुर साउदलाई अगाडि सार्ने भएका छन् । सोमबार विहान देउवा निवास बूढानीलकण्ठ पुगेका डडेल्धुराका नेताहरूसँगको छलफलमा देउवा साउदको पक्षमा उभिएका हुन् ।


नेकपा माओवादी केन्द्रले प्रदेश १ प्रदेशसभाको सोमबारको  बैठक पनि अवरुद्ध गरेको छ।  माओवादी केन्द्रले आफनो आसनबाट उठेर सदनको काम कार्वाही अगाडि बढन नदिएपछि भोलि सम्मका लागि बैठक स्थगित भएको हो । माओवादी केन्द्रकै अवरोधका कारण पछिल्ला चारवटा बैठक चल्न सकेका थिएनन् ।


यो पनि छुट्यो कि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप