शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको गृहजिल्लामा सभापतिको रस्साकस्सी, साउदलाई बूढानीलकण्ठको ‘ग्रीन सिग्नल’

सोमबार, २१ असार २०७८, १६ : ०६
सोमबार, २१ असार २०७८

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको पार्टी सभापतिमा भीमबहादुर साउदलाई अगाडि सार्ने भएका छन् । सोमबार विहान देउवा निवास बूढानीलकण्ठ पुगेका डडेल्धुराका नेताहरूसँगको छलफलमा देउवा साउदको पक्षमा उभिएका हुन् ।  

साउदलाई सभापति बनाउने विषयमा देउवापत्नी आरजु राणा पनि सकारात्मक देखिएकी छन् । डडेल्धुराको पार्टी राजनीतिमा गहिरो चासो राख्दै आएकी आरजु पनि साउदकै पक्षमा उभिएको पाइएको छ ।

सोमबारको छलफलमा देउवा दम्पती र जिल्लाका करिब एक दर्जन नेता कार्यकर्ताका बीचमा परशुराम नगरपालिका मेयरसमेत रहेका साउदलाई सभापति बनाउने समझदारी भएको हो ।

समयमै जिल्ला सभापतिको टुंगो नलाग्दा विगतमा पराजित हुनुपरेको भन्दै जिल्ला नेताहरुले देउवालाई समयमै निर्णय लिन आग्रह गरेका थिए । सोही क्रममा देउवाले आफूलाई जिल्ला सभापतिको उम्मेदवारका रुपमा अगाडि सारेको साउदले रातोपाटीलाई जानकारी दिए ।

देउवा टिमबाट साउदसँगै पूर्वसभापति रघुवर भट्ट, प्रदेश सांसद गोविन्द बोहोरा र नेता नवलबहादुर मल्लले जिल्ला सभापतिको आकांक्षा राखेका थिए । साउदका अनुसार बूढानीलकण्ठ छलफलमा सहभागी भट्ट र बोहोराले समेत उनलाई सभापति बनाउने देउवाको प्रस्तावमा समर्थन जनाएका छन् । साउदले रातोपाटीसँग भने, ‘सिनियर दाइहरू (भट्ट र बोहोरा)ले साथ सहयोग रहने भन्नुभएको छ, अरु साथीहरुलाई पनि मिलाउने मेरो कोशिस रहन्छ ।’ प्रतिस्पर्धामा मै जानुपरे पनि आफू उम्मेदवार बन्ने अब पक्का भएको उनको भनाइ छ ।

तर, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष समेत रहेका सभापतिका आकांक्षी मल्ल भने काठमाडौं आएका थिएनन् । देउवाले उनलाई पनि मिलाउने नेताहरुलाई बचन दिएका छन् । सभापतिको टुंगो लगाउन तीन दिनदेखि काठमाडौंमा रहेका नेताहरु अब जिल्ला फर्किएका छन् । पछिल्ला वर्षहरुमा गृह जिल्लामा वर्तमान सभापति कर्णबहादुर मल्ल हाबी भएपछि देउवाका लागि टाउको दुखाइको विषय बनेको थियो ।

१३ औं महाधिवेशनमा देउवाले रघुवर भट्टलाई अगाडि सारे पनि उनले मल्ललाई रोक्न सकेनन् । मल्ल देउवाविरुद्ध मोर्चाबन्दीमा संस्थापनइत्तर पक्षसँग उभिँदै आएका छन् । तर, पार्टी विधान अनुसार दुईपटक सभापति भइसकेका कर्ण मल्ल फेरि जिल्ला सभापति हुन पाउने छैनन् ।

मल्लले देउवाका उम्मेदवारविरुद्ध वर्तमान उपसभापति करुणाकर भट्टलाई अगाडि सार्ने रणनीति बनाएको बुझिएको छ । तर, साउदलाई उम्मेदवार बनाएपछि करुणाकर अगाडि आउँछन्, आउँदैनन्, एकिन छैन ।

देउवा साउदको पक्षमा किन ?

साउद लामो राजनीतिक पृष्ठभूमि र  राम्रो आर्थिक हैसियत भएका नेता हुन् । जिल्लामा आर्थिक र राजनीति रुपमा साउदले राम्रै पकड जमाएको पाइन्छ । जिल्लामा सभापति कर्ण मल्लको पकड भत्काउन देउवाले साउदलाई उपयुक्त पात्रका रुपमा हेरेको देखिन्छ ।

साउदलाई जिल्ला सभापति बनाउँदा जिताउन पनि सजिलो र जिल्लामा आफ्नो रिक्त नदेखिने देउवाको बुझाइ छ । महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी भोट ल्याउने नेतामा पर्छन् । ०४९ मा गाविस अध्यक्ष, ०५४ जिविस सदस्य समेत रहेका उनी पछिल्ला वर्ष लगातार महाधिवेशन प्रतिनिधि रहिआएको छन् ।

राम्रो आर्थिक हैसियत भएका साउदलाई जिल्ला सभापति बनाउँदा अहिले जस्तो केन्द्रबाट सरसहयोग गरिरहन आवश्यक हुने छैन । साथै डडेल्धुराको भोट बैंक मानिने मध्यबेंसीमा राम्रो पकड भएका साउद सभापति हुँदा आम चुनावमा चिन्न सजिलो हुने देउवाले ठानेको पाइन्छ ।

जिल्लामा आर्थिक र राजनीति रुपमा साउदले राम्रै पकड जमाएको पाइन्छ । जिल्लामा सभापति कर्ण मल्लको पकड भत्काउन देउवाले साउदलाई उपयुक्त पात्रका रुपमा हेरेको देखिन्छ । साउदलाई जिल्ला सभापति बनाउँदा जिताउन पनि सजिलो र जिल्लामा आफ्नो रिक्त नदेखिने देउवाको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप