आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कालो टोपी उचालेर राष्ट्रिय सभामा रायमाझीद्वारा विघटनको विरोध (भिडियो)

सोमबार, २१ असार २०७८, २० : ००
सोमबार, २१ असार २०७८

नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य रमेश जङ्ग रायमाझीले प्रतिगमन विरुद्ध राष्ट्रियसभाको बैठकमा कालो टोपी उचालेर विरोध जनाएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले सडकमा कालो झण्डा लिएर उत्रने अवस्था नरहेको भन्दै राष्ट्रियसभाको बैठकमा नै कालो क्याप उचालेर प्रतीकात्मक रूपमा विरोध जनाएको बताए । शिर देखि पाउसम्म कालो पोसाकमा बैठकमा सहभागी भएका रायमाझीले मुलुकले थाहा पाओस् भन्दै सरकारको र प्रतिनिधिसभाको विघटनको विरोधमा आफूले कालो झण्डाको रूपमा क्याप प्रस्तुत गरेको बताए । उनले टाउकोमा लगाएको कालो क्याप उठाएर घुमाउँदै सभामा उपस्थिति सबैलाई देखाउँदै भने, “मैले सिम्बोलिक रूपमा यो सरकारको विरुद्धमा र प्रतिनिधिसभा विघटनको विरुद्धमा यो आवाज उठाइरहेको छु । ”

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरिसकेपछि लाखौँ जनता सडकमा कालो झण्डा बोकेर निस्कनुपर्नेमा कोरोनाका जोखिम बढेकाले निस्कन नसकेको अवस्थामा अलग पोसाकमा उपस्थिति भएर सभामा नै प्रतिगमनको विरोध गरेको बताए । उनले भने, “आजसम्म यो सदनमा म यो रूपमा प्रस्तुत भएको थिइनँ । आज अर्कै रूपमा उपस्थिति भएको छु । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरिसकेपछि लाखौँ जनता सडकमा कालो झण्डा बोकेर निस्कनुपर्ने बेला थियो । संविधानलाई धुजा धुजा बनाएको विरुद्धमा सडकमा निक्लनुपर्ने थियो तर ५ राजनीतिक गठबन्धनको सुझबुझको कारणले सडकमा निस्केर जनतालाई कोरोनाको जोखिमको अवस्थामा पुराउनु हुदैन भनेर सडकमा निस्कन नसकेको अवस्थामा आज म यो सदनमा क्याप लगाएर प्रवेश गरेको छु । सडकमा कालो झण्डा देखाउने अवस्था नभएको कारणले आज सम्माननीय अध्यक्ष ज्यू मार्फत प्रधानमन्त्रीको कदमको विरुद्धमा यो सदनबाट मुलुकले थाहा पाओस् विरोध स्वरूप कालो झण्डाको रूपमा मैले यो क्याप प्रस्तुत गरेको छु । मैले सिम्बोलिक रूपमा यो सरकारको विरुद्धमा र प्रतिनिधिसभा विघटनको विरुद्धमा यो आवाज उठाइरहेको छु सम्माननीय अध्यक्ष महोदय ।”

राष्ट्रियसभा सदस्य रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता गुमाइसकेको आरोप लगाए । प्रधानमन्त्री ओली राजनीतिक, नैतिक लगायत सबै दृष्टिकोणबाट असफल भइसकेकाले असफल प्रधानमन्त्रीको रूपमा साबित भएको दाबी गरे ।

उनले आफैले पत्रकार सम्मेलन गरेर मैले सरकार चलाउन सकिनँ भन्ने प्रधानमन्त्री ओली अन्य दुई पार्टीको निर्णय भन्दै प्रधानमन्त्रीका लागि दाबी गर्न राष्ट्रपतिकोमा पुगेको दाबी गरे । उनले भने “मध्यरात राष्ट्रपति सुतेको बेलामा उठाएर, ढोका ढक ढक गरेर उठाएर विघटन(प्रतिनिधिसभा) गर्नु कतिसम्मको नैतिकताको कुरा हो । ”

उनले सरकारकै स्वास्थ्य मन्त्रीले भ्याक्सिनको ४ डलर पर्छ भनेको तर अहिले चीनबाट ल्याउन लागेको भ्याक्सिनको प्रति भ्याक्सिन १४ डलर भनिएको भन्दै त्यसबारे सरकारको जवाफ माग गरे ।  ओलीले प्रचण्डसँग गठबन्धन गर्दा केही नहुने अनि अहिले ५ दलीय गठबन्धनमा सहभागी भएको भन्दै, 'नेपाली काँग्रेसलाई प्रचण्ड पथमा गयो भन्ने ? कुन मुखले भन्नुभएको हो ?' उहाँले सत्ता टिकाउनका लागि प्रधानमन्त्रीले नेपालको संविधान मिचिसकेको दाबी दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप